दलित गाउँका पहिलो शिक्षक

गाजामा पाँच दिनसम्म चलेको युद्ध रोक्ने सहमति

गाजा सिटी, प्यालेस्टाइनी क्षेत्र – पाँच दिनसम्म चलेको युद्धपछि शनिबार गाजा पट्टी र आसपासका क्षेत्रमा युद्धविराम लागू भएको छ । युद्धका क्रममा कम्तीमा ३४ प्यालेस्टिनी र एक इजरायलीको मृत्यु भएको छ ।

इजिप्ट र प्यालेस्टाइनी स्रोतका अनुसार युद्धविराम स्थानीय समयअनुसार राति १० :०० बजे सुरु हुने तय भएको थियो ।

तर समयसीमा सकिन अन्तिम ३० मिनेटमा गाजाबाट इजरायलतर्फ दर्जनौँ रकेट प्रहार गरिएको एएफपीका संवाददाताले बताएका छन् ।

अधिकांश रकेटलाई इजरायली हवाई प्रतिरक्षा प्रणालीले रोकेको थियो ।

युद्धविरामको घोषणापछि  सयौं मानिसहरू गाजाका गल्लीहरूमा निस्कन थालेका छन् । उक्त गल्लीहरू धेरै दिनदेखि खाली देखिन्थे ।

इजरायली सेनाले स्थानीय समयअनुसार राति ११ बजेपछि गाजाबाट दुई वटा रकेट प्रहार गरिएको जनाएको छ ।

इजिप्टले इजरायल र प्यालेस्टाइनी लडाकू समूह इस्लामिक जिहाद दुवैबाट सम्झौता प्राप्त गरेको भन्दै युद्धविरामको पछिल्लो प्रस्तावमा मध्यस्थता गरेको थियो ।
 
“इजरायलका राष्ट्रिय सुरक्षा सल्लाहकार साही हानेग्बीले इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसीलाई धन्यवाद दिँदै युद्धविरामका लागि इजिप्टको सशक्त प्रयासप्रति इजरायलको तर्फबाट प्रशंसा व्यक्त गर्नुभएको छ,” इजरायली प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

इजिप्टको पहलप्रति इजरायलको प्रतिक्रियाको अर्थ ‘शान्त भएर जवाफ दिइनेछ, र यदि इजरायलमाथि आक्रमण वा धम्की दिइयो भने उसले आफ्नो रक्षाका लागि गर्नुपर्ने सबै कुरा जारी राख्नेछ,’ उहाँले भन्नुभयो । 

एक प्यालेस्टिनी स्रोतले इस्लामिक जिहादको सम्झौताको पुष्टि गरेको छ ।

इस्लामिक जिहादको राजनीतिक विभागका अधिकारी मोहम्मद अल–हिन्दीले एएफपीसँग भन्नुभयो, “हामी इजिप्टको प्रयासका लागि धन्यवाद दिन चाहन्छौं । गत मंगलबार देखि नै हिन्दी कायरोमा रहनुभएको छ ।

रासस÷एएफपी

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ८ : ३८ बजे