सन्दर्भ सुशासन : भ्रष्टाचार सानो र ठुलो माछाको विषय हुन सक्छ ?

भ्रष्टाचार कार्यस्थलमै कार्यरत जनशक्तिसँग संलग्नता रहेको हुन्छ र बिस्तारै शुभ लाभमा रूपान्तरण हुने गर्दछन् । तत्पश्चात् सेवाग्राहीको काममा लापरबाही र झुलाई रहने प्रवृत्तिमा बढोत्तरी हुँदै जाने अवस्था रहन्छ । ढिलासुस्ती, विकृति र विसङ्गति नजराना प्रवेश गर्ने मूल द्वार हुन् । यसलाई समयमै पर्दा लगाउन वा बन्द गर्न ध्यान पुर्‍याउने जिम्मेवारी सम्बन्धित पदाधिकारीहरूको हो ।

नक्कली बिल भरपाई बनाएर, नक्कली भौचर पेस गरेर, नीतिगत वा कानुनलाई दोहोरो÷तेहेरो अर्थ लाग्ने गरी निर्णयमा पुग्ने र कार्यान्वयनमा लापरबाही तथा ढिलासुस्ती गरेर भ्रष्टाचारलाई आमन्त्रण गरिरहेको अवस्था आम रूपमा पाइन्छ । घुस र नजराना लिने दिने कार्यको निरन्तरता घट्नुको साटो बढ्दै जानु विडम्बना नै मान्नुपर्दछ । 

भ्रष्ट प्रवृत्ति, मानसिकता र आचरणका व्यक्ति वा अन्य दायित्वमा रहेका जिम्मेवार पदाधिकारीहरूले समाज र राष्ट्रमा ठाडो शिर गरेर हिँड्ने परिस्थिति नरोकिएसम्म भ्रष्टाचार दुवो झैँ मौलाउँदै जानु स्वाभाविकै हो । यसको ऐजेरुलाई जरैदेखि नउखेलेसम्म सुशासन र समृद्धिको फगत कल्पना मात्र हुन्छ । यस दिशातर्फ हामी सबै समाजका नागरिक समेतले बुद्धि र विवेक समयमै पुर्‍याउनु जरुरी भइसकेको छ । अन्यथा भ्रष्टाचारका विषयमा सङ्गीतको राग अलाप्नु मात्र हुनेछ ।

कसरी हुँदैछ  भ्रष्टाचार ?
भ्रष्टाचार मानव सृष्टिबाटै हुँदै आएको पाइन्छ । समय क्रमसँगै यसको बढोत्तरी हुँदै गएको छ । भ्रष्टाचार शून्यमा झार्न सक्दा ‘रामराज्यको कल्पना’ गर्न सकिन्छ, यद्यपि यो सम्भावना न्यून देखिन्छ । घटाउन सकिन्छ यद्यपि निर्मूल पार्न सक्ने सामर्थ्य संसारका कुनै पनि राष्ट्रमा देखिएको छैन । यसका लागि नैतिक आचरण र अनुशासन अनिवार्य तत्त्वको रूपमा रहन्छ । एक व्यक्तिको एकल प्रयासले भन्दा सामूहिक कार्यबाट मात्र सम्भव रहन्छ । यसतर्फ नेपाल र नेपालीले ध्यान दिन सक्नुपर्दछ । न्यूनीकरण गर्ने क्यानडा, फिनल्याण्ड, नर्वे जस्ता राष्ट्रले सफलता प्राप्त गरेता पनि समूल नष्ट गर्न भने सकेका छैनन् । 

