सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने एक व्यक्तीलाइ साइबर ब्युरोले  बुधबार कीर्तिपुरबाट पक्राउ गरेको छ । फेसबुकमा साथी बनी म्यसेन्जरमा वार्तालाप गर्ने क्रममा पीडित महिलालाई ललाई फकाइ अश्लील जन्य क्रियाकलाप गर्न बाध्य पारी सोको स्क्रिन रेकर्ड  पीडित महिलालाई नै बारम्बार पठाइ आफू अनुकूल फाइदा लिने काठमाडौँको कीर्तिपुरका नरेन्द्र केसी पक्राउ परेका हुन् । 

उनले एक महिलालाई फेसबुकमा साथी बनाएर कुराकानी गरेका थिए। ललाइफकाइ गरी उनले ती महिलालाई अश्लिलजन्य क्रियाकलाप गर्न बाध्य पारेको प्रहरीले जनाएको छ। 

त्यसक्रममा केसीले स्क्रिन रेकर्ड गरी उक्त रेकर्ड देखाएर ब्ल्याकमेलिङ गरेको आरोप छ। 

रेकर्डिङ पटकपटक पीडितलाई पठाएर आफूखुसी फाइदा लिएको र आफन्त तथा साथीहरू समेतलाई पठाएर चरित्र हत्या गरेको भन्दै उजुरी परेको थियो। उक्त उजुरीमाथि अनुसन्धान गरी ब्युरोले उनलाई कीर्तिपुरबाट पक्राउ गरेको हो। 

आफ्नो योजना अनुसारको कार्य गर्न पीडित महिला तयार नभएपछि उनले महिलाका आफन्त तथा साथीलाई म्यासेन्जरमा अश्लील क्रियाकलापमा संलग्न भएको स्क्रिन रेकर्ड पठाएर हैरानी गर्न थालेपछि पीडित महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् । 

केसीलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा सम्मानित काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई ब्युरोबाट खटिई गएको टोलीले प्रहरी वृत्त कीर्तिपुरको सहयोगमा पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रकरीले जानकारी दिएको छ । 

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  ५ : ०० बजे