एमालेको स्थायी कमिटी बैठक जारी, वार्षिक कार्ययोजनाबारे छलफल

​​​​​​​काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटीको बैठक जारी छ । 

बिहीबारदेखि सुरु भएको एमालेको पाँचौँ केन्द्रीय कमिटीको बैठकबीच स्थायी कमिटीको बैठक सुरु भएको हो ।

ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा पार्टीको वार्षिक कार्ययोजना तयार पार्ने विषयमा छलफल भइरहेको छ । स्थायी कमिटीले तयार पार्ने वार्षिक कार्ययोजना केन्द्रीय कमिटीको बैठकमा पेस गरी पारित गरिने एमालेले जनाएको छ ।  

शुक्रवार बसेको बैठकमा गैर–भौगोलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेस गरेको प्रतिवेदनमा सामूहिक छलफल भएको थियो । जसअनुसार गण्डकीबाट पदमा अर्याल, बाग्मतीबाट गोकर्ण विष्ट, सम्पर्क समन्वय कमिटीबाट लालबाबु पण्डित, उपत्यका विशेष प्रदेशबाट सुजिता शाक्यले आआफ्नो क्षेत्रको प्रतिवेदन पेस गर्नुभएको थियो ।  

सबै प्रदेशको प्रतिवेदनमाथि सामूहिक छलफल गरिएको थियो । आज बस्ने केन्द्रीय समिति बैठकले समूहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शङ्कर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ । 

 

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ९ : ५६ बजे