दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विश्व कार्य सुरक्षा र स्वास्थ्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आज विश्व कार्य सुरक्षा तथा स्वास्थ्यका लागि विश्व दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

हरेक वर्ष अप्रिल २८ तारिखमा मनाइने यो दिवस नेपालमा पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को संयुक्त आयोजनामा विभिन्न तालिम र जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।

दिवसका अवसरमा मन्त्रालय र आइएलओले संयुक्त रूपमा ‘सुरक्षित तथा स्वास्थ्य कार्य वातावरण, एक मौलिक अधिकार’ शीर्षकमा पोष्टरको सार्वजनिकीकरण समेत गरेको छ । मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले कार्य सुरक्षा र स्वास्थ्यका लागि राज्यका सबै अङ्ग परिचालित हुनुपर्ने बताउनुभयो ।  

उहाँले भन्नुभयो, “कानुनसँगै नीति र फ्रेमवर्कसमेत बनेको छ । सुरक्षित र स्वास्थ्य कार्यक्षेत्रको वातावरण बनाउन समग्र प्रणालीको विकास हुनुपर्छ । सोहीअनुसार विभिन्न सरोकारवाला निकायका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिँदै छ ।”

आइएलओसँगको सहकार्यमा मन्त्रालयले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी कार्यक्रम बनाइरहेको उहाँले जानकारी दिनुभयो । “व्यवसायजन्य रोगको जोखिम र उपचारका लागि फ्रेमवर्क बनाइरहेका छौँ”, उहाँले भन्नुभयो । नेपालमा सरकारले २०५२ सालमा ‘व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी आयोजना’को स्थापना गरेको थियो । यस आयोजनालाई नेपाल (मन्त्रिपरिषद्) को २०७५ सालको निर्णयअनुसार व्यवसायजन्य  सुरक्षा तथा स्वास्थ्य केन्द्रको रूपमा रहने गरी २०७५ साउन १ गतेदेखि स्थायी सङ्गठन संरचना स्वीकृत भएको थियो ।

श्रमिकले अझै पनि कार्यस्थलमा सुरक्षित महसुस गर्न नसकेको नेपाल टे«ड युनियन महासङ्घ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले बताउनुभयो । “कार्यथलो सुरक्षित महसुस गरेका छैनौँ”, उहाँले भन्नुभयो, “कार्यस्थल जति स्वच्छ, राम्रो र सुरक्षित हुन्छ त्यसले उत्पादकत्व क्षमता पनि बढाउँछ । तर रोजगारदाताले कार्यस्थलमा कामदारको सुरक्षा र स्वास्थ्यमा लगानी गर्नु भनेको खर्च र घाटा मात्र ठान्नुहुन्छ ।”

कार्यस्थल वरपरका समुदाय तथा वातावरणमा पर्न सक्ने प्रभावलाई दृष्टिगत गर्दै कार्यस्थलभित्र वा कार्यस्थलबाट कामदारको स्वास्थ्य तथा कल्याणमा उत्पन्न हुने सक्ने जोखिमको पूर्वानुमान, पहिचान, मूल्याङ्कन तथा जोखिम नियन्त्रण गर्ने विज्ञानलाई व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य हो ।

सन् २००३ देखि सुरक्षित, स्वास्थ्य र सभ्य कामलाई बढवा दिन यो दिवस मनाइँदै आएको छ । यस वर्षको नारा ‘सकारात्मक, सुरक्षित र स्वास्थ्य संस्कार निर्माणका लागि सामूहिक पहल गरौँ’ रहेको छ ।

श्रम ऐन, २०७४ मा रोजगारदाताले कार्यस्थलमा श्रमिकको सुरक्षा र स्वास्थ्यसम्बन्धी नीति बनाउनुपर्ने,  सुरक्षा तथा स्वास्थ्य समिति बनाउनुपर्ने व्यवस्था छ । व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य नीति, २०७६ मा रोजगारदाताले कार्यस्थलमा रासायनिक, भौतिक वा जैविक पदार्थ वा उपकरणको प्रयोग, सञ्चालन, सञ्चय र परिवहन गर्दा सुरक्षा र स्वास्थ्यमा प्रतिकूल असर नपर्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था छ । श्रमिकलाई तालिमसँगै सुरक्षा साधन उपलब्ध गराउनु रोजगारदाताको कर्तव्य हो । उक्त नीतिले  श्रमिकलाई सङ्क्रामक रोग नियन्त्रण र व्यवसायजन्य रोगको उपचारसम्बन्धी व्यवस्था गरेको छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन ९आइएलओ०को तथ्याङ्कअनुसार हरेक वर्ष ३७ करोड ४० लाख श्रमिक कामसम्बन्धी दुर्घटनामा पर्छन् । विश्वमा हरेक वर्ष १६ करोड श्रमिक व्यवसायजन्य रोगबाट प्रभावित छन् । यस्तै २७ लाख ८० हजार श्रमिकको कामसम्बन्धी दुर्घटना र व्यवसायजन्य रोगका कारण मृत्यु हुने गरेको छ । विश्वमा प्रत्येक दिन सात हजार छ सयभन्दा बढी श्रमिकको कामसम्बन्धी दुर्घटनाका कारण मृत्यु हुने गरेको छ ।रासस

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ७ : ५६ बजे