सुनको मूल्यमा नयाँ कीर्तिमान

ग्राहकको डेढ करोडभन्दा बढी पैसा हिनामिना गर्ने एभरेस्ट बैंकका म्यानेजरसहित ९ जना पक्राउ

विराटनगर । प्रहरीले ग्राहकको डेढ करोडभन्दा बढी रुपैयाँ ठगी गरेको आरोपमा एभरेष्ट बैंक शाखाका प्रमुखसहित ७ कर्मचारी र अन्य २ जनासहित ९ जनालाई पक्राउ गरेको छ ।

सुनसरीको इटहरीस्थित एभरेष्ट बैंक शाखाका प्रमुखसहित ७ कर्मचारी र अन्य २ जनालाई ग्राहकको डेढ करोडभन्दा बढी रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।

ग्राहकको रकम ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा एभरेष्ट बैंक इटहरीका शाखा प्रमुख सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय बिश्वराज शाक्यलाईसहित ७ जना कर्मचारी र अन्य २ जना गरी ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरिक्षक डीएसपी राजकुमार राईले जानकारी दिए ।

डीएसपी राईका अनुसार एभरेष्ट बैंकको इटहरी शाखाबाट विभिन्न ३३ जना ग्राहकको बैंक खाताबाट एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ रकम ठगी गरेको पाइएकाले उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बैंकको गाइघाट शाखाका अप्रेसन इन्चार्ज विराटनगरका ३४ वर्षीय निरज प्रधान, काठमाडौं घर भएका सुपरभाइजर ३७ बर्षीय धावा लामा, कनिष्ट सहायकहरू भोजपुर सडानन्द नगरपालिका ९ का २७ बर्षीय मनोज घिमिरे, इटहरी ७ का २७ वर्षीय देवराज घिमिरे, सुनसरी अमाहीबेल्हाका २७ बर्षीय रन्जित पण्डित र टेलर इटहरी २ की ३० बर्षीय पवित्रा कटवाल रहेका छन् ।

त्यस्तै रकम ठगी गर्ने गिरोहमा संलग्न धनुषाका शंकर भुजेल र भक्तपुर सूर्यबिनायकका अजय खिउजुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका कर्मचारी सहित सबै जनालाई बैंकिङ कसुर र संगठित अपराध निवारण ऐन २०७० अनुसारको कसुर मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  १ : ३७ बजे