साफ यू–१७ च्याम्पियनसिप आजदेखि

एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौँ – आज एकसाथ तीन चलचित्र प्रदर्शनमा आएको छ । ‘प्रसाद २’, ‘नाई नभन्नु ल ६’ र ‘कैदीको पत्र’ वैशाख १५ मा प्रदर्शनमा आएका हुन् । 

गत सोमबार काठमाडौँमा गरिएको प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको ‘प्रसाद २’ शृङ्खलाबद्ध रूपमा आएको चलचित्र हो । ‘प्रसाद’ कै कथालाई अगाडि बढाइएको लेखक सुशील पौडेलले जानकारी दिनुभयो । 

अभिनेता विपीन कार्कीले बाबुराम र अभिनेत्री केकी अधिकारीले नारायणीको भूमिका निर्वाह गर्नुभएको छ । सहरमा घटेका घटनाक्रमलाई साथ रहेर सामना गरेका बाबुराम दम्पती गाउँ फर्किने तयारी गर्छन् । देशमा आएको परिवर्तन गाउँसम्म पुगेको आशमा सुखी जीवन बिताउने सपना बोकेर उनीहरू आफ्नै थलोमा फर्किन्छन् । उनीहरू बस्ने गाउँलाई सुन्दरबस्ती भनिए पनि त्यहाँ विभेद कायम नै छ । मूल कथा प्रेम बनाइए पनि परिवर्तनलाई संस्थागत गर्न राजनीतिको सहायता लिइएको छ । सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रमा अर्पण थापा, महेश त्रिपाठी, विशाल पहाडी, कमलमणि नेपाललगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

नेपालमा शृङ्खलाको रुपमा चलचित्र निर्माणको सुरुआत गर्ने ‘नाई नभन्नु ल’ को छैटौँ शृङ्खला प्रदर्शनमा आएको छ । विगतमा निर्माण भएका पाँच शृङ्खलाले दर्शकको मन जितेपछि निर्देशक विकासराज आचार्यले पटकथाकार सामीप्यराज तिमल्सेनासँगको सहकार्यमा यसलाई तयार गर्नुभएको हो । 

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ४ : ०८ बजे