प्रचण्डको व्यवहारबाट माधव नेपाल असन्तुष्ट, गठबन्धन धरापमा पर्ने चेतावनी

सुर्खेत । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको व्यवहारबाट आफूहरू मर्माहत भएको प्रतिक्रिया दिनुभएको छ । 

सुर्खेतको वीरेन्द्रनगरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा उहाँले माओवादीले आफूहरूलाई बाइपास गर्न खोजिए गठबन्धन धरापमा पर्ने बताउनुभयो । 

अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई बेवास्ता गरेर एकलौटी रूपमा सरकार चलाउने व्यवहार आफूहरूलाई स्वीकार्य नभएको प्रधानमन्त्री समेत रहनुभएका माओवादी अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै भन्नुभयो । आफूहरूसँग गठबन्धन टिकाउने क्षमता, खुबी र हिस्सेदारी रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले तर, आफूहरूलाई पीडा दिने खालको व्यवहार देखिसकेकाले मर्माहत भएको बताउनुभयो ।  

उहाँका अनुसार खास गरी कर्णालीमा माओवादीले एकीकृत समाजवादीलाई पूरै बेवास्ता गरेको छ ।  कर्णालीमा माओवादीको दम्भ र घमन्ड देखिएको भन्दै उहाँले एकीकृत समाजवादीलाई बाइपास गर्ने र दम्भ र घमन्ड देखाए गठबन्धन धरापमा पर्ने चेतावनी दिनुभयो। 

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ११ : ०५ बजे