मानव जातिको क्रियाकलापको कारणबाट जलवायुमा परिवर्तन आई विश्व तापक्रममा वृद्धि हुँदै गएको कुराको छलफल र बहस सुरु भएको पनि दशकौँ भइसक्यो । तर खासमा जलवायु सम्बन्धी सार्वजनिक रूपमा लोकमत आउन लागेको भने भर्खरै भन्नुपर्दछ । खास गरी वैज्ञानिक तथ्यहरूको आधार विश्वमा भइरहेका घटनाक्रमहरू जस्तै वन जङ्गलमा लाग्ने डढेलो, सुख्खाजर्ती, खडेरी, मुसलधारे वर्षा, समुद्री किनाराहरूमा बाढी, पहाडी क्षेत्रहरूमा पहिरो, गर्मीलहर, शीतलहर, हिमाल पग्लिने र हिमतालको बिस्फोट आदि ।
तथ्यमा आधारित यिनै कारणहरू नै ऊर्जा रूपान्तरणका लागि ठुला प्रेरणाका स्रोत भएका छन् । वर्तमानमा प्रयोगमा ल्याइएको “जीवाष्ममा आधारित ऊर्जा स्रोत जसबाट हरित गृह ग्यास उत्सर्जन हुन्छ” सोलाई बिस्तारै बिस्तारै क्रमबद्ध विस्थापित गर्ने ऊर्जा रूपान्तरण प्रक्रिया नै अहिलेको समयको माग हो । यसको मुख्य निशाना चाहिँ बढ्दै गएको विश्व तापक्रमलाई औद्योगीकरण हुनुभन्दा अगाडिको भन्दा १.५ डिग्री सेल्सीयसमा कायम राख्ने र यसो गर्दा कार्बनमा आधारित ऊर्जा उत्पादन र प्रयोग घटाउनु पर्ने (Transition to a lower carbon energy system) जसको कारण मानव क्रियाकलापबाट सिर्जित कार्बनडाइअक्साइड उत्सर्जन र समय क्रमसँगै कम गर्दै जाने वा छिटै उत्सर्जन कम गर्ने वा कार्बन उत्सर्जन शून्यमा झार्ने वा खुद शून्य उत्सर्जन (Net zero emission) स्रोतबाट उत्सर्जित कार्बनलाई प्रविधियुक्त वा प्राकृतिक तवरबाट विसर्जन गर्ने यी र यस्ता कुराहरूमा अझै ध्यान दिनुपर्ने देखिन्छ ।
एउटा ऊर्जाको स्रोतबाट अर्को ऊर्जाको स्रोतमा जाने व्यवस्था आधुनिक मानव इतिहासमा नौलो कुरा होइन र सबैभन्दा पहिलो ऊर्जा रूपान्तरण बेलायतमा १३ औँ शताब्दीमा भएको देखिन्छ । चीन र एसियाका अन्य देशहरूमा त्योभन्दा अगाडि भएको हुनसक्छ । बेलायतमा काष्ठजन्य ऊर्जाबाट कोइलाजन्य ऊर्जामा रूपान्तरण गरिएको थियो । वन जङ्गलको विनाशसँगै प्रविधिको विकासद्वारा काठबाट कोइलामा रूपान्तरण हुने क्रममा वृद्धि भएको देखिन्छ । जनवरी सन् १७०९ देखि बेलायतमा कोइला औद्योगिक प्रयोगमा ल्याइयो । यसरी जङ्गलबाट बनाइने गोललाई कोइलाले प्रतिस्थापन गर्यो । सन् १७७६ देखि जेम्स वाटको वाष्प इञ्जिनमा पनि कोइला प्रयोग गरियो । हालसम्म पनि कोइलाबाट ऊर्जा निकाल्ने क्रम जारी छ ।
