धरानका मेयरको विरोधमा पत्रकारको आन्दोलन जारी, आज पूर्व मेयरहरू सँग अन्तर्क्रिया गर्दै

धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्क राज राईको अभिव्यक्ति र अशोभनीय क्रियाकलापको खिलाफमा पत्रकारहरू मैदानमा उत्रेका छन् ।

मेयर साम्पाङले निरन्तर पत्रकारलाई अपमान गरेको तथा सार्वजनिक गरेको अभिव्यक्ति अशोभनीय भएको भन्दै आन्दोलनमा उत्रेको नेपाल पत्रकार महासङ्घ सुनसरीले आज धरानका पूर्व मेयरहरूसँग अन्तर्क्रिया गर्ने भएका छन् । सोमवार उनीहरूले मेयर साम्पाङको विरोध स्वरूप मौन जुलुस निकालेका थिए ।   

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने गरी प्रमुख राईले पटक पटक पत्रकारहरूलाई गालीगलौज तथा सञ्चार क्षेत्रमाथि आक्रमण प्रयास गरेको पछि बाध्य भएर विरोधमा मौन जुलुस प्रदर्शन गर्नु परेको अध्यक्ष जनकऋषि राईले जानकारी दिनुभयो । उहाँका अनुसार मेयर राईले आफ्नो अभिव्यक्ति नसच्चाएसम्म तथा  प्रेस स्वतन्त्रता प्रति लिखित प्रतिबद्धता नजनाएसम्म आन्दोलन जारी रहने छ  । 

राईका कारण सुनसरीका पत्रकारहरू असुरक्षित हुन पुगेको भन्दै साङ्केतिक स्वरूप सोमबार नगरपालिकाको गेटमा पत्रकारहरूले मुख थुनेर विरोध जनाएका थिए । सो अघि भानु चोकबाट छाता चोक, चतराइन हुँदै धरान उपमहानगरपालिकाको गेटसम्म प्ले कार्ड प्रदर्शन गरिएको थियो ।

धरानका मेयर साम्पाङको अशोभनीय क्रियाकलाप र अभिव्यक्तिका कारण गृहमन्त्रीसमक्ष सुरक्षा माग गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई यसअघि नै ज्ञापन पत्र बुझाइसकेका छन् ।

 

 

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ८ : ०९ बजे