यद्यपि, उनीहरू कानुनद्वारा यस्ता कार्यमा संलग्न व्यक्तिमाथि निर्मम प्रहार गरी पुनः दोहोर्‍याएर उठ्नै नसक्ने अवस्थामा पुर्‍याउने कोसिस गर्छन् । हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा विगतमा एकल व्यक्तिबाट मात्र गरिने भ्रष्टाचारको दुष्प्रयास भन्दा माथि उठेर सामूहिक व्यवस्थापन, सेटिङ निर्माणको जालो जस्ता समयसँगै फस्टाउँदै गएका प्रवृत्ति दिन दुई गुना रात चौगुनाको आधारमा रूपान्तरित हुँदै गएका छन् । कानुनी, प्रशासनिक र न्यायिक उपचारका विधिहरू समेत जटिल बन्दै गएका छन् । 

नयाँ नयाँ शिराबाट भ्रष्टाचारका प्यारामिटरहरु बाँसका जराझैँ समाजमा फैलिँदै गएका छन् । यसको प्रभावकारी र न्यायिक ढङ्गबाट नियन्त्रण गरिनु खास गरी हाम्रो देश र दक्षिण एसियाका अन्य मुलुकहरूका लागि आवश्यक भइसकेको आम सार्वजनिक भएको छ । हाम्रो देशले “समृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकाङ्क्षालाई मूर्तरूप दिन र सुशासनका लागि सामाजिक आर्थिक, राजनीतिक संस्कारमा सुधार गर्दै विकासको गतिलाई बढाउन ढिला गरिनु हुँदैन ।  

भर्खरै सार्वजनिक नक्कली भुटानी शरणार्थी काण्डमा राजनीतिक दलका शीर्ष नेताहरूबाट संरक्षण गर्न दबाब दिएको विषयमा “म कसैको दबाबमा पर्दिन, कसैलाई छाड्दिन दूधको दूध पानीको पानी गर्छु” भन्ने फण्डा बहालवाला प्रधानमन्त्रीबाट सार्वजनिक अभिव्यक्ति दिनुले यो काण्ड सेलाउँदै उम्लँदै जिम्लिएको पानी जस्तो त हुने होइन ? भनेर सार्वजनिक बहस सुरुवात हुनुले आशङ्का सृजना गरेको छ ।

भ्रष्टाचारका रूपहरू
–    संरक्षित भ्रष्टाचार– राजनीति र शक्तिका आडमा हुने भ्रष्टाचार ।
–    नीतिगत भ्रष्टाचार– कानुन निर्माणमा हुने भ्रष्टाचार ।
–    जालो भ्रष्टाचार (Network Corruption) तलमाथि मिलीमिली गरिने भ्रष्टाचार ।
–    नियामक निकाय (Over Sight Agencies) बाट हुने भ्रष्टाचार– स्रोत साधन तथा प्रविधिलगायतको दुरुपयोग गरी हुने भ्रष्टाचार ।
–    नियुक्ति प्रक्रियाबाट हुने भ्रष्टाचार– समावेशिताका आधारमा संवैधानिक र अन्य निकायमा हुने भ्रष्टाचार ।
–    न्यायिक भ्रष्टाचार– अदालत, अर्धन्यायिक निकायबाट सेटिङ मिलाई फैसला हुने भ्रष्टाचार ।
–    कानुनी भ्रष्टाचार– कानुन निर्माण गर्दा मनसाय राखेर गरिने भ्रष्टाचार । जस्तो, सार्वजनिक खरिद ऐन लगायत ।
–    स्वार्थपे्ररित भ्रष्टाचार– नियमावली लगायतमा कुनै व्यक्ति वा समूहको स्वार्थमा गरिने सरकारी निर्णय ।
–    कमिसन प्रेरित भ्रष्टाचार– तस्कर, कमिसन खोर, ठेकेदार तथा काला बजारिया प्रवृत्तिका कारण हुने भ्रष्टाचार ।
–    बजेटमार्फत हुने भ्रष्टाचार– समयमै बजेट विनियोजन र भुक्तानी नगर्ने परिपाटीका कारण हुने भ्रष्टाचार ।

