अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आज १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालमा ‘सामाजिक सुरक्षा, मर्यादित श्रम: श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मूल नारासहित मनाईदैछ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित विभिन्न राजनीतिक दलका मजदुर सङ्गठनको आयोजनामा विभिन्न कार्यक्रम गरी यो दिवस देशैभरि मनाईदैछ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारा स्थापित भएको दिनको सम्झनामा यो दिवस मनाइँदै आएको छ ।

मजदुरहरूले आन्दोलन गरिरहेको अवस्थामा सन् १८८६ मा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा अचानक बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको हो ? भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन सुरु गर्‍यो र, प्रहरीको सो दमनमा परी गोली लागि आन्दोलननरतत सात जना मजदुरको पनि मृत्यु भयो । प्रहरी दमनले त्यो आन्दोलन रोकिएन, झन् झन् चर्किँदै गयो । अन्ततः सो आन्दोलन सफल भयो र त्यसपछि मजदुरलाई आठ घण्टा मात्रै काम गराउन थालियो ।

त्यसको चार वर्षपछि सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताहरूको  संयुक्त बैठक बस्यो । सो बैठकले बैठकले सोही दिनको सम्झनामा विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । 

त्यसपछि सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो । 

नेपालको विराटनगरमा विसं २००७ मा पहिलो मजदुर आन्दोलन भएको थियो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसको अवसरमा सार्वजनिक बिदा दिन थालिएको हो । 

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ६ : ३४ बजे