अस्वच्छ खाना, गलत सूचना र खराब शिक्षाले हाम्रो शारीरिक, मानसिक र देशको सामाजिक–आर्थिक स्वास्थ्य कमजोर भइरहेको छ । तर हामी भने निरन्तर राजनीति मात्र ठिक भएन भनेर भ्रम बाँडदैछौँ । बारम्बार राजनैतिक तथा संवैधानिक व्यवस्थामा परिवर्तन गर्ने माग र आन्दोलनको पछाडि उभिएर मूल मुद्दाहरूलाई छायामा पारिरहेका छौँ । राजनैतिक तथा संवैधानिक व्यवस्थामा आएको परिवर्तनपछि शैक्षिक, प्रशासनिक, न्यायिक, आर्थिक र सामाजिक व्यवस्था र यसका संरचनाहरूमा संरचनात्मक परिवर्तन गरिनु पर्थ्यो । तर यो कोणबाट न बौद्धिक अर्थात् प्राज्ञिक वर्ग बहस भयो न त सञ्चार माध्यमहरूले नै मुख्य समाचार बनाए । जसका कारणले भ्रमित मनोविज्ञानका साथ हामीले आफ्ना क्षमता र प्रभावहरू प्रयोग गर्दा देशको अवस्था सकारात्मक बनाउन सकिएन र देखिएन ।
२०६२–२०६३ को जनआन्दोलनको मुख्य माग परिपूर्ण लोकतन्त्रमार्फत समृद्ध नेपाल, सुखी नेपाली बनाउनु थियो । तर त्यतिखेर आन्दोलनको माग र देशको आवश्यकता विपरीत देशको धर्म हुँदैन भन्दै धर्मनिरपेक्षता घुसाइयो भने शासन प्रणाली केन्द्रीकृत हुँदा देशमा सुशासन र विकास भएन भन्दै सङ्घीयता लादियो । त्यतिखेर हामी नागरिकले पनि भ्रममा परेर अनि भिडको पछि लागेर सङ्गठित रूपमा त्यसको विरोध गर्न नसक्दा अहिले आफैले दुष्परिणामहरू भोग्न बाध्य भइरहेका छौँ । नेपालमा नियन्त्रित अस्थिरता कायम गर्नका लागि कतिखेर कुन मुद्दा घुसाउने, उठाउने र बलियो बनाउने अनि कुन मुद्दालाई कमजोर बनाउने रणनीतिका साथ लगानी भइरहेको हामी बेखबर छौँ । यतिखेर ‘नक्कली भुटानी शरणार्थी प्रकरण’ चर्चामा छ । यसमा संलग्न पक्षहरूलाई कडा कारबाही होस् भन्दै अभियान चलाइएको छ । यही मौका पारेर देशकै पहिचानमाथि असर पर्ने गरी ल्याउन खोजेको नागरिकता विधेयक प्रमाणीकरण गर्न गृहकार्य भइरहेको तथ्यप्रति न मिडिया बोल्छ न त नागरिक समाज नै ।
नागरिक समाजले त निरन्तर राज्यलाई खबरदारी गर्ने र जनतालाई सचेत बनाई राख्ने क्षमता देखाउन सक्नुपर्थ्यो । तर दुखका साथ भन्नुपर्छ, हाम्रा नागरिक अगुवा अर्थात् बौद्धिक अर्थात् प्राज्ञिक वर्गहरू आयातित मुद्दाको पक्षमा उभिएर जनताको चेतना र विवेक यताउति बनाउँदै व्यक्तिगत रूपमा धन कमाउने धन्दामा केन्द्रित छन् । प्राज्ञिक वर्गहरूका कारणले शिक्षालय, प्रशासकहरूका कारणले कार्यालय अर्थात् प्रशासन, न्यायकर्मीहरूका कारणले न्यायालय, चिकित्सकहरूका कारणले चिकित्सालय अनि पुजारीहरूका कारणले देवालयहरू बदनाम छन् र त्यसप्रति जनताको विश्वास हटेको छ भन्ने कुरा बुझाउन नसक्दा आलोचनाको केन्द्रमा राजनीति मात्रै परिरहेको छ । फेरि सामाजिक सञ्जालहरू सामाजिक नहुँदा र सञ्चार माध्यमहरूले भ्रम फैलाउँदा हामी जनताले ठिक सूचना र ज्ञान प्राप्त गर्न सकिरहेका छैनौँ । परिणाम स्वरूप हाम्रा कमजोर चेतना, विवेक र खराब अभ्यासहरूले निरन्तरता पाइरहेका छन् ।