उपायहरू
भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक शासन प्रणाली प्रमुख पात्रको रूपमा स्थापित हुन सक्नुपर्दछ । देशको संवैधानिक र कानुनी व्यवस्था, राज्यबाट पहिचान गरिएका संवैधानिक र अन्य नियमनकारी निकायहरू सशक्त र इमानदार कार्यान्वयनको पक्षमा सतिसाल झैँ अटल बन्न सक्नुपर्दछ । नागरिक र तिनीहरूका समूह, सञ्चार क्षेत्र र श्रोत साधनहरूको उपलब्धिले मात्र सुशासन व्यवस्थापन, प्रवर्द्धन र न्यूनीकरण गर्न सम्भव÷असम्भव प्रति गहिरो विश्लेषण गर्न ढिला गरिनु उपयुक्त हुँदैन । 

यसबाट भ्रष्टाचारको थप उचाइ बढाउने कार्य मात्र हुनेछ । भ्रष्टाचार गर्नेमाथि मोलमोलाइ, संरक्षण र बचाउ गर्नेमाथि समेत कारबाही गर्ने कानुनको निर्माण गरिनुपर्दछ । अपुग र सुधार गरिनुपर्ने कानुन सार्वजनिक खरिद ऐनलगायतलाई सरोकारिता पक्षहरूको प्रत्यक्ष अप्रत्यक्ष सहभागिता गराई निर्माण गर्ने परिपाटी बसाल्नुपर्दछ । ठेक्कापट्टाका कानुनमा सुधार गरी एउटा निश्चित अवधिसम्म सम्बन्धित ठेकेदारबाटै मर्मत सुधार गर्ने थप जिम्मेवारीसहितको कानुन निर्माण गरिनुपर्दछ । अन्तर्राष्ट्रिय स्तरमा हुने भ्रष्टाचार विरुद्धका सकारात्मक अभ्यास र प्रयोगको अनुसरण गर्ने कार्यमा ध्यान दिनुपर्दछ ।  

सुशासन साँच्चै खोजिएको हो भने माथि उल्लेखित पात्रहरूका बीचमा समन्वय र सहकार्य गरेर अगाडी बढ्नुको विकल्प छैन । सबै सरोकारीत पक्षहरूमा दृढ इच्छाशक्ति एवं प्रतिबद्धता रहनु नितान्त जरुरी छ । सुशासन स्थापित हुन नदिने सार्वजनिक निकाय भित्र र बाहिर हुने मेलमिलाप, अनपेक्षित सम्बन्ध, आपसी लेनदेन र स्वार्थ माथि निर्मम प्रहार गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेर कार्य गर्नुपर्दछ । 

संवैधानिक निकाय लगायतबाट वार्षिक रूपमा प्रकाशित प्रतिवेदनले औँल्याएका बेरुजुहरूको समयमै निगरानी र असुलउपर गर्ने परिपाटी बसाल्नुपर्दछ । सुशासनको लागि नीतिगत, संस्थागत, संरचनागत र कार्यगत व्यवस्था प्रभावकारी मिलाउने जिम्मेवारी राज्य र सरकारको हो । यसका साथै सरकारी, गैरसरकारी र निजी क्षेत्र लगायतका सरोकारवाला पक्षबीच समन्वय, सहकार्य र समझदारी बनाउँदै जानुपर्दछ ।

चिनियाँ सुशासनका लागि कलम चलाउने चङ सिएले “जिम्मेवारी लिने जो सुकै बाँस जस्तै चाम्रो हुनु पर्दछ र बाँसलाई चारै दिशाबाट बतास बहँदा पनि सबै प्रहारहरूको बाबजुद नभाँचीकन सदा अडिग रहन्छ” भने जसरी राजनीति र त्यसको नेतृत्व, राज्यका सबै खाले निकाय र अङ्गहरू, सरकार र त्यस मातहतका तीनै तहका पदाधिकारीहरू उभिन सक्नु पर्दछ । यस कार्यमा निजी क्षेत्र, समाजका भ्रष्ट्राचार विरुद्धका अभियानमा अगुवाइ गर्ने सचेत नागरिकहरू र अन्य सरोकारवालाको सक्रिय समन्वय, सहकार्य र सद्भावको अपरिहार्य आवश्यक छ । 

