साफ यू–१७ च्याम्पियनसिप आजदेखि

वायु प्रदूषण व्यवस्थापन : हाम्रो बाध्यता कि अकर्मण्यता

विश्वका धेरै भागहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक छ। विडम्बना, नेपाल पनि अछुतो छैन । त्यसमा पनि विश्व बैंकको प्रतिवेदन अनुसार वायु प्रदूषणको अवस्था बढी खराब देखिएका विश्वका १० शहरमध्ये ९ त दक्षिण एसियामै छन् । विशेष गरी सघन जनसंख्या भएका र विपन्न सीमान्तकृतहरूको बसोबास भएका स्थानहरूमा वायु प्रदूषणको स्तर अत्यन्तै अस्वास्थ्यकर अवस्थामा रहेका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार हावाका अति सूक्ष्म ठोस तथा रसायनको मिश्रित रूपमा रहेको २.५ माइक्रोमिटर व्यासका कण (पार्टिकुलेट म्याटर- पिएम २.५) को मात्रा प्रति घनमिटर हावामा वार्षिक सरदर छ माइक्रोग्राम भन्दा बढी हुनु हुँदैन। स्मरणीय छ, सन् २०२१ सम्म डब्लुएचओको निर्देशिकामा पिएम २.५ को मात्रा हावामा १० माइक्रोग्राम प्रति घनमिटर रहेकोमा संशोधित नयाँ मापदण्डले यसलाई ५ मा पुर्‍याएको छ । पिएम २.५ हानीकारक कण भएकोले मानव शरीरमा प्रवेश पश्चात् यसले फोक्सोमा असर पुर्‍याई मानव स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने हुनसक्छ। तर दक्षिण एसियामा मात्रै करीब ६० प्रतिशत जनसंख्या वार्षिक सरदर ३५ माइक्रोग्राम प्रति घनमिटर भन्दा बढी हुने क्षेत्रमा बसेका छन्। अधिक जनसंख्या भएको "इन्डो-गंगा मैदान"को धेरैजसो स्थानमा त यो डब्ल्युएचओले स्वस्थ मानेको स्तरभन्दा २० गुणाले बढी छ अर्थात् १०० माइक्रोग्राम प्रति घनमिटर । 

नेपालको परिवेशमा वायु प्रदूषण वर्षेनी एक प्रमुख चुनौतीको रूपमा देखिन थालेको छ । वायु प्रदूषणले नेपाली जनतामा ठूलो असर परेको छ । हरेक वर्ष हिउँद र प्रि–मनसुन फागुनदेखि वैशाखसम्म वायु प्रदूषणमा वृद्धि हुने गरेको देखिन्छ । वायु प्रदूषण बढ्दो शहरीकरणको एक प्रमुख उदाहरण पनि हो जसले वातावरणमा प्रत्यक्ष असर पुर्‍याइरहेको छ । जनसंख्या वृद्धि, वायु प्रदूषण स्रोतहरूमा भएको वृद्धि र वातावरणीय नीति नियम र यसको प्रभावकारी कार्यान्वयनको अभावले आज नेपालको वातावरणमा परिरहेको प्रभावलाई हामी सबैले प्रत्यक्ष अनुभूत गरिरहेका छौं। 

डब्ल्युएचओका अनुसार वायु गुणस्तर सूचकांक ९एयर क्वालिटी इन्डेक्स(एक्यूआई) ५० भन्दा बढी रहेको वातावरण मानव स्वास्थ्यका लागि घातक मानिन्छ । एक्यूआई हावामा रहेका पिएम २.५ र पिएम १०, ओजोन, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइऑक्साइड र कार्बन मोनोअक्साइड उत्सर्जनको मापनमा आधारित हुन्छ । १० मध्ये ९ जनाले उच्च स्तरको प्रदूषक भएको हावामा सास फेर्ने देखाएको छ । डब्ल्युएचओकै तथ्याङ्क हेर्ने हो भने विश्वमा हरेक वर्ष ७० लाख मानिसले वायु प्रदूषणसँग सम्बन्धित रोगका कारण मृत्यु वरण गर्ने गरेका छन् ।त्यसमा पनि सन् २०१९मा मात्रै नेपालमा ४२,००० जनाभन्दा बढीको मृत्युको कारण वायु प्रदूषणजन्य रोगहरू रहेको अध्ययन प्रतिवेदनले देखाएको थियो ।यो कुरा सोझै नेपालीको औसत आयुसँग पनि जोडिन्छ र डब्ल्युएचओको मापदण्डलाई आधार मान्दा वायु प्रदूषणको कारणले नेपालीको आयु सरदार ४.१ वर्ष घट्न सक्ने आकलन पनि गरिएको अवस्था छ ।अनि काठमाडौंका बासिन्दाले औसतमा ३ वर्ष आयु गुमाउने बाटोमा हिंडिरहेको पनि अवस्था देखिन्छ ।

