एमालेको मिसन ग्रासरुट : केही अनुभव, केही सिकाइ

नेकपा (एमाले)ले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान समापनको चरणमा छ । ७ सय ५३ वटै स्थानीय तहमा विशेष जिम्मेवारी बोकेर पुगेका केन्द्रीय नेताहरू आफ्ना विविध अनुभव बोकेर घर फर्कँदै हुनुहुन्छ । पार्टीको आगामी केन्द्रीय कमिटीको बैठकले ती अनुभव र सिकाइलाई संश्लेषण र वस्तुनिष्ठ विश्लेषण गर्नेछ र आगामी बाटो तय गर्नेछ । एउटै काम, घटना र प्रक्रियाबाट व्यक्तिले फरक अनुभव र सिकाइ प्राप्त गर्ने यथार्थ हुँदाहुँदै पनि आम रूपमा समान सिकाइ र अनुभव हुनु नितान्त स्वाभाविक छ । समस्याको पहिचान भएपछि मात्र ती समस्याको समाधान गर्न सकिन्छ । 

क) विचारको क्षेत्रमा गर्नुपर्ने काम
​​​​​​​भन्न परोइन, नेकपा (एमाले) मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने पार्टी हो । विडम्बना नै भन्नुपर्छ, पार्टीका आधारभूत तहका नेता–कार्यकर्तामा मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादलाई गहिरो रूपमा बुझ्ने र त्यसलाई आफ्नो जीवनमा व्यवहारिक उतार्ने अवस्था बनिसकेको छैन । त्यति मात्र होइन, उनीहरूमा आफू वरिपरिको समाजलाई सही ढङ्गले बुझ्ने र व्याख्या गर्ने क्षमता राम्ररी विकास हुन सकेको छैन । रोजा लक्जेम्बर्ग भन्दथिन्,’कसैले गर्न सक्ने सबभन्दा क्रान्तिकारी काम भनेकै आफू वरिपरिको समाजमा के भइरहेको छ भन्नेबारे ठुलो स्वरमा बोल्न सक्नु हो ।‘ वैचारिक अध्ययन र प्रशिक्षणको अभावमा पार्टीका धेरै नेता–कार्यकर्ताहरू देश र समाजमा घटिरहेका घटनाहरूको बुझाइ र व्याख्या फरक–फरक हुने गरेको छ । द्वन्दात्मक भौतिकवादी विश्व दृष्टिकोणको अभावमा समाजमा विद्यमान वर्ग सङ्घर्षको स्वरूप, पार्टीको कार्यनीति र रणनीति र समाजवादी लक्ष्यमा अविचलित रहने इमान्दारीप्रतिको बुझाइमा पनि एकरूपता कायम हुन सकेको छैन । विगतमा एमालेले नियमित वैचारिक प्रशिक्षण गर्दै आएकोमा एमाले–माओवादी एकता अवधिमा आधारभूत तहमा वैचारिक काम हुन सकेन । 

कम्युनिष्ट पार्टी निर्माणको सबभन्दा शक्तिशाली हतियार वैचारिक हतियार नै हो । कार्यकर्ता र श्रमजीवी जनतामा निरन्तर विचारको प्रवाह हुन सकेन भने पार्टी मजबुत हुन सक्दैन । ‘हामीले कसरी अध्ययन गर्ने भन्ने बिर्सेनौँ भने मात्र हामी विजयी हुनेछौँ’, रोजा लक्जेम्बर्गकै भनाइलाई मान्ने हो भने नेता–कार्यकर्ताले अवसरको खोजीमा भौँतारिनुभन्दा व्यवस्थित वैचारिक अध्ययन र त्यसलाई आफ्नो जीवन व्यवहारमा लाग्नु आवश्यक छ । साथै पार्टीले अविलम्ब माथिदेखि तलसम्म व्यवस्थित वैचारिक अभियान सञ्चालन गर्न आवश्यक छ ।

ख) साङ्गठनिक व्यवस्थापन
नेकपा (एमाले) सबभन्दा ठुलो साङ्गठनिक सञ्जाल भएको पार्टी हो । देशको दक्षिणपन्थी शक्ति र वामपन्थी–अवसरवादी शक्तिको लागि एमालेको साङ्गठनिक सञ्जाल सधैँ टाउको दुखाइको विषय बनेको छ । ईर्ष्याको विषय बनेको छ । तर एमालेको त्यो सञ्जाल अपेक्षाकृत सबल र व्यवस्थित हुन सकेको छैन । आधारभूत तहका कतिपय पार्टी कमिटीहरू कागजी कमिटीबाट माथि उठ्न सकेका छैनन् । पार्टी कामलाई अगाडि बढाउन चाहने पार्टी कमिटी पनि विधानले व्यवस्था गरिदिएको भीमकाय आकारको कारण नियमित बैठक बस्ने, योजना बनाउने र बनाएको योजना कार्यान्वयन गर्ने अवस्थामा छैनन् । कमिटीमा बस्न मरिहत्ते गर्ने तर जिम्मेवारी बहन गर्न आनाकानी गर्ने प्रवृत्तिका कारण पार्टी काम गर्न चाहने कार्यकर्तामा ‘काम गरे पनि हुने, नगरे पनि हुने भएपछि किन काम गर्ने’ भन्ने नकारात्मक भावना पलाउँदै गएको देखिन्छ ।

