दक्षिण एसियाकै पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन

काठमाडौं। प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २४ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । अधिकारी दक्षिण एशियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्ष हुनुहुन्थ्यो।

अधिकारीको नाम लिनासाथ आम मानिसको दिमागमा सरलता, इमान र निष्ठाको एउटा बेग्लै बिम्ब निर्माण हुन्छ । राजनीतिज्ञ कस्तो हुनुपर्छ र उसको जीवन कसरी बित्नुपर्छ भन्ने उदाहरण खोज्दा मनमोहन अधिकारी समकालीन राजनीतिको एउटा ‘रोल मोडल’का रुपमा स्थापित हुनुहुन्छ ।

विसं २०५१ मा प्रधानमन्त्री निर्वाचित अधिकारी नेतृत्वको लोकप्रिय सरकारकै जगमा एमाले र कम्युनिष्ट आन्दोलनले विशाल रुप लिएको थियो । अधिकारीकै ९ महिने सरकारको पालामा वृद्धभत्तालगायतका सामाजिक सुरक्षाका कार्यक्रम,र ‘आफ्नो गाउँ, आफैं बनाउँ’र ‘नौ स’को अभियानजस्ता अभियान सुरू भएका थिए । अधिकारी नै त्यस्तो प्रधानमन्त्री हुनुहुन्छ, जसले प्रधानमन्त्रीका रुपमा इतिहासमा पहिलोपटक भारतसँग सन् १९५० को असमान सन्धि पुनराबलोकनका लागि औपचारिक प्रस्तावसमेत गनुभएको थियो ।

नेपालका सर्वाधिक लोकप्रिय प्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा आजकै दिन निधन भएको थियो ।

बिक्रम संबत १९७८ असार १५ गते काठमाडौंको लाजिम्पाटमा पिता रामचन्द्र अधिकारी र माता पूर्णकुमारीका जेष्ठ पुत्रका रुपमा जन्मिनुभएका मनमोहन अधिकारीले भारतीय स्वतन्त्रता संग्रामबाट आफ्नो राजनीतिक जीवन आरम्भ गर्नुभएको थियो । भारतबाट अंग्रेजी साम्राज्य हटाउन सन् १९४२ मा भएको ‘भारत छोडो’ आन्दोलनमा सहभागी भएर डेढ बर्ष जेल परेर पर्नुभएका मनमोहन अधिकारी भारतीय स्वतन्त्रता संग्राममा योगदान गर्ने सीमित नेपाली नेताहरुमध्ये एक हुनुहुन्थ्यो ।

विक्रम सम्बत् २००३ साल फागुन २१ बाट शुरु भएको बिराटनगरको मजदुर आन्दोलनको नेतृत्व गर्दै नेपाली राजनीतिमा क्रियाशील रहनुभएका अधिकारी नेपाल कम्युनिष्ट पार्टीभन्दा पनि जेठो कम्युनिष्ट हुनुहुन्थ्यो । किनकि, उहाँले भारतमा रहँदा नै त्यहीँको कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरिसक्नुभएको थियो । २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना हुँदा संलग्न हुन नपाए पनि उहाँ २०१० सालमा आयोजित नेकपाको प्रथम राष्ट्रिय महाधिबेशनबाट महासचिवमा निर्वाचित हुनुभएको थियो ।

देश तथा विदेशमा गरी १४ बर्ष जेल जीवन बिताउनुभएका मनमोहन अधिकारीले लामो समय नेकपा (माक्र्सवादी) मार्फत् पञ्चायतविरोधी संघर्षमा नेतृत्व गनुभएको थियो । २०४७ सालमा नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीचको एकताबाट बनेको नेकपा (एमाले) को अध्यक्ष बन्नुभएका पूर्व प्रधानमन्त्री अधिकारी त्यसउप्रान्त लगातार एमाले अध्यक्ष रहिरहनुभयो ।

अधिकारी ०४८ सालको आम निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएकाे थियाे भने ०५१ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित भई प्रधानमन्त्री बन्नुभएकाे थियाे ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ८ : ५० बजे