नेपालमा आगलागीका घटना धेरै हुने र वनजंगलमा डढेलो लाग्ने गरेको छ । वायु प्रदूषणको प्रमुख कारकको रूपमा यिनै घटनाहरू पनि रहेका छन् ।सयौं हेक्टर जमिन डढेको छ वा डढिरहेको छ । नेपालका १८ जिल्ला डढेलोको उच्च जोखिममा छन् । अधिकांश क्षेत्रमा डढेलो लागेर देशका धेरै स्थानमा एक्यूआई अत्यन्त खतरनाक अवस्थामा पुग्नु अब सामान्य झैँ देखिन थालेको छ । हालसालै मात्र पनि नेपालमा २२५ भन्दा बढी आगलागीका घटनाहरू रेकर्ड गरिएका छन्, त्यसमा पनि सबैभन्दा ठूलो ६०० हेक्टरभन्दा बढी वन नष्ट भएको देखिन्छ । गत वर्षको अवस्था हेर्दा वनजंगलमा १,८५७ सक्रिय आगलागीका घटनाहरू रेकर्ड गरिएका थिए, जुन सन् २००९ मा भएको ४,२१७ को तुलनामा अपेक्षाकृत कम संख्यामा थियो र असाधारण रूपमा सो वर्ष सुख्खा पनि थियो। वन तथा भू-संरक्षण विभागको तथ्यांक अनुसार नेपालमा बर्सेनि २ लाख हेक्टर वन क्षेत्र डढेलोले प्रभावित हुने गर्छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकलाई आधार मान्दा वि.सं. २०७२ र २०७७ मा सबैभन्दा बढी डढेलो लागेकोमा वि.सं. २०६४ यता ४१,००० भन्दा बढी डढेलोका घटना भइसकेका छन् । यो अवधिमा भएका भौतिक क्षतिको विवरण अनुसार ९८७ घर नष्ट भएका छन् भने १०० जनाभन्दा बढीको मानवीय क्षति भैसकेको छ ।

नेपालको बहुमूल्य सम्पदाको रूपमा रहेको वनजंगल जसको पुनस्स्थापना गर्न मात्र ६ दशकभन्दा बढीको अथक मेहनत र समय लागेको छ, अहिले आएर वर्षेनी आगलागीको चपेटामा परी विनाशको शृंखलाको साक्षी बनिरहेको अवस्था छ । अधिकांश मानवीय कारणले नै हाम्रा वनजंगलमा डढेलो लाग्ने गरेको पाइन्छ फलस्वरूप वन विनाश र वायु प्रदूषण बढ्दै गएको पाइन्छ । यसलाई जलवायु परिवर्तनसँग पनि जोड्न सकिन्छ । लामो समयसम्म वर्षाको कमीले मौसम सुक्खा हुने र तापमानमा अचानक वृद्धिको कारणले वनजंगलमा आगलागीको जोखिम अत्याधिक बढ्ने गर्छ ।