समृद्ध र सुखी राष्ट्र निर्माणका लागि राजनैतिक दल र नेतृत्वमा संस्कारगत सुधार पहिलो आवश्यकता देखिन्छ । एक–अर्कामा गरिने अनावश्यक आलोचना, चर्को विवाद र लाञ्छना जस्ता संस्कारगत प्रवृत्तिको अन्त्य हुनै पर्दछ । आपसी समन्वय र सहकार्यबाटै उपलब्धि सकारात्मक हुने र मौलाउँदो भ्रष्टाचारको झारलाई फैलनबाट थुन्न सकिने अपेक्षा गर्न सकिन्छ ।

राजनैतिक स्थायित्व, स्वस्थ राजनैतिक प्रणाली तथा असल राजनैतिक संस्कार निर्माण गर्ने प्रवेशद्वार खोलिनु पर्दछ । सुशासनका लागि सरोकारवाला सबै पक्षले नीतिगत तथा नियमन गर्ने कार्यमा सशक्त, प्रभावकारी र गुणस्तरीय वातावरण सृजना गर्न सक्नु पर्दछ । राजनैतिक नेतृत्वमा भष्ट्राचारजन्य कार्यमा संलग्न आफन्त, व्यक्ति, समूह र पदाधिकारीलाई संरक्षण दिनेजस्ता विसङ्गतिलाई निर्ममतापूर्वक प्रहार गर्ने साहस हुनु पर्दछ । यसरी नै न्यायिक कार्यमा प्रतिबद्धता र सक्षम हुन सक्ने वातावरण तयार गर्न सके भ्रष्ट्राचार नियन्त्रणको लागि उच्च पारो बन्न सक्छ । 

पेसाकर्मीको भूमिका
भ्रष्टाचारका सम्बन्धमा जब काण्डहरू देखा पर्दछन् त्यस समयमा एकातिर भ्रष्टाचारको दोहोलो काढ्ने शक्तिको प्रयोग जादुको छडी र छुमन्तर जस्तो गरी दण्ड दिने ठुलो होहल्ला गरिन्छ भने अर्कोतिर काण्डमा संलग्न व्यक्तिहरूलाई कसरी चोख्याउन सकिन्छ भनेर दौडधुप सँगसँगै सुरुवाती गरेको व्यवहारमा पाइन्छ । भर्खरै सार्वजनिक नक्कली भुटानी शरणार्थी काण्डमा राजनीतिक दलका शीर्ष नेताहरूबाट संरक्षण गर्न दबाब दिएको विषयमा “म कसैको दबाबमा पर्दिन, कसैलाई छाड्दिन दूधको दूध पानीको पानी गर्छु” भन्ने फण्डा बहालवाला प्रधानमन्त्रीबाट सार्वजनिक अभिव्यक्ति दिनुले यो काण्ड सेलाउँदै उम्लँदै जिम्लिएको पानी जस्तो त हुने होइन ? भनेर सार्वजनिक बहस सुरुवात हुनुले आशङ्का सृजना गरेको छ । 

