दलित गाउँका पहिलो शिक्षक

टर्कीमा राष्ट्रपति चुनाव : एर्दोगानको अग्रता

अङ्कारा – टर्किए मे २८ मा हुने राष्ट्रपति पदको दोस्रो चरणको निर्वाचनका लागि तयारी भइरहेको छ । आइतबारको प्रारम्भिक चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतको थ्रेसहोल्ड पार गर्न नसकेपछि यो निर्वाचन दोस्रो चरणमा प्रवेश गर्दै छ ।  

    सोमबार अनादोलु एजेन्सीले दिएको अनौपचारिक नतिजाले वर्तमान राष्ट्रपति रेसेप तैयिप एर्दोगानले ४९.४२ प्रतिशत मत प्राप्त गरी चुनावी दौडमा अग्रता लिनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी केमाल किलिचदारोग्लु ४४.९५ प्रतिशत मत पाउनुभएको छ । हालसम्म ९९.३८ प्रतिशत मतगणना भएको छ । अनाडोलुका अनुसार तेस्रो उम्मेदवार सिनान ओगानले ५.२ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।

    सोमबार बिहान आफ्ना समर्थकहरूसँग बोल्दै एर्दोगानले आफ्नो “स्पष्ट नेतृत्व हुने विश्वास व्यक्त गर्नुभएको छ ।” 

    “हामीलाई थाह छ – हामी चुनावमा स्पष्ट रूपमा अगाडि छौँ तर हामी राष्ट्रिय इच्छाको अभिव्यक्तिका लागि पर्खिरहेका छौँ, परिणामको पूर्ण सीमा हाम्रो अगाडि आधिकारिक रूपमा देखिएको छैन”, ६९ वर्षीय राष्ट्रपतिले भन्नुभयो । यसैगरी उहाँले गठबन्धनले संसद्मा स्पष्ट बहुमत प्राप्त गरेको र यसले गर्दा दोस्रो चरणको मतदानले पनि उहाँको उम्मेदवारीलाई समर्थन गर्ने विश्वास व्यक्त गर्नुभएको हो ।

    तर विपक्षी दलका उम्मेदवार केमाल किलिचदारोग्लुले भने एर्डोगानलको सो विश्वासले मूर्तरूप नलिने बताउनुभएको छ । उहाँले एर्दोगानको सत्तारुढ दलले मतगणना र परिणाम सार्वजनिक गर्न जानाजानी ढिलाइ गरेको आरोप लगाउनुभएको छ । अनादोलु एजेन्सीको संसदीय चुनावको अनौपचारिक नतिजाले एर्दोगनको सत्तारुढ न्याय र विकास पार्टी, नेसनालिस्ट मुभमेन्ट पार्टी, न्यू वेलफेयर पार्टी र ग्रेट युनियन पार्टीले गठन गरेको जन गठबन्धनले तीन सय २२ सांसद निर्वाचित गरेको देखाएको छ । 

रासस÷सिन्ह्वा
 

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ९ : १० बजे