करिब दुई दर्जनको सङ्ख्यामा रहेका पार्टीका जनसङ्गठन आधारभूत तहमा पुग्न सकेका छैनन् । केन्द्रमा भारी भर्कम संरचना भए पनि पालिका र वडा तहमा तिनीहरूको साङ्गठनिक उपस्थिति शून्य प्रायः छ । जनसङ्गठनका जिल्ला तहका कमिटीहरू वैचारिक र साङ्गठनिक रूपमा व्यवस्थित नहुँदा तिनीहरूले आधारभूत तहमा आफ्नो साङ्गठनिक सञ्जाल विस्तार र व्यवस्थित गर्न सकेका छैनन् । कतिपयले त सङ्गठन निर्माण गर्न जनताको घरदैलोमा जाने कठिन बाटोभन्दा आफ्नो अवसर र फाइदाको लागि अमुक नेताको घरमा धाउने सजिलो बाटो रोजेको देखिन्छ । 

कतिपय ठाउँमा ‘सही मानिस सही ठाउँमा’ भन्ने नीति कार्यान्वयन हुन नसकेको, पार्टीमा समाहित भएको ठुलो पङ्क्ति जिम्मेवारीविहीन अवस्थामा रहेको र कमिटी निर्माण हुँदा सम्बन्धित क्षेत्रको समाज कमिटीमा प्रतिबिम्बित हुन नसकेको जस्ता समस्या पनि दृष्टिगोचर भए ।

ग) अन्तर विरोधको व्यवस्थापन
नेकपा (एमाले)को केन्द्रमा अहिले कुनै गुटबन्दी छैन । विगतमा जस्तो विचारलाई सिरानी बनाएर वा अमुक नेतालाई धुरी बनाएर गरिने गुटबन्दी एमालेमा छैन । त्यही कारणले देशका दक्षिणपन्थी र वामपन्थी–अवसरवादी शक्तिको संयुक्त घेराबन्दीमा पनि पार्टीले एक प्रमुख राष्ट्रिय शक्तिको हैसियत कायम गर्न सकेको हो । तर जिल्ला–जिल्लामा र पालिका–पालिकामा अमुक नेताको आडमा बन्ने समूहबीच अन्तर विरोध कायम छ । कतिपय ठाउँमा जातीय, क्षेत्रीय र लिङ्गिय अन्तर विरोधहरू पनि विद्यमान छन् । पार्टीभित्र अवसर पाएका र नपाएका, टिकट पाएका र नपाएका, उपभोक्ता समितिहरूमा बस्न पाएका र नपाएका कार्यकर्ताबीच भुसको आगोझैँ अन्तर विरोध झाँगिँदै गएको पाइएको छ । मिसन ग्रासरुटको क्रममा अन्तर विरोध समाधान भएका पालिका र वडा तहका कमिटीको प्रभावकारिता कैयौँ गुणा बढेको पाइएको छ । 

घ) आर्थिक इमानदारीको सवाल
पूर्वीय शास्त्रमा लेखिएको छ, ’सर्वेषामेव शौचानाम् अर्थशौच परंतपम् ।‘ पार्टीभित्र र पार्टीबाट जनप्रतिनिधिको रूपमा निर्वाचित जनप्रतिनिधिहरूले देखाउने आर्थिक इमानदारीले जनताको मन सजिलै जित्न सकिन्छ । गर्वको कुरा हो कि एमालेबाट राजकीय जिम्मेवारी पाएका कसैले भ्रष्टाचारको मुद्दा खेप्नुपरेको छैन । 

एमाले विरोधीहरूले एमालेका नेता–कार्यकर्तालाई फसाउन गरेका भगीरथ प्रयत्नहरू सफल हुन सकेका छैनन् । तर आर्थिक शुद्धीकरण, पारदर्शिता, इमानदारीमा समस्त एमालेजन निरन्तर अग्निपरीक्षामा समावेश हुनै पर्दछ । सार्वजनिक सम्पत्ति प्रतिको निस्पृहता र सोको जगेर्ना एमालेबाहेक कसैले पनि गर्न सक्दैन । पार्टी कमिटीको चुस्त दुरुस्त हिसाबकिताब राख्ने, आवधिक सार्वजनिक गर्ने, श्रमजीवी वर्गकै आनासुकीले पार्टी सञ्चालन गर्ने, फजुल खर्च नगर्ने, चुनावमा भोट किनेर जित्ने प्रथा विरुद्ध अभियान चलाउने र साधा जीवन उच्च विचारका नेता कार्यकर्ता उत्पादन गर्ने पार्टी एमालेबाहेक अरू हुनै सक्दैन ।

उपचुनावमा पार्टीले पाएको मतलाई लिएर मिसन ग्रासरुटको प्रभावकारितामाथि प्रश्न उठाइए पनि यो अभियानले छोटो समयमा एमालेलाई नयाँ जीवन दिएको छ । सुनसरी जिल्लामा खटिएका एक अभियन्ताले ‘मिसन ग्रासरुटले एमालेको होल बडी चेक अप र उपचार गर्ने लक्ष राखे पनि छोटो समय र अन्य कतिपय कारणले सुगर र प्रेसर मात्र हेर्न भ्याइयो’ भनी गरेको टिप्पणी यहाँ मननयोग्य छ । प्राप्त उपलब्धिमा टेकेर थप उपलब्धिको लागि अगाडि बढ्ने एमालेको जीवन पद्धति हो ।

(लेखक नेकपा एमालेका केन्द्रिय सदस्य हुनुहुन्छ ।)

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ८ : ०४ बजे