एमाले संसदीय दलको बैठक : नक्कली भुटानी शरणार्थीबारे छलफल

काठमाडौँ । नेकपा (एमाले)संसदीय दलको बैठकमा पार्टीको नेतृत्वलाई नक्कली भुटानी शरणार्थीलगायत विषयमा सांसदहरुले चासो देखाएका छन् । 

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा सांसदहरुले चासो राख्नुभएको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सो घटनामा संलग्न पार्टीका कुनै पनि व्यक्तिलाई संरक्षण नदिने र  अनुसन्धानमा पूर्णरुपले सहयोग पुर्‍याउने जानकारी गराउनुभएको उहाँले बताउनुभयो । 

“हामी कानुनी हिसाबले अनुसन्धानमा सहयोग गर्छौँ । तर छानबिनका क्रममा कुनै पनि पूर्वाग्रह नराखियोस्, छानबिनलाई सहयोग गर्छौँ, छानबिन पारदर्शी र तथ्यपरक हुनुपर्छ, राजनीतिक आग्रहबाट मुक्त हुनुपर्छ”, अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै सचिव भट्टराईले भन्नुभयो । 

बैठकमा संसदीय दलका नेता ओलीले आजदेखि सुरु भएको बर्खे अधिवेशनमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन, विषयवस्तुको राम्रोसँग अध्ययन गर्न, नियमित उपस्थित हुन र हरेक विधेयकदेखि आउने प्रस्तावमा गहन अध्ययन गर्न र ठोस् ढङ्गले प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिनुभयो । 

बैठकले जनस्तरमा उठिरहेका र दैनिक जीवनमा भोगिरहेका विविध समस्या समाधान गर्न प्रभावकारी ढङ्गले सदनमा आवाज उठाउने विषयमा पनि जोड दिएको छ ।  

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ४ : ०९ बजे