ग्राभेल उत्खननमा रोक लगाएको भन्दै प्रमुख प्रशासकीय अधिकृतमाथी हातपात

सिरहा – सिरहामा ग्राभेल उत्खननमा रोक लगाएको भन्दै ग्राभेल माफियाहरुले प्रमुख प्रशासकीय अधिकृतमाथी हातपात गरेका छन् । पछिल्लो समय ग्राभेलको हवको रूपमा परिचित रहेको जिल्लाको धनगढिमाइ नगरपालिकामा अबैध रुपमा संचालनमा रहेको ग्राभेल खानी उत्खननमा रोक लगाएको भन्दै  ग्राभेल माफियाहरुले प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेमाथी हातपात गरेका हुन । 

अधिकृतसहित अन्य कर्मचारीहरुलाई गालीगलौज गर्नेहरुमाथि कार्वाहीको माँगगर्दै  कर्मचारीहरुले अनिश्चित कालको लागी कामकाज ठप्प गर्ने घोषणा गरेका छन्।

कमलामाई सप्लायर्स धनुषका संचालक वेचन शर्माको नेतृत्वमा आएका ५/७ जनाको समूहले शुक्रवार अपरान्ह कार्यकक्षमै प्रमुख प्रशासकीय अधिकृत गेलालमाथि हातपात गर्नुका साथै अन्य कर्मचारीलाई समेत गाली गलौज गरेको भन्दै कार्वाहीको माँग गर्दै कार्यालयको सम्पुर्ण काम काज अनिश्चित कालको लागि बन्दगर्ने घोषणा गरेको छ। 

पालिकाले ग्राभेल उत्खनननमा रोक लगाएको भन्दै शर्माको नेतृत्वमा आएका धनगढीमाई नपा १२ का महेश अधिकारी, वडा नम्वर ४ का रामएकवाल यादव ९वतहा० सहित आएका ५÷७ जनाको समूहले प्रमुख प्रशासकीय अधिकृत गोपाल ललालाई कार्यकक्षमा थुनेर हातपात गर्नुका साथै गाली गलौज गरेको भन्दै कर्मचारीहरुद्वारा नगरप्रमुखलाइ दिइएको  माँगपत्रमा उल्लेख गरिएको छ।

कर्मचारीहरुद्वारा जारी माँग पत्रमा, ‘उच्छृखल समूह प्रमुख प्रशाकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी ढोका थुनेर अस्थायी रुपमा खानी बन्द भएको विषयलाई लिएर किन खानी बन्द गरीस्? खानी बन्द गर्ने अधिकार तलाई कसले दियो ?भन्दै अपशब्द प्रयोग गरी गालीगलौज गरी पानीको बोतल प्रहार गर्दै हात पात समेत गरेको छ।’

ठेकेदारहरुले ग्राभेल जथाभावी उत्खनन गरेको र राजश्व समयमा नतिरेको भन्दै नगरपालिकाले पटक पटक उत्खननमा अस्थायी रोक लगाउँदै आएको छ।

‘नगर प्रहरी र सेवाग्राहीको सहयोगमा बल प्रयोग गरी निजहरुलाई मुस्किलले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट वाहिर निकाले पनि प्रमुख प्रशाकिय अधिकृत एवम् कर्मचारीमाथि अपशब्द प्रयोग गरी गाली गलौज गरेको घटना प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको कर्मचारीद्वारा जारी माँग पत्रमा उल्लेख गरेको छ।

कार्यालय समयमा प्रमुख प्रशाकिय अधिकृत र कर्मचारी कोही पनि सुरक्षित नभएको र उक्त घटनाको दोषी माथि कारवाही नभएसम्म यस नगर पालिकाको कार्यालय तथा वडा कार्यालयमा कार्यत हामी सम्पूर्ण कार्मचारीहरुलाई शान्ती सुरक्षाका व्यवस्था नभएसम्मको लागि कामकाज गर्न असमर्थ रहेको उल्लेख गरेको छ।

घटनाको बारेमा प्रमुख प्रशासकिय अधिकृत बगालेसँग सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन्।

यस सम्वन्धमा धनगढीमाई नगरपालिका १२ नम्वर वडाका वडा अध्यक्ष तथा प्रवक्ता जय प्रकाश ठाकुरसँग बुझ्दा उनले आफूले अझै आधिकारीक जानकारी नपाएको भन्दै घटनाको विषयमा अन्यत्रबाट जानकारी पाएको बताए। 

यो क्षेत्रमा विकास निर्माणको नाममा मनपरी अबैध रुपमा ग्राइभेल उत्खनन गर्दै आएको छ । यस प्रति नगरपालिका तथा प्रहरी प्रशासन समेतको उदासिन देखिएको बताइन्छ ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ७ : ०६ बजे