हामीले बुझ्नुपर्छ, “जीवनमा हामीले धेरै किसिमका परिस्थितिहरूको सामना गर्दा त्यतिखेर हाम्रो कामको माग र नैतिकताबीच द्वन्द्व हुनसक्छ । त्यति बेला द्विविधामा पर्दा सधैँ नैतिकता नै रोज्नुपर्छ । आफ्नो मूल्यमान्यता र नैतिकताको मूल्यमा काम गर्नु हुँदैन किनभने काम त अर्को पनि पाउन सकिन्छ तर नैतिकता र चरित्रमा एक पटक दाग लाग्यो भने त्यसले जीवनमा नकारात्मक परिणामहरू भोग्नुपर्ने वातावरण बनिरहन्छ ।” तर यति सामान्य सत्य नबुझ्दा र गलत बाटोबाट धन आर्जन गर्न खोज्दा हाम्रा केही राजनीतिक नेतृत्व, प्रशासक तथा प्राज्ञिकहरू ‘नक्कली भुटानी शरणार्थी प्रकरण’मा संलग्न भएर आफूलाई मात्र होइन, परिवार र समुदाय अनि देशलाई नै बदनाम गरेर समस्यामा पारेका छन् । आफ्नो क्षमता र प्रतिष्ठा बुझेर काम गर्न प्रेरित गर्ने शिक्षादीक्षा राम्रो नहुँदा हामी गलत बाटोमा लागेका छौँ । अहिले त्यही खराब चरित्रको शिक्षाको प्रभाव हाम्रो चरित्र र नैतिकतामा देखिन थालेको छ । नैतिक पतन र चारित्रिक रूपमा स्खलित हुने काम गर्नु हुँदैन भनेर हाम्रो मनस्थितिलाई निर्देशित गर्ने शिक्षा चाहिएको छ । अन्यथा नागरिक र नेतृत्वको विचित्रको मनोविज्ञान र गतिविधिहरूले देशको चित्र अझ धूमिल बनाउने छ । त्यसैले शिक्षाको चरित्र बदल्ने र देशको चित्र राम्रो बनाउने राजनीतिक दर्शन र गतिविधिका पक्षमा क्रियाशील हुनै पर्ने बाध्यता बन्दै छ ।
शिक्षाको चरित्र बदल्ने कुरा गरिरहँदा हामीले प्रशासन र न्यायालयको संरचनासँगै आर्थिक नीतिको ढाँचामा पनि परिवर्तन गर्नुपर्ने हुन्छ । तर हामी भने एकोहोरो राजनीतिक मुद्दामा मात्र केन्द्रित भएर नागरिकको मनस्थिति र देशको परिस्थिति नकारात्मक बनाउन अराजक र स्वछन्द भएर कार्यशील भइरहेका छौँ । हाम्रो चरित्र, नैतिकता र अभ्यास अनि कमजोरी बुझेका बाह्य शक्तिहरूले हामीलाई अनेक खालका प्रलोभनमा पारेर अनि दबाब बढाएर उनीहरूको स्वार्थमा काम गर्न बाध्य पारिरहेका छन् । आज हामी नागरिकदेखि नेतृत्व यही दुष्चक्रमा फस्न पुगेको अवस्था छ ।
जुन देशको शिक्षाले घरपरिवार, देश छोड्न र राष्ट्रिय पहिचान त्याग्न सिकाउँछ अनि आर्थिक नीतिले नागरिक निर्यात गरेर वस्तु आयात गर्न प्रोत्साहित गर्छ भने त्यो देशका नागरिकहरूले स्वाभाविक ढङ्गको पारिवारिक, सामाजिक, राजनीतिक र आर्थिक जीवन अनुभव गर्न नै पाउँदैनन् । किनभने उनीहरू सधैँ भ्रमपूर्ण सूचना र चेतना अनि परिस्थितिहरूबाट पीडित भइरहेका हुन्छन् । अहिले हामी नेपालीको हालत ठ्याक्कै त्यस्तै बनेको छ । तर यो यथार्थको बोध अझै हामीमा हुन सकेको छैन । जसले गर्दा भ्रमपूर्ण र सस्तो लोकप्रियतावादी राजनीतिका पक्षमा जानेर नजानेर संलग्न भइरहँदा देशमा बाह्य चलखेल सहज बनाउन हामी सहयोगी भइरहेका छौँ ।
