साफ यू–१७ च्याम्पियनसिप आजदेखि

चलचित्र ‘हल्कारा’ प्रदर्शनमा

काठमाडाैं । अहिले प्रविधिमय जीवनमा कसैलाई केही भन्नु छ वा सन्देश पु¥याउनु सहज छ । प्रविधिले दिएको यो सहजताको समयमा गाउँ–गाउँ पुगेर चिट्ठी वितरण गर्ने हुलाकी अर्थात् ‘हल्कारा’को कथामा बनेको चलचित्र आजदेखि प्रदर्शनमा आएको छ । 

कलात्मक शैलीलाई उजागर गरेर तयार गरिएको चलचित्र बजारमा आइरहेका मसालेदारभन्दा कम नरहेको निर्देशक विक्रम सापकोटाले जानकारी दिनुभयो । उहाँले नेपालमा गरिएका सोमार्फत चलचित्रले राम्रो प्रतिक्रिया पाइरहेको बताउनुभयो । 

'हामीले देखाउन खोजेको विषयलाई दर्शक बनेर विशेष प्रदर्शनीमा हेर्नुभएकाले महसुस गर्नुभयो । सार्वजनिक प्रदर्शनमा पनि दर्शकको मन जित्नेमा विश्वस्त छौँ', उहाँले भन्नुभयो, 'हुलाकीको आँखाबाट भनिएको जीवनको मर्मस्पर्शी कथा बोकेको चलचित्रमा वैदेशिक रोजगारीको आयामलाई प्रस्तुत गरिएको छ ।'

हुलाकीको सपना र अन्तरसंघर्षलाई प्रस्तुत गरिएको सो चलचित्रमा गाउँको परिस्थिति र सामाजिक सचेतना पनि समेटिएको छ । निर्देशक सापकोटा नेपालमा स्थापित चलचित्रको भाष्य शैलीमा समेत यसले परिवर्तन ल्याउनेमा विश्वस्त हुनुहुन्छ । उक्त चलचित्रमा महेश त्रिपाठी, विनिता थापामगर, उमेश तामाङ, पशुपति राई, दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारले अभिनय गर्नुभएको छ । 

चलचित्रमा शीर्षभूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नुभएको छ । हुलाकीलाई बाल्यकालमा देख्नुभएका अभिनेता त्रिपाठीलाई चरित्र निर्माण गर्न निर्देशक सापकोटाले पटकथामा तयार पार्नुभएको पात्रले सहज बनायो । 'चलचित्रले बाल्यकालको स्मृतिलाई ताजा बनायो । हुलाकीसँग जोडिएको सन्दर्भ सम्झेँ । आफ्नो पात्रलाई पढेपछि बाध्यता र स्थितिलाई महसुस गरेँ', अभिनेता त्रिपाठीले भन्नुभयो । 

चलचित्रमा विनिता थापामगरले अर्को महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । रङ्गमञ्च हुँदै चलचित्रको पर्दामा आइपुग्नुभएकी अभिनेत्री थापामगरलाई मुख्य चरित्र निर्वाह गर्न धेरै समय लाग्यो । अभिनेत्री थापामगरले भन्नुभयो, 'यसमा अभिनेत्रीको परिभाषालाई पछ्याइएको छैन । उसको सुन्दरता अनुहारमा नभई पात्रको विभिन्न आयाममा झल्किन्छ । पात्र बाँचेकी छु ।'

यसको लेखक निर्देशक सापकोटासँगै कवि विप्लव प्रतीक र आकाश बराल हुनुहुन्छ । चिन्तन राजभण्डारी छायाँकार रहनुभएको चलचित्रलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् । चलचित्रलाई जिजीए समूहअन्तर्गत रहेर करण श्रेष्ठले वितरण गर्नुभएको हो ।

–रासस
 

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  १२ : ४३ बजे