पृथ्वी र मानव जातिको इतिहासलाई हेर्ने हो भने इतिहास एउटा प्रकोप वा प्रलयदेखि अर्को प्रकोप वा प्रलयले गर्दा इतिहास प्रलय नै प्रलय वा प्रकोपै प्रकोपहरूले भरिएको देखिन्छ, चाहे त्यो मानव जातिको इतिहास होस् वा पृथ्वीको सम्पूर्ण इतिहास । हरेक प्रकोपले पृथ्वीका सम्पूर्ण प्राणीहरू लगायत मानव जीवनमा आमूल परिवर्तन ल्याउने गरेको देखिन्छ । वर्तमान मानव जाति र मानव सभ्यता अनिश्चितताको भुमरीमा जकडिएको छ । हरेक चिजको डरले त्राहिमाम् भएर बाँचेको छ मानव जाति । मान्छेको विचारमा पृथ्वी परिवर्तन भएको देखिन्छ तर साढे ४ अर्ब वर्षदेखि पृथ्वीले विभिन्न प्रलय तथा महाप्रलयहरू सहँदै आए पनि रहिरहेको छ र रहने छ ।
उदाहरणका लागि करिब ४५ करोड वर्षअघि सबैभन्दा ठूलो घटना पृथ्वीमा आम प्रलयको रूपमा घट्यो जसमा धेरैजसो प्राणीहरू लोप भए । ती सबै जलचर प्रजातिहरू थिए । तीमध्ये पनि ८५ प्रतिशत लोप भएका थिए । त्यो अवधिलाई अर्डोभिसियन कालको लोप भनिन्छ । झन् करिब ३५ करोड वर्षअघि डेभोनियन कालमा त करिब करिब सबैजसो जलचर प्रजातिहरूको विनाश भएको पाउँछौँ ।
त्यसपछि करिब २५ करोड वर्ष वरपर अर्को ठूलो आम प्रलय भयो, जसमा पृथ्वीमा भएका प्रायः जसो प्राणीहरू (करिब ८० प्रतिशत) लोप भए । त्यो समयावधिमा भएको प्रलयलाई पृथ्वीमा जीवधारीहरूको विशाल मृत्युको संज्ञा पनि दिइएको छ । अनि करिब २५ करोड वर्ष अघि ट्रायासिक कालको अन्त्यतिर अर्को भयानक प्रलयको चपेटामा यस पृथ्वी परेको थियो जुन जैविक विविधता विनाशका दृष्टिकोणले अत्यन्तै घातक रह्यो । त्योभन्दा पछिको र भर्खरको विनाश जसले गर्दा डाइनोसरको लोप भयो, यो करिब साढे ६ करोड वर्ष पहिले क्रेटासियस कालको अन्त्यतिर भएको मानिन्छ ।
उपरोक्त सबै घटनाहरू हुनुका कारण पृथ्वीमा अक्सिजनको कमी हुनु, र समुद्रमा तथा वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा बढ्नु, पृथ्वीको तापक्रम बढ्नु, समुद्रमा अम्लीयपना बढ्नुका साथै स्थलमा अम्लीय वर्षा हुनु प्रमुख कुराहरू रहेको वैज्ञानिकहरू बताउँछन् । साथै ठूलाठूला ज्वालामुखीहरूको विस्फोटन भई सूर्यको किरणलाई पृथ्वीमा पर्नबाट रोक्ने यी र यस्ता कारणहरूबाट विगतमा जीवधारीहरूको लोप भएको देखिन्छ । यसरी प्राणीहरूको लोप हुने र पुनः विकास हुने क्रम जारी नै छ ।
आजभन्दा करिब ५ करोड वर्ष अगाडि इयोसिन कालमा पृथ्वी हिमविहीन अवस्थामा रहेको वैज्ञानिकहरू बताउँछन् । त्यो समयमा पृथ्वीको उत्तरी ध्रुवमा ठूलाठूला रुखका वनजंगलहरू भएको कुरा जीवाष्म अध्येताहरू बताउँछन् ।
वर्तमान विश्वमा मानवीय क्रियाकलापका कारण पृथ्वीको जलवायुमा परिवर्तन हुन लागेको कुरा सन् १८९६ आभास भएको र यसबाट पृथ्वी र मानव जाति जीवजन्तुको अस्तित्वमा खतरा हुन सक्ने कुरा आजभन्दा करिब ५३ वर्ष अघि नै थाहा पाइएको हो । यस्तो अहम् कुरा थाहा पाउँदा पाउँदै पनि आर्थिक र भौतिक विकासमा मात्र मानव जातिले विकास गरेको राजनीतिले ध्यान दिएका कारण जलवायु परिवर्तन र यसबाट हुने खतराबाट वर्तमान मानव जाति अछुत नरहने भयो ।
