पूर्व राष्ट्रपति भण्डारीद्वारा मदन भण्डारीको सालिकमा माल्यार्पण

काठमाडौँ।  पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गर्नुभएको छ । 

मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उहाँको सालिकमा पूर्व राष्ट्रपति भण्डारीले माल्यार्पण गर्नुभएको हो । 

यसैगरी पूर्व राष्ट्रपति भण्डारीले तीनकुने स्थित मदन स्मृति उद्यानमा वृक्षारोपण समेत गर्नुभएको छ । उद्यानमा उहाँले स्वामीको बिरुवा रोप्नुभयो । पूर्व राष्ट्रपति भण्डारीसँगै एमाले स्थायी कमिटी सदस्य अग्नि खरेलले समेत स्वामीको बिरुवा रोप्नुभयो ।

यसैगरी पूर्व राष्ट्रपति भण्डारीले महादेवस्थान नजिक रहेको मदन भण्डारी स्मृति सामुदायिक पुस्तकालयको समेत आज अवलोकन गर्नुभयो । विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटना परी तत्कालीन एमाले महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको निधन भएको थियो । 

एमाले र नेकपा (एकीकृत समाजवादी)ले आज विभिन्न कार्यक्रम गरी ३०औँ मदन–आश्रित स्मृति दिवस मनाउँदै छन् ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  १० : २५ बजे