आज जेठ ३ गते । आजकै दिन नेकपा एमालेका महान् विचारक क. मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितको दास ढुङ्गामा रहस्यमय दुर्घटनामा देहावसान भएको थियो । त्यस दुर्घटनाका अनेकौँ काल्पनिक उत्तरहरू बेलाबेला विभिन्न तहबाट फुराइएकै छन् । तर आजसम्म त्यसको ठोस र वस्तुगत उत्तर पाउन सकिएको छैन ।
मदनको नेतृत्वको त्यो भरभराउँदो एमालेका अगाडि यसको वैचारिक र साङ्गठनिक शक्तिको प्रवाहको बाँध बाँध्न र यसलाई खुम्च्याउन आज अनेकौँ कृत्रिम प्रश्नहरू खडा गरिएका छन् । वास्तवमा ती प्रश्नहरूको उत्तर दिन जरुरी नै छैन तर एमालेलाई गरिएको यो कृत्रिम घेराबन्दीबारे हाम्रा आशालाग्दा र होनहार नेताहरू देशी विदेशीहरूको षड्यन्त्र वा अस्थिरता निम्त्याउने अराजक तत्त्वहरूको हात छ भन्दै हुनुहुन्छ । समयको गतिशीलतालाई बुझ्न नसक्ने र बहुदलीय जनवादलाई खोपाको देउता मानेर पूजा मात्र गर्ने र बहुदलीय जनवादलाई जड सूत्रवादका रूपमा जप गर्ने दिशातिर डरलाग्दो पाराले हाम्रा कतिपय नेताहरू कतै दौडिरहनुभएको त छैन भनी त्यो तप्कालाई झकझक्याउन मदन भण्डारीले भन्नुभएको “हजुर आमाको कथा” जस्ताको त्यस्तै राखेर त्यसै कथांशमा टेकेर प्रश्न निर्माण गरिएको छ:
बोध प्रश्न
एमाले मूल, प्रदेश र पालिका नेतृत्व र निर्वाचित तहका जनप्रतिनिधि कमरेडहरू हो ! पहिले अभिधामूलक ढङ्गले मनमनै र पछि लक्षणामूलक ढङ्गले व्यवहारिक रूपमा यी बोध प्रश्नहरूको उत्तर दिनुहोस् ।
क्षमा गर्नुहोला, मेरी हजुर आमाले कथा सुनाउनुहुन्थ्यो । एउटी बुहारीले जहिले पनि डाडु पन्यौ लिएर नाच्ने गर्थिन् अरे । सासूले भनिछन्- आज त पाहुना आएका छन् है बाबै, धेरै टाढाबाट सम्मानित पाहुना आएका छन् । आज डाडु पन्युँ लिएर ननाच है । सधैँ तिम्रो बानी जे छ त्यो बेग्लै कुरा भयो । तर आज चाहिँ डाडु पन्युँ लिएर ननाच । त्यस बेला त बुहारीले हुन्छ भनिन् । भात पस्किएपछि उनले फेरि डाडु पन्यौ लिएर “ आफ्नो बानी को छोड्छ ? अर्काको बानी को लिन्छ ? “ भन्दै नाचेकी थिइन् अरे । मैले अहिले भनेको के हो भने बैठकहरूमा बसेर निष्कर्ष त निकाल्यो, तर निष्कर्ष निकाल्दा ठिकै ढङ्गले सबै एकमत भएर र गहिरो भए निष्कर्ष निकाल्यो । बैठकबाट बाहिर निस्केपछि उही “आफ्नो बानी को छोड्छ ? अर्काको बानी को लिन्छ ?” भन्ने ढङ्गले गर्ने हो भने के मतलब हुन्छ त्यसको ? बैठकहरू, सम्मेलनहरू, अधिवेशनहरू, गम्भीरतापूर्वक गरियोस् । यसमा घुँडा धसेर छलफल गरियोस् । सके एक मतले नसके बहुमतले निर्णय लिइयोस् । निर्णय गरिएपछि त्यसमा केन्द्रित भएर कार्यान्वयन होस् । त्यसो गर्यौँ भने मात्र हामीले गल्ती गरेका छौँ कि सही गरेका छौँ, जे गरे पनि एक स्टेप अगाडि बढ्छौँ ।
( स्रोत. सङ्गठन परिचालनबारे जननेता मदन भण्डारी, मदन भण्डारी फाउन्डेसन २०७६, पृ ११)
