यस्तो छ आजको विनिमय दर

खेलकुद पत्रकारिता पुरस्कार कोइरालालाई

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले बागमती प्रदेशका सीताराम कोइरालालाई यस वर्षको  खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ ।

मन्त्रालयबाट प्रकाशित सूचनाको म्यादभित्र प्राप्त आवेदनका मूल्याङ्कनका आधारमा उक्त पुरस्कारका लागि उहाँको नाम छनोट भएको हो । पुरस्कारको राशि रु ५० हजार र सम्मानपत्र छ । 

महिला र दलिततर्फको ‘खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार’का लागि कर्णाली प्रदेशका ज्योति कटुवाल र गण्डकी प्रदेशका दीपक परियारको नाम छनोट भएको छ । पुरस्कारको राशि रु २५ हजार छ । 

मन्त्रालयले प्रदेशतर्फको ‘पत्रकारिता प्रोत्साहन पुरस्कार’ अर्जुनकुमार सुवेदी (कोशी प्रदेश),  सञ्जीवकुमार साह (मधेस प्रदेश), सुवास बिडारी (बागमती प्रदेश) धनबहादुर गुरुङ (गण्डकी प्रदेश), विजय नेपाल (लुम्बिनी प्रदेश) ललितबहादुर बुढा (कर्णाली प्रदेश) र पूर्णबहादुर खड्का (सुदूरपश्चिम प्रदेश) लाई प्रदान गर्ने भएको छ । उक्त पुरस्कारको राशि रु २५ हजार नगद रहेको छ ।

मन्त्रालयले खेलकुद क्षेत्रमा निरन्तर कलम चलाउने क्रियाशील पत्रकारलाई प्रतिस्पर्धाका आधारमा हरेक वर्ष यस खाले पुरस्कार प्रदान गर्दै आएको छ । मन्त्रालयले विश्व बुढामगर (रुकुमपूर्व), मीना ग्लान (नुवाकोट), गीता विष्ट (कैलाली), नीरज देउवा (डडेलधुरा) र प्रेमकुमार दर्नाल (सर्लाही)लाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त सम्मान खेलाडी पारातर्फ रामबहादुर तामाङ (सिन्धुपाल्चोक), प्रशिक्षकतर्फ  नारा श्रेष्ठ गुरुङ (धनकुटा), निर्णायक रेफ्रीतर्फ दीपेन्द्र ढकाल (काभ्रेपलाञ्चोक) र चिकित्सकतर्फ प्राडा नवीसमानसिंह प्रधान (ललितपुर) हुनुहुन्छ । उहाँहरुलाई जनही रु एक लाख नगद र सम्मानसहितको पुरस्कार प्रदान गरिने छ ।
 

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ११ : ४७ बजे