ऊर्जा रूपान्तरण गर्न विश्वव्यापी रूपमा छलफलमा ल्याउने कार्य संयुक्त राष्ट्रसङ्घबाट स्थापित जलवायु परिवर्तनसम्बन्धी अन्तर सरकारी संस्था (आईपीसीसी) को प्रतिवेदनले गरेको पाइन्छ । यसको सन् १९९० को प्रतिवेदनले नै पृथ्वीको सालाखाला तापक्रम बढिरहेको प्रमुख कारकको रूपमा मानव क्रियाकलापबाट सिर्जित हरित गृह ग्यासलाई उल्लेख गरेको पाइन्छ ।
यसैगरी सन् २००७ को चौथो आईपीसीसीको प्रतिवेदनले पनि मानव क्रियाकलापको कारणबाट नै जलवायु परिवर्तन भइरहेको देखिन्छ । साथै सन् २०१४ को आईपीसीसीको प्रतिवेदनले पनि जलवायु परिवर्तन पद्धतिमा मानवीय क्रियाकलाप नै प्रमुख कारणको रूपमा प्रमाणहरू सहित प्रस्तुत गरेको छ । यसरी वैज्ञानिक प्रमाणमा आधारित आईपीसीसीको प्रतिवेदनको आधारमा रहेर सन् २०१५ मा पेरिसमा जलवायु परिवर्तन सम्बन्धी सम्झौता भयो जसमा विश्वका प्रायः सबै देशहरू सामेल थिए । पृथ्वीमा मानव जातिको अस्तित्व कायम गर्ने यो एउटा अहम् कानुनी दस्ताबेज बन्न पुगेको छ ।
यही सम्झौतामा अडिएर हालको विश्व जलवायु सम्बन्धी समस्याहरू – विश्वव्यापी तापक्रम वृद्धि अर्थात् उष्णीकरण (ग्लोबल वार्मिङ), जलवायु परिवर्तनका असरहरू, जलवायु सङ्कट, जलवायु आपत्काल, जलवायु प्रकोपलाई सम्बोधन गर्नु अति आवश्यक देखिन्छ । यसै सिलसिलामा ऊर्जा रूपान्तरण एउटा महत्त्वपूर्ण क्षेत्र भएको छ । जलवायु परिवर्तनले हाम्रा सम्पूर्ण क्षेत्रहरू जस्तै औद्योगिक, वित्तीय, शैक्षिक, सरकारी, गैरसरकारी सबैमा प्रभाव पारेको सन्दर्भमा यसलाई न्यूनीकरण गर्न हरेक क्षेत्रबाट रणनीति तय गर्न जरुरी देखिन्छ ।
आईपीसीसीको प्रतिवेदनले धेरै विश्वासिला कुराहरू समस्त विश्व सामु ल्याएको छ । उदाहरणका लागि सन् २००९–२०१८ सम्मको वार्षिक सालाखाला जलवायु सम्बन्धी तथ्याङ्कको विश्लेषण गरिएको छ । वार्षिक २१० गिगाटन कार्बन सालाखाला प्राकृतिक तरिकाबाटै वायुमण्डलमा उत्सर्जन हुन्छ । यसमा बोटबिरुवा कुहिने, सड्ने, पशुपक्षी, मान्छे इत्यादिले श्वास फेर्ने आदि पर्दछन् । यसका अतिरिक्त ९.५ गिगाटन चाहिँ प्रतिवर्ष जीवाष्म तेल जलायनबाट प्राप्त हुन्छ । करिब १.५ गिगाटन चाहिँ भू–उपयोग परिवर्तनबाट जम्मा हुन्छ । प्रत्येक वर्ष जम्मा २२१ गिगाटन उत्सर्जन हुन्छ । त्यस मध्यमा प्राकृतिक चक्रबाट २१५.७ गिगाटन मात्र सङ्कलन गरिन्छ (वनस्पति, समुद्रबाट) र बाँकी ४.९ गिगाटन कार्बनडाइअक्साइड वायुमण्डलमा भण्डारण हुन्छ । जो प्राकृतिक हिसाबले सङ्कलन गरिएकोको २.२ प्रतिशत हो । यो हेर्दा थोरै देखिन्छ, तर प्रत्येक वर्ष थुप्रिँदै जाँदा पृथ्वीको वायुमण्डलमा धेरै हुन जान्छ । कार्बनडाइअक्साइडका बाबजुद जलवाष्प, नाइट्रस अक्साइड, मिथेन त्यसमध्ये केही थोरै समय रहन्छन् भने अन्य लामो समयसम्म रहिरहन्छन् । यी र यस्ता हरित गृह ग्यासहरूले पृथ्वीलाई ढाक्छन् र सूर्यबाट प्राप्त तापलाई छेकेर राख्छन् जसले अरू थप तापक्रम बढाउँछ । यसलाई हरित गृह ग्यासको प्रभाव भनिन्छ ।
