सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले बाचन नगर्ने

काठमाडौं । भारतको नयाँ दिल्लीमा पेटको उपचार गरेर फर्केका राष्ट्रपति रामचन्द्र पौडेल अझै स्वस्थ भइसकेका छैनन् । केही समययता उनी सार्वजनिक कार्यक्रम वा भेटघाटमा पनि छैनन् । चिकित्सकहरूले आराम गर्न सल्लाह दिएकाले उनी शीतल निवासमै आराम गरिरहेका छन् । राष्ट्रपतिले गर्ने औपचारिक काम भने भइरहेका छन् । रोकिएका छैनन् ।

तर, राष्ट्रपति पौडेलको अस्वस्थताका कारण सरकारको नीति तथा कार्यक्रम कसले बाचन गर्ने भन्ने समस्या देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच मंगलबार बालुवाटारमा भएको भेटमा संघीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट नीति तथा कार्यक्रमबारे छलफल भएको थियो । प्रधानमन्त्रीले जेठ ५ गते संसदमा नीति तथा कार्यक्रम पेस गर्ने तयारी भएको जानकारी गराएका थिए ।

समान्यतया सरकारको नीति तथा कार्यक्रम सदनमा राष्ट्रपतिले वाचन गरेर प्रस्तुत गर्ने चलन छ। तर, यसपटक राष्ट्रपति पौडेल बिरामी भई उपचारपछि आरामका रहेकाले संसद्‍मा कार्यक्रम कसले प्रस्तुत गर्नेबारे अझै निश्चित भएको छैन।

राष्ट्रपति पौडेलले आफैं स्वस्फूर्त भएर कार्यक्रम प्रस्तुत गर्न खोजे उनैले गर्ने, नत्र सुरुवाती केही समय राष्ट्रपतिले प्रस्तुत गर्ने र बाँकी समय प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम वाचन गर्ने तयारी भएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेत रमेश लेखकले पनि यसबारेमा छलफल भएको बताएका छन् । कार्य व्यवस्था परामर्श समितिको बैठकमा यो विषयमा छलफल हुने र सो पछि मात्रै नीति तथा कार्यक्रम कसले प्रस्तुत गर्ने निर्णय हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ४ : २० बजे