जनताले सांसदहरू तलब भत्ता खान मात्रै बैठकमा आउँछन् भन्न थाले : सभामुख घिमिरे

काठमाडौं – सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकमा सांसदहरुको कम उपस्थितिलाई लिएर आज मध्यान्ह बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कुरा उठाउनुभएको छ।

संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरुसँगको बैठकका क्रममा सभामुख घिमिरेले सांसदहरुका बारे जनगुनासो बढ्दै गएको बताउनु भएको हो ।

आफूले पनि संसद बैठकमा सांसदहरुको उपस्थिति कमजोर देखेको टिप्पणी सभामुख घिमिरेले बैठकमा गर्नुभयो । उहाँले भन्नुभयो, ‘संसदमा माननीयहरुको उपस्थिति कमजोर भएको छ। सांसद तलब भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ छ। दल तथा माननीयज्यूहरुलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउँदछु।’

घिमिरेले सरकार सदनप्रति उत्तरदायी हुन नसकेको समेत बताउनु भयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिलाई पनि कानून मन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराउँदछु ।’

घिमिरेले सांसदहरुको उपस्थिति बढाउने गरी अब इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गर्ने पनि बताउनु भयो । ‘संसद सचिवालयलाई ई-हाजिरीको तयारी गर्न र राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न निर्देश गर्दछु ,’ उहाँले बैठकमा भन्नुभयो ।

उहाँले संसद नियमावली अनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर जेठदेखि सुरु हुने बताउनु भयो । कानुनमन्त्री र मुख्य सचेतकसँग छलफल गरेर समय निर्धारण गरिने पनि उहाँले बताउनु भयो । 

सभामुख घिमिरेले संसदीय सुनुवाई समितिहरुसहित दुई संयुक्त समिति तीन दिनभित्र टुंग्याउनुपर्नेमा जोड दिनुभयो । समितिको नेतृत्व पनि यहीबीचमा टुंग्याउनुपर्ने उहाँले बताउनु भयो ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  २ : ०३ बजे