पश्चिम नवलपरासीबाट भन्सार छलेर ल्याइएको ४२० बोरा चिनी बरामद

​​​​​​चितवन ।  भन्सार छलेर ल्याएको १६ लाख मूल्य बराबरको चिनी बोकेको ट्रकसहित एक जना पक्राउ परेका छन् ।

 

पश्चिम नवलपरासी प्रहरीले भन्सार छलेर ल्याउँदै गरेको ट्रक पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाटबाट नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेका अनुसार भन्सार छली गरी भारतबाट आउँदै गरेको ना ६ ख २९०३ नम्बरको ट्रकलाई नियन्त्रणमा लिइएको छ । नियन्त्रण लिइएको ट्रकबाट बरामद भएको चिनीको मूल्य करिब १६ लाख रुपैयाँ देखिएको छ । 

उक्त ट्रकमा रहेका ४२० बोरामा २१ टन अर्थात् २१ हजार केजी चिनी रहेको र सो बरामद चिनी थप कारबाहीका लागि पश्चिम नवलपरासी प्रहरीले आन्तरिक राजस्व कार्यालय ,बुटवलमा पठाइएको छ । 

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ९ : ५९ बजे