सुनको मूल्यमा नयाँ कीर्तिमान

नक्कली शरणार्थी प्रकरण : यी हुन् ३३ प्रतिवादी, भारतमा बसेरै बेचन झाले मिलाउँदै राजनीतिक सेटिङ

Caption

टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, टेकनारायण पाण्डे, इन्द्रजित राई र टेकनाथ रिजाललाई राज्यविरुद्धको अपराधलगायत कसुरमा मुद्दा चलाउनुपर्ने प्रहरीले निष्कर्ष निकालेको छ।

काठमाडौं । नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा अनुसन्धान गरीरहेको नेपाल प्रहरीले आज जिल्ला सरकारी वकिलको कार्यालयमा आफ्नो प्रतिवेदन बुझाउँदै छ । 
अहिलेसम्म यस प्रकरणमा  पक्राउ परिसकेका र पर्न बाँकी गरी ३३ जनाविरुद्ध प्रहरीले २६ करोड बिगो कायम हुनुपर्ने मागदाबीसहितको प्रतिवेदन तयार पारेको हो ।

आरोपीहरूलाई संगठित ठगीका अलावा राज्यविरुद्धको कसूर र लिखत कीर्तेमा पनि मुद्दा चलाउन प्रस्ताव प्रहरीको छ ।

यस प्रकरणमा प्रहरीले  शीर्षस्थ नेतासम्म राजनीतिक सेटिङ मिलाउने काम बेचन झा नाम गरेका व्यक्तिले गरेको नयाँ तथ्य फेला पारेको छ । प्रहरीले उनको नाममा   बिचौलिया रामशरण केसीले काटेको दुई करोड रुपैयाँको चेक समेत बरामद भएको छ।

अधिकांश समय भारतमा बस्दै आएका झा अहिले फरार छन् । उनको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

उनको ठेगाना समेत यकिन भएको छैन । कांग्रेस– एमालेका उच्च नेतासँग सेटिङ मिलाउने काम उनैले गरेको देखिएको  प्रहरीको दाबी छ ।  बेचैन झाको बारेमा यसअघि कुनै पनि विवरण सार्वजनिक भएको थिएन । बेचन झा प्रहरीले प्रतिवादी बनाउन सरकारी वकिललाई सिफारिश गरेका नयाँ नाम हो ।

हिरासतमा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, टोपबहादुरका छोरा सन्दीप रायमाझी, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, पूर्व सांसद आङटावा शेर्पा, हज समितिका अध्यक्ष शमशेर मियाँ तथा दलालहरू सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, सागर राई, कुमार  गुरुङ, रामशरण केसी, गोविन्द चौधरी र  बालकृष्ण खाँणका निजी सचिव नरेन्द्र केसीलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न प्रहरीको राय छ ।

​यसका अलावा पक्राउ नपरेका तर पीडितहरूसँग उठाएको पैसा उठाएको प्रमाण भेटिएका केशव तुलाधार, अशोक पोख्रेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशिष बुढाथोकी र रमा थापाविरुद्ध मुद्दा चलाउनुपर्ने प्रहरीको निष्कर्ष छ ।

बादलका छोरा प्रतीक थापा, बादल गृहमन्त्री छँदा उनका सल्लाहकार रहेका इन्द्रजित राईका छोरा नीरज राई अहिले फरार छन् । उनीहरूलाई पनि प्रतिवादी बनाउने तयारी प्रहरीको छ ।

प्रहरीले  शरणार्थी प्रकरणमा नाम जोडिएका र थप प्रमाण संकलन भई नसकेकाको हकमा पूरक अभियोग दर्ता गर्नुपर्ने रायसमेत प्रतिवेदनमा समेटेको छ। एक सरकारी वकिलले प्रहरीको प्रतिवेदन आइसकेपछि त्यसको अध्ययन गरेर मुद्दा दायर हुने जानकारी दिए।

“अहिले नै के कस्तो भन्ने कुरा हुँदैन। हामी मिसिल अध्ययन गर्छौँ। आवश्यक कागजात पुगे नपुगेको हेरेर निर्णय लिन्छौँ,” उनले भने

आरोपीहरुले एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, कांग्रेस सांसद तथा बालकृष्ण खाणकी श्रीमती मञ्जु खाण, पूर्वगृहसचिवद्वय प्रेमकुमार राई र महेश्वर न्यौपानेको नाम मुछेका छन्। उनीहरुले पूर्वगृहसचिव तथा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको त गाडीको डिक्कीमै नगद रकम राख्ने गरेको समेत बयानमा उल्लेख गरेका थिए। तर बयान बाहेकको प्रमाण नभेटिएको दाबी प्रहरीले गरेको छ। 

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ३ : ५१ बजे