भौतिक विकासमा जीवाष्म ऊर्जाको प्रयोग गरी डिजेल र पेट्रोलियम पदार्थबाट निकालिएको ऊर्जाको प्रयोग (जीवाश्म ऊर्जाको आविष्कार सन् १८६१ बाट) बाट विकसित हाम्रो सर्वाङ्गीण विकास प्रणालीको कारण वायुमण्डलमा हरित गृह ग्यास बढ्न गई पृथ्वीको तापक्रम वृद्धिबाट जलवायु परिवर्तन र यसबाट पर्ने दुष्प्रभाव देखिएको छ ।
उदाहरणका लागी सन् १९०० लाई आधार वर्ष मान्ने हो भने पृथ्वीमा मान्छेको भौतिक जीवन सञ्चालन विधिमा धेरै विकास भई त्योभन्दा अगाडिको समयभन्दा राम्रो र आरामदायी भएको पाइन्छ । औसत आयु त्यो समयमा ३० वर्ष थियो भने हाल ७२ वर्ष पुगेको छ । मानव स्वास्थ्यमा ठूलो प्रगति भएको छ । धेरै सङ्क्रामक रोगहरू नियन्त्रणमा लिइएका छन् । धुवाँबाट हुने घरेलु प्रदूषण एकदमै कम भएको छ । यसबाट हुने मृत्यु १९९० मा करिब ८ प्रतिशत हुने गरेकोमा यो हाल ४ प्रतिशतभन्दा कम भएको छ । त्यसरी नै शुद्ध पिउने पानीको व्यवस्था भएका कारण पखाला भई बिरामी पर्नेहरूको सङ्ख्या न्यून हुँदै गएको पाइन्छ । अन्नबाली र घरपालुवा पशुपक्षीको उत्पादनमा पनि व्यापक वृद्धि भएको छ ।
उपरोक्त सबै भौतिक विकासका बाबजुद पृथ्वीमा बढिरहेको तापक्रम र यसले ल्याउने गरेको प्रभावका कारण हाम्रो पर्यावरणीय पद्धति र वायुमण्डलमा नकारात्मक प्रभाव बढिरहेको छ । सामुद्रिक तापक्रममा वृद्धिको कारण अक्सिजनको कमी भई सामुद्रिक प्राणीहरू नासिने जलवाष्पीकरणका कारण वायुमण्डलमा हरित गृह ग्यास बढ्ने क्रमले गर्दा विश्वका सम्पूर्ण देशहरू यी सबैको कारक तत्त्व रोक्नका लागि उद्यत भई पेरिस सम्झौता २०१५ मा गरी विश्व तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि (औद्योगिक विकास सुरु हुनुभन्दा अगाडि) जान नदिन प्रतिबद्धता व्यक्त गरेका छन् । त्यति हुँदाहुँदै पनि “भूराजनीतिको सिफ्ट” युद्धका कारण पृथ्वीका देशहरू र सम्पूर्ण मानव जाति एकातिर आणविक हतियारको सिकार हुन लागेको हो की जस्तो आभास हुन्छ भने (यदि त्यस्तो घटना घट्यो भने त्यो विन्दुबाट फिर्ने कुनै उपाय हुँदैन) अर्कोतिर विश्वका शासक वर्ग पुँजीवादी व्यवस्थाबाट एक इन्च पनि यताउता गर्न तयार छैनन् । उनीहरूको मुनाफामुखी उद्योग र मुनाफा मात्र कमाइ रहने पुँजीवादी व्यवस्थाका कारण मुनाफाका लोभमा मात्र परिरहने कारणले ल्याएको जलवायु परिवर्तनबाट आउन सक्ने सङ्कट २१ औं शताब्दीको मानव जातिका सम्मुख रहेका यी २ वटा सङ्कटहरूले गर्दा मानव जाति भीरको टुप्पामा बसेको मान्छे जस्तो भएको छ, कुनै पनि बेला ढल्न सक्छ । यी सङ्कटहरूबाट बच्नको लागि, मानव जातिले विश्व ऐक्यबद्धता “वसुधैव कुटुम्बकम्” को भावना हृदयङ्गम गरी एउटा समतावादी, प्रजातान्त्रिक दिगो समाजको निर्माण र विकासमा अगाडि बढ्नुको विकल्प छैन । यही मन्त्रले विश्वका अहम् मुद्दाहरू, आणविक हतियारको मानव हिंसामा प्रयोगमा रोक र जलवायु परिवर्तनको प्रभावलाई वैज्ञानिक प्रमाणहरूका आधारमा नियन्त्रण गर्दै सम्पूर्ण मानव जातिलाई सुख र समृद्धितिर अगाडि बढाउँछ ।
प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार ३ : ४६ बजे
प्रतिक्रिया