सुनको मूल्यमा नयाँ कीर्तिमान

नक्कली शरणार्थी प्रकरणका १४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीसहित १४ जनालाई थप ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

पक्राउ परेका १४ जनामाथि अनुसन्धान गर्न अदालतले थप तीन दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।

जिल्ला सरकारी वकिल कार्यालयकाका अनुसार अहिलेसम्म १३ जनासँग बयान लिने काम सकिएको छ । अब पूर्वसभासद आङटावा शेर्पासँग मात्रै बयान लिन बाँकी रहेको छ।

समय कम भएको भन्दै सरकारी वकिलको कार्यालयले प्रहरीलाई बुधबारसम्ममा अनुसन्धान सकाउन निर्देशन दिएको थियो। तर प्रमाण संकलन तथा थप व्यक्तिहरू पक्राउ पर्दा अनुसन्धान लम्बिएको हो।

यसअघि आइतबार पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेसँग बयान लिएको थियो। सोमबार टोपबहादुर रायमाझी र खाँणको बयान इिएको थियो।मंगलबार पनि खाँणसँगैै बयान लिइएको थियो ।

उक्त घटनामा अहिलेसम्म खाण रायमाझी, पाण्डे र केसीसहित १४ जना पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएका दुई आरोपीहरू भने फरार छन् ।

भूटानी शरणार्थी ठगी प्रकरणमा जोडिएपछि प्रहरीले नेपाली पूर्वगृहमन्त्री खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ ।

यस्तै उक्त घटनाका आरोपी काठमाडौँको टोखा बस्ने रामशरण केसी, मोरङ घर भएका गोविन्द चौधरीसहित उक्त प्रकरणका गिरोह मानिएका केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल, सागर थुलुङ पक्राउ परेका छन् ।

पक्राउ परेका डा राईका छोरा नीरज र शुक्रबार पक्राउ पुर्जी जारी भएका तत्कालीन गृह मन्त्री रामबहादुर थापाका छोरा प्रतीक फरार छन् ।

शरणार्थी ठगी प्रकरणमा एक सय छ जना पीडितले उनीहरू विरुद्ध जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी गरेको आरेप लगाएका छन् । उक्त घटनामा अझै धेरै पीडित भएको बताइएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ६ : २९ बजे