प्रश्नहरू
१. ( नेतृत्व वा पदमा रहेकै कारण गोबरको गुइँठो फुलेझैँ गजक्क फुल्ने ) आफ्नो बानी नछोड्ने नेताहरू र जनप्रतिनिधिहरूले मनमनै हात उठाउनुहोस् ।
२. पाहुना वा कोही आफूले सम्मान गर्दा इज्जतै बढ्ने सम्मानित व्यक्ति देख्दा वा त्यस्तो व्यक्तिले दुई हात जोडी नमस्ते गर्दा पक्षाघातजस्तो भएर हात उठ्नै नसक्ने आफ्नो पुरानो बानी यथावतै रहेको नेता वा जनप्रतिनिधिहरू हातको फिजियोथेरापी गरेको अभिनय गर्नुहोस् ।
३. मिसन ग्रासरूटमा गएर ग्रासरूटका कार्यकर्ताले बान्ता गर्ने गरी र हाइ काढ्ने गरी ककसले भाषण मात्र गर्ने पुरानो बानी दोहोर्याउनुभयो ? उहाँहरूले पनि मनमनै आफ्नो नाम आफै काढ्नुहोस् ।
४. सङ्गठनको नेतृत्वमा तलबाट पुग्नुभयो कि माथिबाट क्रेनले तानिनुभयो ! त्यसरी माथिबाट तानिएका दिनदेखि तलका कार्यकर्ता र जनतालाई भुसुना बराबर ठान्ने बानी ककसको छ एक पटक आफ्नो नाम आफै तीन पटक मौन उच्चारण गर्नुहोस् ।
५. चुनावका बेला मेचीदेखि महाकालीसम्म एमालेको विशाल सङ्गठनमा सङ.गठित वा शुभचिन्तकहरू देख्ने मुलुकवाद र कतै लाभका पद दिनुपर्दा आफ्ना छोराछोरी, भाइबहिनी, ज्वाइकुटुम्ब, सम्धि-सम्धिनी, प्रेमीप्रेमिकामात्र देख्ने पुरानो सामन्ती कुटुम्ब-परिवारवादमा र ओरीपरिवादमा कोको हुनुहुन्छ ? एक पटक मदन, मनमोहन र जीवराजका चित्र र व्यवहार हेरी-सम्झी आफ्नो अनुहार र व्यवहार ऐनामा हेर्नुहोस् ।
६. माथिको कथांशमा रहेको “बैठकहरू, सम्मेलनहरू, अधिवेशनहरू, गम्भीरतापूर्वक गरियून् । यसमा घुँडा धसेर छलफल गरियोस् ।“ भन्ने भनाइ अनुसारको काम नगर्नेहरू जो जो हुनुहुन्छ उहाँहरूले आआफ्नो नाम सम्झेर मम भन्नुहोस् ।
७. माथिको कथांशमा रहेको “निष्कर्ष निकाल्दा ठिकै ढङ्गले सबै एकमत भएर र गहिरो भएर निष्कर्ष निकाल्यो । बैठकबाट बाहिर निस्केपछि उही “आफ्नो बानी को छोड्छ ? अर्काको बानी को लिन्छ ?” जस्तो व्यवहार गर्नेहरूले एक पल्ट डाडुमा पानी तताएर जिउभरि छम्केको मौन अभिनय गर्नुहोस् ।
८. ‘डाडु पन्यौ लिएर नाच्नु’ र ‘घुँडा धसेर छलफल गर्नु’ पदावलीका अर्थलाई बुझेर यी दुईबिचको अर्थगत भिन्नता ठम्याउनुहोस् ।
अन्त्यमा ‘मदन’ को नाम जप्ने र आफूले आफैलाई “म डन’ ठान्ने शैली घातक छ । यसो गरेर मदनको अपमान नगर्नुहोस् । मदनको सच्चा सम्मान गर्नु छ भने ‘मदन’को व्यवहार अनुसरण गर्न “म जन” (अर्थात् म जनतासँग) मिसन चलाउनुहोस् । अहिलेलाई यी बोध प्रश्न यत्ति नै । बाँकी वस्तुगत र व्याकरणात्मक प्रश्नहरू आवश्यकता अनुसार अर्कोपल्ट आउने छन् ।
अन्त्यमा आज मदन आश्रित स्मृति दिवसमा मदन भण्डारी र जीवराज आश्रितप्रति हार्दिक श्रद्धा सुमन !
प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार १ : २७ बजे
प्रतिक्रिया