साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नेपाल अफ्रिका फिल्म फेस्टिबल असार १ बाट 

काठमाडौँ । नेपाल अफ्रिका–फिल्म फेस्टिबल–२०२३ को तयारी अन्तिम चरणमा पुगेको आयोजक पक्षले जनाएको छ । 

११औँ संस्करणको यो फेस्टिबल यही असार १ गतेदेखि ३ गतेसम्म हुने भएको छ । 

काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा हुने यो महोत्सव कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन र विलक्षण क्रिएसन प्रालिले आयोजना गर्न लागेको हो । 

महोत्सव अध्यक्ष तथा कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनकी अध्यक्ष डा.मञ्जु मिश्रले महोत्सवबारे,‘प्राकृतिक र सांस्कृतिक रूपमा धनी नेपाल र अफ्रिकन मुलुकका धेरै कुरा मिल्दाजुल्दा छन् ।  

अफ्रिकालाई अब पश्चिमाहरूको नभएर अफ्रिकन लेन्सबाटै हेर्नुपर्छ भनेर हामीले विगत ११ वर्षदेखि यो महोत्सव आयोजना गर्दै आएका छौँ ।’ नेपाल र अफ्रिकाको चलचित्र संस्कृतिका लागि आफूहरूले एक दशकअघिबाट नेपालमा नेपाल–अफ्रिका फिल्म फेस्टिबल आयोजना गर्दै आएको अध्यक्ष डा.मिश्रले बताउनुभयो ।

यो अन्तर्राष्ट्रिय फिल्म महोत्सवका लागि हालसम्म २० भन्दा बढी अफ्रिकी मुलुकका फिल्म प्राप्त भएको पनि उहाँले बताउनुभयो । नेपालबाट यो महोत्सवमा फिल्म सहभागी हुनको लागि जेठको दोस्रो हप्तासम्म समय तोकिएको पनि उहाँले जानकारी दिनुभयो ।

महोत्सवका लागि हाल प्राप्त अन्तर्राष्ट्रिय चलचित्रहरू निर्णायक समूहबाट हेर्ने काम भइरहेको अध्यक्ष डा.मिश्रले बताउनुभयो । यो महोत्सवको लागि विगतमा झैँ यस पटक पनि बढीमा २५ वटा सिनेमा चयन गरिने छ । नेपाली र अफ्रिकन फिल्म यो महोत्सवमा प्रदर्शन गरिने छ । 

अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत अफ्रिकन मुलुकका तथा अफ्रिकामाथि बनेको अन्य मुलुकका सिनेमा चयन गरिने छ । अन्य मुलुकबाट निर्माण गरिएका अफ्रिकन विषयवस्तुमा आधारित फिल्म पनि महोत्सवमा चयन भएका छन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म, सर्ट फिल्म, डक्युमेन्ट्री र निर्देशन विधामा प्रतिस्पर्धा हुनेछ । 

महोत्सव निर्देशक डब्बु क्षत्रीका अनुसार यो महोत्सवमा विगत झैँ यस पटक पनि सांस्कृतिक झाँकी, नेपाल र अफ्रिकाको विषयमा अन्तरक्रिया, नेपालमा सर्ट फिल्म किन व्यावसायिक हुन सकेनन् लगायत विभिन्न विषयमा छलफल पनि गरिने महोत्सव निर्देशक क्षत्रीले बताउनुभयो । महोत्सवमा कला प्रदर्शनी पनि गरिने भएको छ । 

यो महोत्सवमा चलचित्र, लघु चलचित्र, वृत्तचित्र, एनिमेसन चलचित्र, कार्टुन फिल्म सहभागी गराइनेछ । नेपाल खण्ड अन्तर्गत खुला प्रतिस्पर्धा र विद्यार्थी सिनेमा प्रतिस्पर्धा गरी दुई वटा क्याटोगोरी रहेको पनि क्षत्रीले बताउनुभयो ।  

यस्तै, नेपाली खण्ड अन्तर्गत खुला प्रतिस्पर्धामा उत्कृष्ट चलचित्र, लघु चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायाकार, सम्पादक, लेखकजस्ता विधामा प्रतिस्पर्धा हुनेछ । नेपाली सिनेमामै विद्यार्थी खण्ड अन्तर्गत उत्कृष्ट स्टुडेन्ट सर्ट फिल्म र उत्कृष्ट स्टुडेन्ट डिरेक्टर अवार्डको लागि प्रतिस्पर्धा हुने भएको छ । 

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ७ : २२ बजे