कपन घटना : सीसीटीभीमा देखियो शंकास्पद गतिविधि!

काठमाडौं । राजधानीको व्यस्त बजार  कपन सरस्वीतनगरस्थित आफ्नै भाँडा पसलमा हत्या गरिएकी निरा पाण्डे आचार्यको अनुसन्धानमा खटिएका प्रहरी टोलीहरुले अहिलेसम्म कुनै महत्वपूर्ण उपलिब्ध हासिल गर्न सकेका छैन।  हत्याकाण्ड  भएकाे एक साता बित्न लाग्दासमेत  घटना अझैरहस्यको गर्भमै छ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा हुने गरेका जघन्य अपराधका घटनाहरु अनुसन्धान गर्ने जिम्मा पाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी, जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त बौद्धलगायतको टोली अहिले घटनाकाे अनुसन्धानमा जुटिरहेकाे छ।

म्यानुअल अनुसन्धानदेखि सीसीटीभी फुटेज, बीटीएस टावरमा कनेक्ट भएका मोबाइलका विवरणहरु समेतलाई आधार मानेर प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ। त्यसैगरी पटके अपराधीहरु, चोरी गर्ने गिरोह, लागुऔषध सेवनकर्तादेखि पारिवारक मान्छेहरुमाथि समेत निगरानी गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

वैशाख ७ गते दिउँसो एक महिला नीराको पसलमा पुगेकी थिइन्। ती महिलाले नीरालाई नदेखेपछि उनका श्रीमान योगेन्द्र आचार्यलाई फोन गरेर नीरा पसलमा नभएको जानकारी गराएकी थिइन्। योगेन्द्रले नीरा पसलमै हुनुपर्ने, त्यहीं होला हेर्नु त भनेपछि ती महिला पसलभित्र प्रवेश गरेर हेर्दा नीरा रक्ताम्य भएर भुईंमा ढलेकी थिइन्। 

पसलको काउन्टर पछाडि रक्ताम्य अवस्थामा नीरालाई देखिपछि प्रहरी कन्ट्रोलमा फोन गरेर घटनाबारे जानकारी गराइएको थियो। त्यसपछि लगत्तै पौने ४ बजे प्रहरी प्रभाग कपनबाट इन्स्पेक्टर स्मृति सिलवालको टोली घटनास्थल पुगेको थियो। 

रक्ताम्य अवस्थामा ढलेकी नीरालाई उपचारका लागि भनेर त्रिवि शिक्षण अपस्ताल पठाइएको थियो। तर डाक्टरले उनलाई मृत घोषणा गरिदिए। उनको शरीरका १८/२० ठाउँमा धारिलो हतियारका चोटहरु थिए। काउन्टर पछाडिको भुईंमा उनी मृत भेटिएकी थिइन्।

सीसीटीभीमा शंकास्पद गतिविधि
पसलमा सीसीटीभी जडान नगरेको पाइएको छ।  पसलमा सीसीटीभी नभएपछि वरपरका सीसीटीभी फुटेजमार्फत अहिले प्रहरीले अनुसन्धान बढाइरहेको छ। अनुसन्धानका क्रममा केही पर मोटरसाकलमा आएकामध्ये एक जना झरेर नीराको भाँडा पसलतर्फ गएको देखिन्छ। यद्यपि, ती व्यक्ति नीराको पसलमा छिरे/छिरेनन् भन्ने दृश्य सीसीटीभीले कैद गरेको देखिँदैन। नीराको पसलको दृश्य सीसीटीभीको मनिटरिङ क्षेत्रभन्दा टाढा रहेको पाइएको छ। 

मोटरसाइकलबाट झरेर शंकास्पद रुपमा अघि बढेको देखिएपछि प्रहरीले ती व्यक्तिमाथि अनुसन्धान अघि बढाएको छ। प्रहरी स्रोतका अनुसार ती व्यक्ति पठाओ चढेर त्यहाँ पुगेको पाइएको छ। 

योसँगै प्रहरीले नीराका आफन्तहरुमाथि पनि निगरानी गरिरहेको छ। घटना कसरी हुन पुग्यो, चोरी गर्ने हिसाबले भयो कि, अन्य सम्बन्ध छन् कि भन्ने पाटोबाट पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

निराको पसलभन्दा करिब २ सय मिटर पर उनका श्रीमान् योगेन्द्रको पसल छ। तर राजधानीमा दिउँसो व्यस्त बजारमा हत्या हुँदासमेत वरपरका कसैले पनि सुईंको नपाएपछि घटना निकै रहस्यमय बन्दै गएको छ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ४ : २७ बजे