अहिले सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा धर्म निरपेक्षता र सङ्घीयता खारेज गरौँ भन्ने बहस सुरु भएको छ । यो बहसले समस्या समाधान गर्न खोजेको होइन, समस्या बल्झाउनमा भूमिका खेलिरहेको देखिन्छ । जबकि यतिखेर धर्म निरपेक्षताको आडमा भइरहेका धर्मान्तरणका गतिविधिहरू रोक्ने कानुन र सङ्घीयताको प्रभावकारी कार्यान्वयन गरेर सुशासनमार्फत जनताका अपेक्षाहरू सम्बोधन गर्ने नीति र कार्यक्रमहरू तय गरिनुपर्छ । एउटा कुरा पक्का के हो भने देशको सामाजिक चेतना र अवस्था अनि देशको आर्थिक क्षमता सुहाउँदो सङ्घीयताको ढाँचा बनाउनका लागि यसमा पुनरावलोकन अनिवार्य भएको छ । अन्यथा सङ्घीयता खारेज गर्न डराउनु पर्दैन । किनभने हाम्रो चेतनाले धर्मनिरपेक्षता र देशको आर्थिक क्षमताले आजको ढाँचाको सङ्घीयतालाई अब धेरै समय थेग्न सक्नेवाला छैन ।
त्यसैले राजनीतिक नेतृत्वले बुझ्नुपर्छ, “राजनीतिक नेतृत्वको जीवन जनताबाट सुरु हुन्छ, जनतासँगै अघि बढ्छ र जनतामा नै अन्त्य हुन्छ । तर नेतृत्वले जनतासँग काम गर्दा आफ्नो दलको राजनीतिक विचारधारा, सामाजिक–आर्थिक नीति र कार्यक्रमको जगमा अघि बढाउनुपर्छ । असल राजनीतिक नेतृत्वहरूले कहिल्यै पनि सस्तो र भ्रमपूर्ण लोकप्रियतावादको गलत बाटो रोज्दैनन् ।” फेरि जनताले पनि भिडको होइन चेतना र विवेक प्रयोग गरेर सुविचारित रूपमा वैचारिक राजनीतिको पक्षमा आफूलाई उभ्याउनुपर्दछ । राजनीतिक नेतृत्व र नागरिकमा यो खालको चेतना र क्षमताको विकास गर्ने मुख्य र पहिलो माध्यम असल चरित्रको शिक्षा नै हो ।
आज हामीले बुझ्नुपर्छ, ’देश समृद्ध र नागरिक सुखी’ हुनु भनेको देशमा सुशासन कायम भएको, जनअपेक्षाहरू सम्बोधन हुन थालेको र भौतिक सेवा सुविधाको गुणात्मक पक्षको विशेष रूपमा ख्याल गरेको अनि समय मै विकास निर्माणका कामहरू सम्पन्न भएर लागत नबढेको अवस्था हो । नेपालमा यो अवस्था ल्याउन नागरिकको मनस्थितिसँगै देशको परिस्थिति पनि सकारात्मक बनाउनुपर्छ । नागरिकको मनस्थिति सकारात्मक बनाउन शिक्षा तथा सामाजिक व्यवस्थामा त देशको परिस्थिति राम्रो बनाउन प्रशासनिक, न्यायिक प्रणाली र आर्थिक नीति र व्यवस्थामा आमूल परिवर्तन गरिनुपर्छ । अन्यथा न नागरिकको मनस्थिति नै सकारात्मक बन्छ न त देशको परिस्थिति नै राम्रो बन्न सक्छ ।
लोकतान्त्रिक प्रणालीमा नागरिकलाई अनुशासित भएर स्वतन्त्रताको सीमाभित्र रहेर कानुनसम्मत तरिकाबाट आफ्ना गतिविधिहरू गर्ने स्वतन्त्रता प्राप्त हुन्छ । तर हिजो आज स्वतन्त्रता स्वछन्दतामा परिणत हुन थालेको छ भने लोकतन्त्र अराजकतामा, जसले गर्दा भ्रमित भिडको भाषा प्रभावकारी देखिन थालेको र देशमा त्रासको वातावरण बनेको छ । यही वातावरणमा लोकतान्त्रिक गणतन्त्र विरोधीहरूले आफ्नो राजनीतिक प्रगति देख्न थालेका छन् । त्यति मात्र होइन, नेपालको आन्तरिक राजनीति र संवैधानिक व्यवस्थालाई लिएर बाह्य शक्तिहरूले अभिव्यक्ति दिन थालेका छन् ।
