अध्यक्ष तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री सम्देक टोको हुनसेनबीच भेटवार्ता भएको छ।

कम्बोडियाको औपचारिक भ्रमणमा रहनुभएका अध्यक्ष तिमिल्सिना र प्रधानमन्त्री हुनसेनकाबीच शिष्टाचार भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा कम्बोडिया र नेपालका बीच सिधा हवाई सेवा सञ्चालन गर्ने र द्वन्द्वत्तर दुई देशका बीचको शान्ति प्रक्रियाका अनुभवहरू आदान प्रदान गर्ने विषयमा छलफल भएको छ। 

सो अवसरमा अध्यक्ष तिमिल्सिनाले दुई तिहाइभन्दा बढी बौद्धमार्गी रहेको कम्बोडिया र गौतम बुद्धको जन्मस्थान नेपालका बीच सिधा हवाई सेवा सञ्चालन गर्दा त्यसले धार्मिक पर्यटनको विकास हुने धारणा राख्नुभयो । 

नेपाल गौतम बुद्धको जन्मथलो भएकाले नेपाल बौद्ध धर्मावलम्बीहरूको लागि महत्त्वपूर्ण गन्तव्य हो। गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय  विमानस्थलको निर्माण पूरा भई सञ्चालनमा आइसकेकोले नेपाल र कम्बोडियाबीच सिधा हवाई सम्पर्क स्थापित गर्न आवश्यक छ, उहाँले भन्नुभयो।

कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनले सिधा हवाई सेवा सञ्चालनका आफ्नो देश सकारात्मक रहेको बताउनुभयो ।  

गौतम बुद्धले देखाउनुभएको शान्ति र अहिंसाको बाटोका कारण बौद्ध धर्मका अनुयायीहरू विश्वभर बढेको अवस्थामा यसले शान्तिको सन्देश फैलाउन पनि सहयोग पुग्ने विश्वास दुवै जनाको थियो।

नेपाल र कम्बोडियाले इतिहास र वर्तमानमा  द्वन्द्वलाई नजिकबाट देखेका भोगेको हुनाले द्वन्द्वपछिको अनुभव आदान प्रदान गर्न पनि दुई पक्षीय सम्बन्ध  बिस्तारमा पनि जोड दिइएको छ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १० : १९ बजे