माथि उल्लिखित पृष्ठभूमिमा हामी सबैले देख्ने र भोग्ने गरेका काठमाडौं उपत्यकाको वायु प्रदूषण र समग्र वातावरणको वस्तुस्थिति अन्तर्निहित छ । काठमाडौँ उपत्यका नेपालको सबैभन्दा बढी जनसंख्या र जनघनत्व भएको विकसित महानगरीय क्षेत्र हो। तर यातायात, औद्योगीकरण र फोहोरमैलाको स्तर, घरायसी ऊर्जाका क्षेत्रहरू र भौगोलिक अवस्थाले गर्दा यस क्षेत्र आफैमा समस्याग्रस्त छ, जसबाट प्रदूषणका स्रोतहरूलाई बढावा मिलेको छ । उपत्यकामा मात्रै दैनिक १० लाख हाराहारीमा गुड्ने गरेका सवारीसाधनबाट हुने उत्सर्जनले वायु प्रदूषणको स्तरलाई बढाउने गरेको छ । कचौरा आकारको विशिष्ट भौगोलिक बनावट र गुम्म परिहाल्ने मौसम विशेष कारणले गर्दा उपत्यकाको आकाशमा जम्मा हुने धुवाँधुलोका कणहरूले स्थानीय तवरमा प्रतिकूल वायुमण्डलीय अवस्था सिर्जना गर्छ । प्रदूषणका स्रोतहरूको वृद्धिसँगै तिनीहरू सजिलै बाहिर निस्कदैनन् ।जसको फलस्वरूप वायुको प्रभाव कम हुनेबित्तिकै प्रदूषणको तह ह्वात्तै बढ्न थालिहाल्छ ।अनि काठमाडौँ विश्वको प्रदूषित शहरको सूचीको अग्रस्थानमा परिहाल्छ । पानी नपर्दा वातावरणमा भएको प्रदूषण रहिरहने तर पानी पर्न वा ठूलो हावा चल्न थालेपछि मात्र वायु प्रदूषणमा कमी आउने हुन्छ ।अर्को सोचनीय पक्ष के पनि छ भने नेपालमा प्रदूषणको स्तरमा सुधार हुने वा नहुने, वा प्रदूषणको समान स्तरको बीचमा मात्र उतार चढाव भइरहेको छ भन्ने अनिश्चितताको स्तरले प्रदूषणको विश्लेषणमा एक किसिमको बहस पनि सिर्जना गरेको हुन्छ।

काठमाडौं उपत्यका र नेपालको वायु प्रदूषणमा अत्याधिक वृद्धि हुँदै जानुले हामीलाई वर्षेनी प्रकृतिले संकेत गरिरहेको छ उपयुक्त कदम चाल्नका लागि । हालैका वर्षहरूमा वायु प्रदूषणको अवस्था बिग्रँदै गएको मुद्दामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायले चासो पनि राख्दै आएका छन्। तर हामी यस्तो भैसकेका छौं की जबसम्म विकराल अवस्थाबाट हामी गुज्रिदैनौ तबसम्म हामीमा तत्कालै केही गर्नुपर्छ भन्ने अग्रसरता देखाउने प्रयास गर्दैगर्दैनौ । विगतका विनासकारी प्राकृतिक प्रकोपले त हामीलाई अझै चेतको बोध गराउन सकेको छैन ।

नेपालमा समावेशी र दिगो विकासका लागि वायु प्रदूषणले महत्वपूर्ण चुनौती खडा गरेको छ। नेपालको संविधानले निर्दिष्ट गरेको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने प्रत्येक नागरिकको मौलिक अधिकारलाई दृष्टिगत गर्दा वायु प्रदूषणको बहुआयामिक असरका लागि सोही अनुरूपको वन्दोवस्त र व्यवस्थापन हुन नसक्नुले सिंगो वातावरण गम्भीर अवस्था उन्मुख छ । नीतिगतदेखि कार्यान्वयन तहसम्मको फितलोपन र हचुवापनले आम तदर्थवादी मनस्थितिलाई प्रतिविम्वित गर्ने मात्र होइन त्यसमा झन् मलजल हुँदै आएको छ । नागरिकको मौलिक अधिकारमाथि वायुको गुणस्तरबाट परिरहेको असरलाई समयमा नै सम्बोधन गर्न आवश्यक नीति, योजना र प्राथमिकतामा आधारित रहेर उपयुक्त कार्यक्रमको खाँचो टड्कारो छ । अनि वातावरणीय क्षेत्र र जैविक विविधतामा परेका क्षतिहरूलाई अब प्राकृतिक प्रकोपका घटनामा मात्र सीमित नराखी राष्ट्रमाथि बढ्दै गएको क्षतिको एकीकृत भारको अंश बनाउनु आवश्यक छ ।
 

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  २ : ५४ बजे