कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई धरानमा अवरोध

धरान । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई प्रदर्शनकारीले धनकुटाको भेडेटार जान अवरोध गरेका छन्। एमालेको कोशी प्रदेशभरिका केन्द्रीय सदस्यहरूको बैठकमा सहभागी हुन जाने क्रममा पहिचानवादी पक्षधरले अवरोध गरेपछि उहाँ धनकुटा जान सक्नु भएन ।भेडेटारको नाम्जेमा एमालेले आयोजना गरेको कार्यक्रममा एमाले स्थायी समिति सदस्यसमेत रहनु भएका मुख्यमन्त्री नाम्जे जाने कार्यक्रम थियो। 
मुख्यमन्त्री नाम्जे जाने भएपछि सुनसरी प्रहरीले धरान, इटहरी, दुहबी र चारकोसे जंगलमा ब्यापक प्रहरी परिचालन गरेको थियो। तर, कोशी प्रदेश खारेजीको माग राखेर पहिचानवादीहरू सडकमा आन्दोलन उत्रिएपश्चात् मुख्यमन्त्रीको धनकुटा जाने कार्यक्रम स्थगित भएको प्रहरीले बताएको छ। 

सुनसरीका प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले सुनसरीको बाटो हुँदै पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली आउने खबर प्राप्त भएका कारण सुनसरीको सुरक्षा ब्यवस्था कडा पारिएको बताए। 

उनले भीआइपीहरूलाई सुरक्षा प्रदान गर्नु प्रहरीको कर्तव्य भएको बताए। एसपी ढकालले सडकमा भेला भएर शान्ति सुरक्षा खलबल बनाउने जोकोहीलाई पनि कडा कारबाही गर्ने चेतावनी दिए। 

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ४ : २५ बजे