सहरी क्षेत्रमा बसोबास गर्नेको जनसंख्या ६६ प्रतिशत, गाउँमा ३३ प्रतिशत

काठमाडौं – राष्ट्रिय तथ्यांक कार्यलयले स्थानी तहमा आधारित तथ्यांक सार्वजनिक गरेको छ । कार्यलयमा आज पत्रकार सम्मेलन आयोजना गरेर जनगणना २०७८मा संकलन गरिएको स्थानीय तहको तथ्यांक सावर्जनिक गरिएको हो ।

विभागका उप तथ्यांक अधिकारी नेविनलाल श्रेष्ठले नेपालमा (महानगर,उपमहानगर र नगरपालिका) मा बसोबास गर्ने जनसंख्या ६६ प्रतिशत रहेको र गाउँपालिकामा बसोबास गर्ने जनसंख्या ३३ प्रतिशत जनसंख्या रहेको बताउनुभयो ।

कार्यलयका जनगणना शाखा प्रमुख ढुण्डिराज लामिछानेले जनगणना २०७८ ले देखाएका मुख्य मुख्य नतिजाहरु प्रष्तुत गर्नुभएको थियो ।

तथ्यांक कार्यलय स्रोतका अनुसार सहरी र ग्रामिण जनसंख्या विभाजन गर्दा कतिपय सहरी क्षेत्रका जनसंख्याले आधारभुत सहरी सुविधा समेत नपाएको भनेर गुनासो आउने भएपछि नगरपालिका र गाउँपालिकामा बसोबास गर्ने जनसंख्या छुट्याइएको हो । २०७८ को जनगणना अनुसार २सय ९३ वटा नगरपालिकामा १ करोड ९२ लाख ९६ हजार ७ सय ८८ रहेको छ । यो कुल जनसंख्याको ६६.२ प्रतिशत हो । यसैगरी ४ सय ६० वटा गाउँपालिकामा ९८ लाख ६७हजार ७ सय ९० जनसंख्या बसोबास गर्दछ । यो जनसंख्याको १७.१ प्रतिशत हो ।

नेपालका संविधान जारी भएपछि २०७४ सालमा भएको स्थानीय तहको पुनसंरचनाका कारण नगरपालिकाको संख्या बढेकोले नगरबासी जनसंख्या २०६८ मा भएको १३ प्रतिशत जनसंख्याबाट ६६ प्रतिशत पुगेको हो । हिमाली क्षेत्रमा मात्र नगरपालिका भन्दा गाउँपालिकामा बस्ने मानिसहरुको जनसंख्या धेरै छ । जहाँ ६४.४ प्रतिशत जनसंख्या गाउँमा बस्छन् भने ३५.७ प्रतिशत जनसंख्या सहरी क्षेत्रमा बसोबास गर्दछन् । पहाडमा ६३.३ प्रतिशत जनसंख्या नगरक्षेत्रमा बस्दछन् भने ३६.७ प्रतिशत जनसंख्या ग्रामिण क्षेत्रमा बसोबास गर्दछन् । तराईमा ७१.८ प्रतिशत नगरक्षेत्रमा बसोबास गर्दछन् भने २८.२ प्रतिशत जनसंख्या ग्रामिण क्षेत्रमा बसोबास गर्दछन् ।

कार्यलयका प्रवक्ता एवं उपतथ्यांक अधिकारी श्रेष्ठका अनुसार २०४८ साल देखि नगरपालिकाको संख्या ९ दोब्बरले बढ्यो भने जनसंख्या ७ दोब्बरले बढेको छ । ३० वर्ष अघि नेपालको सहरी क्षेत्रमा ९ प्रतिशत जनसंख्या बसोबास गर्दथ्यो । त्यतीबेला ३३ वटा नगरपालिका थिए । २०५८ सालमा यो जनसंख्या १३.९ प्रतिशत पुगेको थियो । यस बेला नगरपालिकाको संख्या ५८ वटा थियो । २०६८ सालमा नगरक्षेत्रको जनसंख्या १७ प्रतिशत थियो । जनगणनाका बेला पनि नगरपालिकाको संख्या ५८ वटै थियो । २०७८ सालमा नगरक्षेत्रको जनसंख्या ६६.२ प्रतिशत थियो ।

पत्रकार सम्मेलनमा प्रमुख तथ्यांक अधिकारी रामप्रसाद थपलियाले कार्यलयले प्रकाशन गरेको तथ्यांकको सञ्चार माध्यम,राजनीति र विष्लेषकहरुले विभिन्न दृष्टिकोणले विष्लेषण गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  १० : ०० बजे