नरेन्द्रका लागि ५ लाख माग्दा यसरी फसे बालकृष्ण

१ करोड २४ लाखको प्रमाण नै भेटियो

​​​​​​​‘नरेन्द्रले पनि आस गर्छ, त्यसलाई ५ लाख फालिदिनुपर्ला’ भन्दै खाँणले च्याट गरेको विवरण पाण्डेको मोबाइलमा भेटिएको प्रहरी स्रोतले बताएको छ । 

काठमाडौं ।  नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग मिलेर रकम अशुली गरेको आरोपमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेपछि अनुशन्धानमा खटिएका प्रहरी अधिकारी केही समय अलमलमा परे।

पाण्डेका साथबाट उनीहरुले जस्तो प्रमाणको अपेक्षा गरेका थिए, त्यो हात लागेन। पाण्डेले पक्राउ पर्नु अघि नै आफनो मोवाईल फर्म्याट गरेको पाईयो। त्यसपछि मोवाईलालाई रिकभरका लागि पठाईयो। जव पाण्डेको मोवाईलको डाटा रिकभर भयो, त्यसपछि भने प्रहरीले पुर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गर्ने वलियो प्रमाण भेट्टायो। 

बिचौलियाहरूसँग पैसा लिएको ठोस प्रमाण भेटिएपछि खाँण र उनका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी समेत पक्राउ परे। खाँण बिचौलियाबाट १ करोड २४ लाखभन्दा बढी रकम लिएको प्रमाण प्रहरीले फेला पारेको छ।

बुधबार पक्राउ परेका तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसीले पनि ठगी प्रकरणमा ५ लाख रुपैयाँ लिएको खुलेको प्रहरीले जनाएको छ । ‘नरेन्द्रले पनि आस गर्छ, त्यसलाई ५ लाख फालिदिनुपर्ला’ भन्दै खाँणले च्याट गरेको विवरण पाण्डेको मोबाइलमा भेटिएको प्रहरी स्रोतले बताएको छ । 

यसअघि पक्राउ परेका सचिव टेकनारायण पाण्डेको मोबाइलबाट यो तथ्य उजागर भएको प्रहरी दाबी छ । प्रहरीले मोबाइलको डाटा रिकभर भएपछि खाँण र पाण्डेबीच भएको गोप्य म्यासेज पढेर मात्रै खाँणलाई पक्राउ गरेको हो । म्यासेजमा करोडौँ रकम लेनदेनबारे दुई जनाबीच कुराकानी भएको भेटिएको छ । यही प्रमाण खाँणलाई पक्राउ गर्न प्रहरीका लागि पर्याप्त बनेको हो । 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डको पर्दाफास हुँदा तत्कालीन गृहमन्त्री र गृहसचिव नै अहिले प्रहरी हिरासतमा पुगेका हुन् । ८ सयभन्दा धेरै मानिसलाई ठगी गरी करोडौँ रुपैयाँ उठाएको यो प्रकरणमा पक्राउ पर्ने पूर्वगृहमन्त्री खाँण र नेपाल सरकारका सचिव पाण्डे सबैभन्दा उच्च तहका व्यक्ति हुन् ।

यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भए पनि उनी फरार छन् । 

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  ५ : ४८ बजे