साफ यू–१७ च्याम्पियनसिप आजदेखि

कौशीमा शुक्रवारबाट नाटक  ‘त्रयम्’

काठमाडौँ । तीन युवतीको विगतको यात्रा समेटिएको नाटक  ‘त्रयम्’ कौशी थिएटरमा मञ्चन हुने भएको छ ।

नाटकमा तीन युवतीको विगत कोट्याउँदै महिलाले दैनिक जीवनमा भोग्ने हिंसालाई रोचक तरिकाले देखाइनेछ ।

दिलीप रानाभाटको लेखन तथा निर्देशन रहेको नाटक आगामी जेठ १२ गते शुक्रवारदेखि त्रिपुरेश्वरस्थित कौशी थिएटरमा मञ्चन हुँदै छ । निर्देशक रानाभाटका अनुसार नाटकमा काठमाडौँका एउटा फ्ल्याटमा एक अर्कासँग स्वभाव नमिल्ने तीन युवतीको कथा देखाइनेछ । 

‘एक अर्कासँग पटक्कै नमिल्ने स्वभावका उनीहरूसँग नजिक हुने धेरै कुरा छैनन् । तर पनि सँगै बस्न बाध्य छन् । आफ्नो रुचि र स्वभावलाई मात्र प्राथमिकता दिने उनीहरूको जीवनमा यस्तो घटना घट्छ जसले उनीहरूको एक अर्काप्रतिको बुझाइलाई छिन्नभिन्न पार्छ’, उनी भन्छन्, ‘योसँगै उनीहरूको विगत किताबको पाना झैँ पल्टिँदै जान्छन् । जसले उनीहरू जे देखिन्छन् त्यो नभएको यथार्थ खुल्छ । एक दिनको घटनाले उनीहरूको वर्षौँदेखिको कथा बताउँछ । 

नाटक थिएटर भिलेजले निर्माण गरेको हो । थिएटर भिलेजले हालसालै ‘पल्पसा क्याफे’ र ‘दि कन्फेसन’ जस्ता नाटक निर्माण गरेको थियो । निर्देशक दिलीप रानाभाटले नाटक एक वर्ष पहिला किङ्स कलेजमा पढाउने सिलसिलामा तयार गरेको बताएका छन् । 

‘यो विषय लामो समयदेखि बोकिरहेको थिएँ । एक वर्ष पहिला किङ्स कलेजमा थिएटर पढाउँदा यसलाई थोरै विकास पनि गरेको थिएँ । तर त्यो दर्शकसम्म पुगेको थिएन । यसपल्ट मौका जुर्दै छ, ’उनको भनाइ छ, ’यहाँ उठिरहेका विषय मेरो नजिकका धेरै महिलाहरूले भोगेका विषय हुन् । कतिले मलाई सुनाएका छन् । कतिले नभनी पनि मैले बुझेको छु । यो नाटकले तपाईँहरूको पनि मौनता तोड्न प्रेरित गर्नेछ ।’ 

तीन नारी पात्रको वरिपरि घुम्ने नाटकमा सङ्गीता थापा, रक्षा थापा र पूर्णिमा आचार्यले शीर्ष भूमिका निर्वाह गरेका छन् । उनीहरूलाई श्रवण रानामगर र नाथन रायन भण्डारीले साथ दिनेछन् । नाटक १२ गतेबाट सुरु भएर २८ गतेसम्म चल्नेछ । दिलीप रानाभाट कै परिकल्पनामा तयार भइरहेको नाटक निर्माणमा पर्दा पछाडि रहेर आयुष्मा खरेलले सघाएकी छिन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ८ : ४२ बजे