संविधानले मौलिक हक र कर्तव्यमा श्रमिकका अधिकार सुनिश्चित गरेको छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको श्रमिक आन्दोलनले अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई श्रमिकहरूको सम्मानित, सुरक्षित र समृद्ध जीवन प्राप्तिको उपलब्धिका रूपमा मनाउन पाएको बताउनुभएको छ ।

मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा स्वदेश तथा विदेशमा कार्यरत सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना सन्देश दिनुहुँदै अध्यक्ष ओलीले विगतका वर्षमा एमालेको सरकारले उद्यमी तथा श्रमिक दुवै पक्षबीच उच्च समझदारी कायम गरेको उल्लेख गर्नुहुँदै  त्यही समझदारीका कारण श्रमिकको न्यूनतम पारिश्रमिक इतिहासमै उच्च, ३९ प्रतिशतले वृद्धि भएको बताउनुभयो । 

उहाँले नियमित जसो औद्योगिक द्वन्द्वको पीडा झेलिरहेको नेपाली श्रम क्षेत्रमा हडताल र तालाबन्दीको समस्या अन्त्य भएको उल्लेख गर्नुहुँदै हाम्रो अर्थतन्त्रले तीव्र विकासको लय समातेको बताउनुभयो । 

“हाम्रै सरकारले श्रमिकको पारिश्रमिक बैङ्कमार्फत भुक्तानी गर्ने र काम गर्दाको समयमा वा सेवा निवृत्त भएपछिको जीवनलाई सुरक्षित गर्न योगदानमा आधारित सामाजिक सुरक्षाको सुरुवात गर्‍यो ।”, उहाँले भन्नुभयो,  “कोभिड—१९ महामारीको बेला सामाजिक सुरक्षा कोषमा आबद्ध सम्पूर्ण श्रमिकहरूको आयमा कमी नआओस् भनेर नै प्रत्येक श्रमिकको योगदान बराबरको रकम सरकारले नै कोषमा जम्मा गरिदिने व्यवस्था गर्‍यो ।”

उहाँले नेकपा (एमाले) त्यस्तो पार्टी हो, जसको सरकारले औद्योगिक प्रतिष्ठान र श्रमिकहरूका सरोकारहरूलाई सम्बोधन गरी सुस्थिर औद्योगिक वातावरण र श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सुनिश्चित गर्ने काम गर्‍यो भन्नुभयो । 

अध्यक्ष ओलीले एमालेको अगुवाइमा संविधानसभाद्वारा निर्मित नेपालको संविधानले मौलिक हक र कर्तव्यमा श्रमिकका अधिकार सुनिश्चित गरेको उल्लेख गर्नुहुँदै नयाँ श्रम ऐनमार्फत श्रमजीवी वर्गको सामाजिक सुरक्षा र रोजगारदाताहरूका लागि लचकतायुक्त श्रम बजारको सुनिश्चितता गरी औद्योगिक क्षेत्रमा अनावश्यक हडताल र सङ्घर्ष गर्नु नपर्ने अवस्था सिर्जना गरेको सन्देशमार्फत बताउनुभयो ।

नेकपा एमालेलाई सरकारबाट हटाइएपछि सम्मानित, सुरक्षित श्रम जीवन, स्वस्थ नागरिक, सीपयुक्त नागरिक मर्यादित काम र सामाजिक सुरक्षातर्फका पाइलामा अवरोध पुगेको उल्लेख गर्नुहुँदै अध्यक्ष ओलीले सामाजिक परिवर्तन, आर्थिक विकास र सुनिश्चित श्रम जीवन निर्माणको यात्रा अवरुद्ध हुन पुगेको बताउनुभयो । 

उहाँले नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्तिको रूपमा स्थापित गरेर मात्र हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सक्छौँ र रोकिएका समृद्धिका हाम्रा पाइलाहरूलाई अधि बढाउन सक्छौँ भन्नुहुँदै एमालेको यस अभियानमा सबैको साथ र ऐक्यबद्धता रहने छ भन्ने मेरो विश्वास व्यक्त गर्नुभयो ।

बितेका १ सय ३३ वर्षदेखि मे १ का दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै आएका छौँ । काम गर्नेमाथि काम लगाउनेहरूको ज्यादतीका विरुद्ध सन् १८८६ मा अमेरिकाको सिकागोमा पहिलो सङ्गठित मजदुर आन्दोलन भएको थियो त्यस आन्दोलनमाथि भएको चरम दमनको स्मरण गर्दै आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरामको मागसहित सन् १८९० देखि विश्वभरि श्रमिक दिवस मनाउँदै आएका छौँ।

 

 

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ७ : ४१ बजे