‘फरम्याट’ गरेकाले खाणको मोबाइल ‘डाटा रिकभरी’का लागि प्रयोगशालामा

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको मोबाइल विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । 

प्रहरीले पक्राउ पर्नुअघि खाँणले निलम्बित सचिव टेकनारायण पाण्डेले झैँ 'मोबाइल फरम्याट' गरेकाले ‘डाटा रिकभरी’का लागि प्रयोगशालामा पठाइएको हो । 

‘सचिव पाण्डेको मोबाइल पनि फरम्याट गरिएको थियो, प्रयोगशालामा लगेर डाटा रिकभर गरेपछि पूर्व मन्त्री खाणको पनि संलग्न रहेको प्रमाण मिलेको थियो,’ एक उच्च प्रहरी अधिकृतले भन्नुभयो, ‘त्यसैले खाँणको पनि मोबाइल प्रयोगशालामा पठाइएको हो, डाटा रिकभरी भए पछि थप प्रमाण भेटिने आशा गरेका छौँ ।’ 

उहाँका अनुसार आज पनि सरकारी वकिल कार्यालयमा खाँणको बयान जारी रहने छ । हालसम्म खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य नाइके केशव दुलाल र सानु भण्डारीसँग आफ्नो भेटघाट र चिनजान भएको स्वीकार गरेका छन् । थप अनुसन्धानका लागि सरकारी वकिलको रोहवरमा उनीसँग बयान लिइदैछ ।

जिल्ला अदालत काठमाडौँले खाणलाई तीनसम्म हिरासतमा राखेर सोधपुछ गर्न अनुमति दिएको थियो । सोही अनुमति अनुसार आजसम्म खाण प्रहरी हिरासतमा नै रहेका छन् भने आजै उनलाई अदालत लगेर थप म्याद लिने तयारी प्रहरीको रहेको छ । 

   

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ९ : ०७ बजे