बाढीको स्थितिमा सुधार

भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीको खोजिकार्य जारी

काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुल गर्ने गिरोहसँग साँठगाँठ देखिएपछि पूर्व ऊर्जामन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको अहिले खोजिकार्य भइरहेको छ ।

बुधबार पक्राउ पुर्जी जारी हुँदा पूर्व ऊर्जामन्त्री रायमाझी अर्घाखाँचीको महेन्द्र विद्योदय माध्यमिक विद्यालयको हिरक महोत्सवमा विशेष अतिथिका रुपमा सहभागी भएका थिए । राति ९ बजे उनी भैरहवा विमानस्थलबाट काठमाडौँ फर्कने तयारीमा थिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा अनुसन्धान थाल्दा १२ चैतमा गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ पक्राउ परेका थिए । उनीहरूको बयानका आधारमा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । 

पूर्व ऊर्जामन्त्री रायमाझीले अनुसन्धानमा सहयोग गर्न आफैँ काठमाडौँ आउँछु भनेका थिए तर बिहीबार उनको गाडी लिएर चालक मात्र आए ।  जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले भने रायमाझीको खोजी जारी राखिएको बताएका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार रायमाझीले नक्कली शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै असुली गर्ने गिरोहका सदस्यलाई गृह प्रशासनसँग सम्बन्ध बनाइदिन र सहजीकरण गरेको भेटिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  १२ : ४८ बजे