मदन भण्डारीलाई सम्झँदै शङ्कर पोखरेलले भन्नुभयो – ‘जबजको पक्षमा खुल्न सुरुमा सबै नेता डराउनुभएको थियो’

मदन भण्डारीलाई सम्झँदै शङ्कर पोखरेलले भन्नुभयो – ‘जबजको पक्षमा खुल्न सुरुमा सबै नेता डराउनुभएको थियो'

 

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जननेता मदनकुमार भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ सिद्धान्त प्रतिवाद गरी पार्टीमा ल्याउँदा सो प्रस्तावको बारेमा खुल्न धेरै जसो नेता डराएको स्मरण गराउनुभएको छ । 

उहाँका अनुसार जननेता भण्डारीको जबजको पक्षमा शीर्ष नेता नखुले पनि सोको बारेमा छलफल गर्नका लागि पूर्व नेपालको विराटनगरबाट भेला सुरु गरिएको थियो र चितवनमा आइपुगेपछि मात्रै माधवकुमार नेपालले त्यसलाई समर्थन जनाउनुभएको थियो। तर, पद्मकन्या क्याम्पसमा आएपछि माधव नेपाल पुरै खुलेर मात्रै लाग्नुभएन, त्यसको पक्षमा माहौल बनाउन पनि नेपाल निकै सक्रिय भएको महासचिव पोखरेलले आज स्मरण गर्नुभएको छ ।

महासचिव पोखरेलले पाँचौँ राष्ट्रिय महाधिवेशनबाट जनताको बहुदलीय जनवाद अत्यधिक बहुमतका साथ नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रूपमा पारित भएको उल्लेख गर्नुहुँदै जनताको बहुदलीय जनवादलाई पारित गराउने कुरामा समेत माधव कमरेडको सक्रियता विशेष रहेको बताउनुभएको छ। 

उहाँले जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादन भएको जनताको बहुदलीय जनवाद यति बेला नेपाली क्रान्तिलाई मार्गदर्शन गर्ने सिद्धान्त बन्न पुगेको पनि सामाजिक सञ्जालमा लेख्नुभएको छ । महासचिव पोखरेलले सुरुको अवधिमा जबजको विचारले पार्टीभित्र समर्थन प्राप्त गर्न भएको त्यस प्रकारको कठिनाइ सम्झँदा अनौठो अनुभूति हुने पनि बताउनुभएको छ । 

जननेता भण्डारीका बारेमा बारेमा महासचिव पोखरेलले लेख्नुभएको स्मरण: 
​​​​​​​पाँचौँ राष्ट्रिय महाधिवेशनको समय थियो । महाधिवेशनको प्रचारप्रसार कमिटीको संयोजक भरत मोहन अधिकारी र त्यसको सचिव म थिए । महाधिवेशनको अपिल प्रकाशित गर्ने जिम्मेवारी समेत उक्त समितिलाई दिइएको थियो । विचारको खुला बहस सञ्चालन गरिएको उक्त महाधिवेशनको अपिल विशेष हुनुपर्ने आग्रहका साथ मैले मदन कमरेडलाई लेख्न अनुरोध गर्ने प्रस्ताव भरत मोहन कमरेडसँग राखेको थिए । भरत मोहन कमरेडले त्यसमा सहमति जनाउँदै मदनसँग कुरा गर्ने जिम्मेवारी मलाई नै सुम्पनुभयो । म बडो उत्साहकारसाथ उहाँ बस्ने गरेको डेरामा पुगेर लेख्न अनुरोध गर्दा उहाँले तपाईँहरू जस्ता साथीहरूलाई जिम्मा लगाएको के अर्थ भयो र भन्दै लेख्न अस्वीकार गर्नुभयो । उहाँले म अहिले दस्ताबेज माथिको बहसको तयारीमा छु र प्राप्त सुझावका आधारमा परिमार्जन समेत गर्नुपर्नेछ भन्नुभयो । अनि उहाँले तपाई आफैले लेख्नुहोस् । बरु प्रकाशन गर्नु पूर्व मलाई देखाउनुहोस् भन्नुभयो । मैले पनि मदन कमरेडको सुझाव अनुरूप उत्साहकारसाथ अपिलको मस्यौदा तयार गरेर उहाँलाई देखाए । उहाँले अपिल पढेर बिना कुनै संशोधन प्रकाशनका लागि अनुमति दिनुभयो । विश्वास गरेर कामको जिम्मा दिने र त्यसप्रति खुलेर भरोसा गर्ने उहाँको शैली बेजोड थियो ।

सोही महाधिवेशनका सन्दर्भको मदन कमरेडसँगको अर्को प्रसङ्ग पनि बढो रोचक छ । महाधिवेशनमा जनताको बहुदलीय जनवाद पार्टीको कार्यक्रमका रूपमा प्रस्तावित थियो । पार्टी केन्द्रीय कमिटीमा अत्यन्त झिनो मतबाट उक्त कार्यक्रम छलफलको आधिकारिक दस्ताबेज बन्न पुगेको थियो । पार्टीको संस्थापन पक्षका जिम्मेवार नेताहरूसमेत बहसका बेलासम्म खुलेर जबजका पक्षमा उभिन सक्नुभएको थिएन । पूर्वको विराटनगरदेखि खुला बहस आरम्भ गरिएको थियो । चितवनसम्म आइपुग्दा जबजका पक्षमा कार्यकर्ताको ठुलो पङ्क्ति पक्षमा देखिसकेको थियो । चितवनको बहसपछि माधव नेपाल जबजको पक्षमा खुल्न तयार हुनुभएछ । मदन कमरेडले माधव कमरेड जबजका पक्षमा खुलेर बोल्न तयार भएकोले काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गर्न लगाउनुभयो । उहाँको अनुरोधमा पद्मकन्या क्याम्पसमा विद्यार्थीहरूको भेला आयोजना गरेर माधवकुमार नेपाललाई बोल्ने लगाइएको थियो । सोही भेलामा पहिलो पटक माधव कमरेड खुलेर जबजका पक्षमा बोल्नुभएको थियो । 

पाँचौँ राष्ट्रिय महाधिवेशनबाट जनताको बहुदलीय जनवाद अत्यधिक बहुमतका साथ नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रूपमा पारित भयो । पारित गराउने कुरामा समेत माधव कमरेडको सक्रियता विशेष रह्यो । जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादन भएको जनताको बहुदलीय जनवाद यति बेला नेपाली क्रान्तिलाई मार्गदर्शन गर्ने सिद्धान्त बन्न पुगेको छ । सुरुको अवधिमा जबजको विचारले पार्टी भित्र समर्थन प्राप्त गर्न भएको त्यस प्रकारको कठिनाइ भएको सम्झँदा अनौठो अनुभूति हुन्छ । 

आज जेठ ३ गते जननेता मदन भण्डारी र कमरेड जीवराज आश्रितको ३०औँ स्मृति दिवस । स्मृति दिवसका अवसरमा जबजका प्रतिपादक तथा कम्युनिष्ट आन्दोलनका नवीन विचारक जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ९ : १४ बजे