अर्कातिर सत्तारुढ दलकै सभापतिले दबाब दिनुभएको प्रति प्रधानमन्त्रीले अभिव्यक्ति सार्वजनिक गर्दा पुँजीवादी धार र त्यसका पुच्छर बनेका समाजवादी भनेर नथाक्ने लगायतका तथाकथित नामधारी कम्युनिष्ट भई खाएका नेता र कार्यकर्ताहरू कुन दुलोमा छिरेका छन् समय आएपछि खुल्दै जानेछ । त्यही दुलोभित्रबाट संवैधानिक परिषद्का विषयमा छलफलका लागि बोलाइएका विपक्षी दलका नेता के.पी. ओलीको भेटलाई भ्रष्टाचारीलाई संरक्षण र जोगाउने अभियानमा सिंहदरबार धाउँदै छन् भनेर ढोल पिटाउनुले आफैलाई लाज लाग्नुपर्ने होइन ? भनी सार्वजनिक भइरहेको छ । के.पी. ओली भन्नुहुन्छ “सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने” (Standing by the truth, dauntless against power) भनाइबाट भ्रष्टाचारीहरूका सम्बन्धमा पार्टीका कुनै पनि कार्यकर्ता, नेताप्रति उहाँको कुनै साइनो र सम्बद्ध छैन । सत्य, तथ्य र खोजलाई सधैँ आत्मसाथ गर्नेले संरक्षण त के न्यायले तथ्यगत पुस्ट्याइँ गर्ने कार्यमा पक्कै पनि पार्टी अध्यक्ष ओलीले सहयोग गर्नु हुने विश्वास गर्न सकिन्छ ।

नेपालमा राणाकालका जस्ता विविध काण्डैकाण्डले विगतका गलैँचा काण्ड, वाइड बडी काण्ड, चेज एयर काण्ड, ललिता निवास काण्ड, निर्मला हत्या काण्ड, लडाकु रकम काण्ड, नमिता सुमिता काण्ड आदि आदि अनेकौँ इतिहास बनाएको मुलुकले एक पटक चिरफार गर्नै पर्ने भएको छ । 

प्रणाली स्थापित गरी मुलुक चलाउने इतिहास बनाएर शासन गर्ने दलहरूले कि ? नयाँ उदाउँदै गरेकाहरूले ? गर्ने होडबाजी सुरु भएको छ । यस महारोगका लागि सिद्धान्त, विचार र नीतिविहीन दलहरू श्रावण–भाद्रमा बाढी आएजस्तो स्वदेशी मात्र नभएर विदेशमा ऐश÷आराम गरेर देशभक्तिको भीड जम्मा गर्ने अभियानका अभियन्ताबाट सम्भव हुने विषय होइन । विगतदेखि नै देश र जनताको पक्षमा शासन गर्ने नेकपा एमाले र नेपाली काँग्रेसले आफन्तमाथि निर्मम हुने अभियान चाल्ने हो भने सम्भव देखिन्छ । अन्यथा भीरबाट लड्न लागेको वस्तुलाई रामराम भन्न सकिएला काँध थाप्न सकिन्न ।

ठुला र साना माछाको विषय उठ्नु नराम्रो होइन । सियो होस कि फाली भ्रष्टाचार नै हो । साना माछा नै स्रोतको मूल भए त्यही नै जाल फ्याँकी बन्द गर्न सक्नु नै बुद्धिमान ठहर्ने छ । अन्यथा जे गर्दा पनि छुट दिँदै जाने हो भने सानो माछा बढ्दै ठुलो माछा हुने हो भन्ने ज्ञान हुनुपर्दछ । सबै पेसाकर्मीहरूको छाता सङ्गठन, पेसागत महासङ्घ, नेपाल Mossion Good Governance and Anti Corrution movement को अभियानमा छ । यस अभियानको अगुवाइ महासङ्घले गर्ने विषयमा साथ र सहयोगका लागि सबैप्रति आह्वान र अपिल समेत गरेको छ । भ्रष्टाचारलाई समूल नष्ट गर्न मूलमा नै प्रवेश गरी प्रहार गर्नुपर्दछ । सत्ता र शक्तिको आधारमा भ्रष्टाचार निर्मूलको कुरा गर्नु कथा वा उपन्यास जस्तै ठहरिन्छ । यसको न सिङ न पुच्छर हुन्छ । यो एउटा अद्भुत र महारोगको प्रवृत्ति हो भन्दा अत्युक्ति नहोला ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ९ : १८ बजे