कम्बोडिया पठाइदिन्छु भन्दै ३१ लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले कम्बोडिया पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने गोरखा नगरपालिका–१० घर भई काठमाडौँको नयाँ बसपार्क बस्ने ३१ वर्षीय सुदीप लामा तामाङलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

कार्यालयका सूचना अधिकृत एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले वैदेशिक रोजगारीका लागि प्रतिष्ठित कम्पनीमा कम्प्युटर अपरेटरमा दुई लाख तलबमा काम लगाइदिन्छु भनी रु ३१ लाख ठगी गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको जानकारी दिनुभयो । 

तीन जना पीडितले वैदेशिक रोजगार विभागमा दिएको उजुरीका आधारमा तामाङलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । 

पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको सो कार्यालयले जनाएको छ । 

 

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ६ : २२ बजे