महावीर पुनको आन्दोलनलाई समर्थन जनाउँदै मुलुकका विभिन्न ठाउँमा प्रदर्शन

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा काठमाडौँको माइतीघरमा जारी आन्दोलनलाई समर्थन जनाउँदै देशैभरीबाट ऐक्यबद्धता जनाउन सुरु भएको छ । 

शनिवार साँझ पथलैया र सिमराका युवाले पुनको आन्दोलनलाई समर्थन जनाउँदै महेन्द्र राजमार्गको सडक खण्डमा प्रदर्शन गरेका छन् भने नेपालगन्जस्थित त्रिभुवन चौकमा पनि स्वतः स्फूर्त रूपमा प्रदर्शन भएको छ ।  

‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक जनआन्दोलन’को नारा लिएर माइतीघर मण्डलामा गत शुक्रवारदेखि धर्नामा बस्नुभएका पुनको आन्दोलनलाई समर्थन जनाउँदै युवाहरूले देशैभरीबाट क्रमशः प्रदर्शन सुरु गरेका हुन्। 

‘इलाम, सिमरा, चितवन, नेपालगन्ज र पोखरामा पनि अनुसन्धान, नवप्रवर्तन र आविष्कारको जनआन्दोलनको समर्थनमा आन्दोलन गरिरहेको समाचार आएको छ,’ पुनले आफ्नो आन्दोलनको समर्थनमा भएका प्रदर्शनबारे जानकारी दिँदै भन्नुभएको छ , ‘इच्छा हुनेहरूले जहाँ र जे जसरी पनि आन्दोलन गरे हुन्छ ।’ 

पथलैया र सिमरामा प्लेकार्डसहित प्रदर्शन गर्दै पुनले उठाएका मागलाई सरकारले तत्कालै सम्बोधन गर्नुपर्ने प्रदर्शनकारीहरुले उल्लेख गरेका छन् । प्ले कार्डसहित स्वतःस्फूर्त रूपमा क्रमशः सडकमा प्रदर्शनकारी आउन थालेका हुन् । सिमराका युवाहरूले भने दैनिक एक घण्टा सिमराको चोकमा प्रदर्शन गर्ने जनाएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ७ : ३१ बजे