उपरोक्त कुराहरूलाई दृष्टिगत गर्दा प्राकृतिक कारण बाहेक मानवीय क्रियाकलाप जसमा जीवाष्म इन्धनको उपयोगबाट वायुमण्डलमा हरित गृह ग्यास जम्मा भई पृथ्वीमा तापक्रमको वृद्धि भइरहेको देखिन्छ । यसलाई बढ्न नदिन र कम गर्न ऊर्जा रूपान्तरणको अवधारणा आएको हो । यसको अहम् उद्देश्य, जीवाष्ममा आधारित ऊर्जालाई स्वच्छ ऊर्जा जस्तै, जल, हावा, थर्मल, जियोथर्मल, हाइड्रोजन आदिबाट बिस्तारै बिस्तारै विस्थापित गर्ने र सन् २०५० सम्ममा धेरै देशहरू कार्बन न्युट्र«ल हुने लक्ष्य रहेको देखिन्छ ।
आज जलवायु परिवर्तन र यसलाई रोक्ने कुरा विश्वव्यापी रूपमा एउटा सामाजिक मात्र नभई राजनैतिक, आर्थिक आन्दोलन भएको छ । यो आन्दोलनमा स्वतन्त्र व्यक्तिदेखि विभिन्न कसिमका सङ्घ–संस्थाहरू एकताबद्ध छन् । विभिन्न नाराहरूका साथ विश्वव्यापी रूपमा मानिसहरू लागेका छन् । कोही मानिस गाई भैँसी भेडा बाख्राबाट मिथेन उत्सर्जन हुने हुनाले मासु र पशुजन्य प्रोटिन खान छाडी ‘भेगन’ भएका छन् भने कोही ‘भेजिटेरियन’ हुन लागेका छन् । कोही उनीहरूका हवाई जहाजको उडान यात्रा कम गर्न लागेका छन् । मानव जातिका आफ्नो सोधका कार्यहरूबाट आफैले विकास गरेका प्रतिफलको सिकार आफै भएको कुरालाई मनन गरेर बिस्तारै ऊर्जा रूपान्तरणको मार्गतिर अग्रसर भएका छन् ।
हाम्रो देशको ऊर्जा परिस्थितिलाई हेर्दा हामीले हाम्रो जलविद्युतलाई व्यवस्थित गरी हाम्रो घरेलु बजारमा कुनै किसिमको भ्रष्टाचार नगरी इमानदारितापूर्वक काम गरेको खण्डमा आगामी १० वर्ष भित्रमा करिब ७५ प्रतिशत स्वच्छ ऊर्जा प्रयोगमा जाने क्षमता रहेको छ । हाम्रो देशबाट पेट्रोलियम पदार्थ किन्न प्रयोग भइरहने करिब साढे दुई खर्ब रुपैयाँ र सोको ब्याजमा वार्षिक रूपले बचत गर्न सकिन्छ र यसको साथै स्वच्छ ऊर्जा व्यापारबाट अन्य आय आर्जन गर्न सक्ने प्रबल सम्भावना छ । तर इमानदारिताको अनिकाल भएको यो अवस्थालाई नीति निर्माण र कार्यान्वयनको तहमा बस्नेहरूले ध्यान दिएर अगाडि बढे हामी छिट्टै कार्बन तटस्थ देश बन्ने छौँ ।
प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार ८ : ४० बजे
प्रतिक्रिया