आइएफआरसीको महासचिवमा पुनः चापागाईँ चयन

काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईँ दोस्रो कार्यकालका लागि पुनः चयन हुनुभएको छ । सो पदमा पुग्ने उहाँ पहिलो नेपाली हुनुहुन्छ ।  

चापागाईँले यसअघि सन् २०२० फेब्रुअरीमा चार वर्षे सो पदको पहिलो कार्यकाल सम्हाल्नुभएको थियो ।  

स्वीट्जरल्याण्डको जेनेभामा गए राति सम्पन्न आइएफआरसीको गभर्निङ बोर्डको बैठकले पहिलो पदावधि समाप्त हुनु एक वर्ष अगाडि नै उहाँलाई दोस्रो कार्यकालका लागि पुनः चयन गर्ने निर्णय गरेको हो । सो बोर्डमा विश्वका २९ देश सहभागी रहेको बताइएको छ । चापागाईँले सन् २०२८ को जनवरीसम्म  आइएफआरसीको सर्वोच्च पदको नेतृत्व गर्नुहुनेछ । 

आइएफआरसीमा आबद्ध देशीय रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीका स्वयंसेवक तथा कर्मचारी पछिल्ला वर्षमा कोभिड–१९ महामारीको प्रतिकार्यमा अग्रपङ्क्तिमा जुटेका थिए  । 

आइएफआरसीले आफ्नो कार्यादेशअनुसार जलवायु परिवर्तनले निम्त्याएका, प्राकृतिक तथा मानव सिर्जित विपद् न्यूनीकरण र पीडितलाई अनवरत रूपमा मानवीय सहयोग  गर्दै आएको छ । 

दोस्रो कार्यकालको पदावधि थपपछि महासचिव चापागाईँले भन्नुभयो, “अइएफआरसीको गभर्निङ बोर्ड र आइएफआरसीका अध्यक्ष फ्रान्सेस्को रोक्काको विश्वास पाउँदा म सम्मानित र गौरवान्वित भएको छु । थुप्रै चुनौतीबीच समाधान खोज्न र हामीले सेवा गर्ने समुदायका बीचमा विश्वास निर्माण गर्न निष्ठाका साथ काम गर्नेछौँ ।”

तीन दशकभन्दा बढी समय मानवीय सेवामा तल्लीन चापागाईँले गत महिना नेपाल भ्रमणका क्रममा नेपाल रेडक्रस सोसाइटीलाई ३० नयाँ र १५  स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण गर्नुभएको थियो । 

विश्वका एक सय ९२ देशका रेडक्रस आइएफआरसीमा आबद्ध छन् । सल्फेरिनो युद्धका पीडाले छटपटाइ रहेकालाई मानवीय सेवा स्वतःस्फूर्त प्रदान गर्न जँ हेनरी ड्युनाले सन् १८६३ मा रेडक्रस स्थापना गर्नुभएको थियो । युद्ध र युद्धका परिणाम, प्राकृतिक तथा मानव सिर्जित विपद्, विपद्ले सिर्जना गरेका असर, गरिबी, भोकमरी, विषमता न्यूनीकरण, सङ्कटासन्न समुदायलाई उत्थानशील बनाउनेलगायत क्षेत्रमा आइएफआरसीले मानवीय सहायता प्रदान गर्दछ । 

सात लाखभन्दा बढी कर्मचारी र झन्डै दुई करोड स्वयंसेवकको माध्यमबाट करिब एक अर्ब जनसङ्ख्यालाई  आइएफआरसीले बर्सेनि मानवीय सहायता पुर्‍याउने गरेको छ । 

साथै रेडक्रस अभियानले मूलभूत रूपमा मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, स्वयंसेवा, एकता र विश्वव्यापकता जस्ता आधारभूत सिद्धान्तद्वारा निर्देशित भई सेवा गर्ने गर्छ ।

 

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  ७ : ०४ बजे