आजदेखि प्रि-बजेटका बारेमा प्रारम्भिक छलफल सुरु हुने

काठमाडौँ  । आजदेखि तीन दिनसम्म प्रि-बजेटका बारेमा छलफल हुने भएको छ । 

आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले उक्त निर्णय गरे अनुसार आजबाट प्रि बजेटका बारेमा छलफल हुनेछ । जसअनुसार वैशाख २५ देखि २८ गतेसम्म प्रि बजेटका बारेमा छलफल हुने नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले जानकारी दिनुभयो ।  

उहाँका अनुसार प्रि–बजेटमाथि बिहान ११ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म छलफल गरिने र छलफलको अन्तिम दिन अर्थात् वैशाख २७ गते अर्थमन्त्री प्रकाशरण महतले जवाफ दिने गरी कार्य तालिका तय भएको छ । 

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व सन्ध्यामा राजनीतिक दलहरूले  प्रि बजेटका बारेमा छलफल सुरु गरेका छन् । गत बुधवार बसेको नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठकमा पनि सो बारेमा प्रारम्भिक छलफल भएको थियो ।

शुक्रवार र शनिवार पनि बसेको गठबन्धनको बैठकमा सरकारको आगामी बजेट तथा नीति तथा कार्यक्रमका बारेमा शीर्ष नेताका बिचमा प्रारम्भिक चरणका छलफल भइसकेको छ ।  शीर्ष नेताहरू यतिखेर सरकारका प्राथमिकताका बारेमा छलफल गरिरहेका छन् ।  

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ७ : ४० बजे