साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

महावीर पुनद्वारा दोस्रो रात पनि माइतीघर मण्डलाको सडकमा सुतेर प्रदर्शन 

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले दोस्रो रातमा पनि माइतीघर मण्डलामा सुतेर प्रदर्शन गर्नुभएको छ।

शुक्रवारदेखि ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामबाट आन्दोलनमा उत्रनुभएका पुनले शनिवार रातभर माइतीघर मण्डलामा सुतेर प्रदर्शन गर्नुभएको हो । 

शनिवार दिउँसोदेखि नै मुसलधारे पानी परे पनि पुनको टोली भने कठयाङिद्रो चिसोमा त्रिपालमुनि बसेको थियो । उहाँले त्यसको भिडियो पनि सार्वजनिक गर्नुभएको छ ।  ‘धर्ना जारी छ र हुनेछ, आज राती पनि यतै सुत्ने हो’ शनिवार साँझ नै उहाँले जानकारी दिँदै भन्नुभएको थियो ।

शनिवार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछाने तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवि मिश्रलगायत उहाँको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर मण्डलामा पुग्नुभएको थियो ।   

शुक्रवारको रात पनि माइतीघर मण्डलाको सडकमा नै सुतेर कटाए थिए । 'लु', हामी चाहिँ माइतीघर मण्डलाको सडकमा रात भर सुतेर उठ्यौँ, जनताहरू सुती रहनुहोस् र नेपाल सरकारलाई मज्जाले सुत्न दिइरहनु होस्,’ पुनले शनिवार बिहान जानकारी दिँदै भन्नुभएको थियो, ‘के त होला र ? केही चिन्ता छैन, हद्दै भए यही नेपाल ता जाला, पृथ्वी ता रही रहन्छ नि ।’ 

आविष्कार केन्द्रका प्रमुख पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ को कार्य अघि बढाउनुपर्ने तथा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष सङ्घीय र प्रदेश सरकारले कम्तीमा १ प्रतिशत रकम छुट्याउनुपर्ने लगायतका माग राखेर उहाँ आन्दोलनमा उत्रनुभएको हो।

गत २०७६ सालमा ल्याएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिमा पनि कोष स्थापना गर्ने परिकल्पना गरिएको तथा त्यसमा १ अर्ब रुपैयाँ राखेर नवप्रवर्तन कोष सञ्चालन गरिने भनिए पनि सो बारेमा सरकारले कुनै काम कारबाही अघि नबढाएपछि आक्रोशित पुनः आन्दोलनमा होम्मिनुभएको हो । 

‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारसँग तपाईँको सन्तानको, तपाईँको भावी सन्ततिको र मातृभूमिको भविष्य जोडिएको छ,’ आन्दोलनमा जानु अघि उहाँले भन्नुभएको थियो, ‘वैशाख १५ गते शुक्रवारदेखि माग पुरा नहुँदा सम्म माइतीघर मण्डला र बबरमहल क्षेत्रबाट नेपाल सरकारलाई घुँडा टेकाउने गरी आन्दोलन गर्न सम्पूर्ण नेपालीहरूलाई आह्वान गर्दछु ।’ 

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ७ : ४५ बजे