पछिल्लो उदाहरणको रूपमा संयुक्त राज्य अमेरिकाले भारतको सत्तारुढ दल भाजपासँग नजिक रहेका धार्मिक समूहले नेपालका प्रभावशाली नेताहरूलाई हिन्दु धर्मको पक्षमा बोल्न पैसा दिने गरेको दाबी गरेको छ । अमेरिकी विदेश मन्त्री एन्थोनी जे ब्लिंकेनद्वारा सार्वजनिक गरिएको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदनमा त्यस्तो दाबी गरिएको छ । नेपालमा लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदैन कि भन्ने त्रास अनि हाम्रो आन्तरिक राजनीतिमा बाह्य शक्तिको बास अर्थात् प्रभाव हटाउन शिक्षाको चरित्र बदलेर नागरिकको मनोविज्ञान सकारात्मक बनाउने महान् अभियान नै चलाउनुपर्छ ।
नीतिहरूको राजा राजनीति ठिक बनाउन शिक्षाको मुख्य भूमिका हुन्छ । अहिले शिक्षा बिग्रिएका कारणले नागरिकदेखि नेतृत्व बिग्रिएको अवस्था छ । नागरिक र नेतृत्व बिग्रिदा राजनीति र देशको अवस्था बिग्रिएर देशको अवस्था निराशाजनक बन्दै छ । त्यसैले शिक्षाको चरित्र बदल्नु आजको पहिलो अनिवार्य आवश्यकता बनेको छ । देशको अवस्था बिग्रनुमा राजनीतिलाई मात्र दोष दिएर हुँदैन । राजनीतिबाहेक अरू धेरै पक्षहरूको पनि उत्तिकै भूमिका छ । त्यसैले राजनैतिक तथा संवैधानिक व्यवस्थाअनुरूप देशको अवस्था राम्रो बनाउन शैक्षिक, सामाजिक, न्यायिक र आर्थिक प्रणाली र नीतिहरूमा आमूल परिवर्तन गर्नका लागि राजनीति र राजनीतिक दलहरूमाथि नैतिक दबाब बढाउनुपर्छ । योभन्दा अर्को विकल्प खोजिन्छ भने त्यहाँभित्र षडयन्त्र छ भनेर बुझ्नुपर्छ ।
आज बौद्धिक अर्थात् प्राज्ञिक वर्गहरूको भूमिका पथ प्रदर्शक र मार्ग दर्शक हुनुपर्छ । सञ्चार माध्यमहरूले देशको पक्षमा आफ्ना क्षमताहरूलाई प्रयोग गर्नुपर्छ । देशको मुख्य मुद्दामा नागरिकदेखि लिएर नेतृत्वलाई प्रशिक्षित गर्ने क्षमता बौद्धिक वर्ग तथा सञ्चार माध्यहरूले देखाउन सक्नुपर्छ । देशको विकासमा आम नागरिकहरूको सहभागिता र क्षमताअनुसारको योगदान सुनिश्चित गर्नुपर्छ । यसका लागि औपचारिक तथा अनौपचारिक शिक्षाको दर्शन, राष्ट्रिय उद्देश्य र कार्यान्वयनको ढाँचामा पुनरावलोकन गर्दै नागरिक र राज्यको लगानी बढाउने वातावरण बनाउनुपर्छ । शैक्षिक उत्पादन राम्रो हुन थाल्यो भने देशको अवस्थामा पनि सकारात्मक परिवर्तन देखिन थाल्नेछ। त्यसैले असल गुणात्मक शिक्षा देश विकासको मुख्य आधार र असल नागरिक बलियो पूर्वाधार हो भनेर बुझ्नै पर्छ ।
प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार ८ : १२ बजे
प्रतिक्रिया