शरणार्थी प्रकरण : तीनकुनेमा घर भाडा लिएर बाढेका थिए नक्कली परिचयपत्र

काठमाडौँ – सर्वसाधारण नेपालीलाई भूटानी शरणार्थी बनाएर करोडौँ रकम ठगेको अभियोगमा थुनामा रहेका सानु भण्डारीले काठमाडौँको तीन कुनेस्थित एक घर भाडामा लिएर ठगी धन्दा चलाएको खुलेको छ । 

नक्कली शरणार्थी प्रकरणमा बिचौलियाको भूमिका खेलेका सानुले पूर्वडिआइजी भरतबहादुर जिसी,अशोक पोखरेल र विदुर ढुंगानासँग मिलेर कान्तिपुर कम्प्लेक्सको पछाडि सय मीटर दक्षिणतर्फ एक घरको दुई तला भाडामा लिएर कार्यालय सन्चालन गरेको र त्यहीँबाट शरणार्थीको नक्कली परिचयपत्र बनाएको तथ्य खुलेको हो । 

'हेल्लो नेपाल' नामको मोबाइल सिम र रिचार्ज कार्ड बेच्ने अफिसको आवरणमा सानुसहितको गिरोहले त्यसलाई मानव तस्करीको अखडा बनाएको उच्च जानकार स्रोतले बतायो । यूरोप, अफ्रिकालगायतका मुलुकमा अवैध ढंगबाट मान्छे पठाउने प्रक्रियाको कागजी काम उनीहरुले त्यही कार्यालयमा बसेर गर्ने गरेको स्रोतको दाबी छ । 

सानुको मान्छे बेच्ने उक्त कार्यालयमा एमाले सांसद टोपबहादुर रायमाझीको समेत बाक्लो आउजाउ हुने गरेको देख्नेहरुले बताएका छन् । उनले नै रायमाझी र उनको छोरा सन्दीपको संलग्नता पुष्टि हुने विभिन्न प्रमाण प्रहरी बयानका क्रममा दिएपछि त्यसैका आधारमा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको बताइन्छ । तर,हाल रायमाझी फरार छन् ।   

बताइएअनुसार सानु भण्डारीका क्रियाकलाप शंकास्पद लागेपछि पार्टनर काम गरेका भारत भने उक्त समूहबाट पहिले नै निस्किएका थिए । आफ्नो लगानी हिस्सा बापतको रकम फिर्ता लिएर उनले पार्टनरी छोडेको जानकारहरुले बताएका छन् । 

वैदेशिक रोजगारीको काम गर्ने कोटेश्वरतिर बसोबास रहेका विदुर ढुंगाना भगौडा प्रहरी हुन् । तर, उनले आफूलाई गुप्तचर प्रहरीका रुपमा चिनाउँदै ठगी धन्दा गर्ने गरेको आरोप छ । मुद्दा मामिलाका दलाली क्रियाकलापमा पनि हिँड्ने उनले न्यायाधीश सरुवा गर्नेसम्मका बातचित गर्ने गरेको उनलाई नजिकबाट जान्नेहरु बताउँछन् ।

यस सम्बन्धमा थप पुष्टिका लागि सम्पर्क गर्दा विदुर र भरत दुवैसँग सम्पर्क हुन सकेन । भरतले चलाएको भनिएको मोबाइल अर्कै एक जनाले उठाएर आफू 'भरत जिसी' नभएको बताए । विदुरको मोबाइल भने स्विचअफ छ ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ३ : १३ बजे