बारा–२, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचनका लागि मतदान सुरु

​​​​​​​काठमाडौँ । उपनिर्वाचनका लागि मतदान सुरु भएको छ ।

निर्वाचन आयोगका अनुसार बारा–२, चितवन–२ र तनहुँ–१ मा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।

चितवन–२ बाट विजयी रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले पुनः उम्मेदवारी दिनुभएको छन् भने नेकपा एमालेबाट रामप्रसाद न्यौपाने तथा नेपाली काँग्रेसबाट जीतनारायण श्रेष्ठका विचमा त्रिपक्षीय भिडन्त हुने मानिएको छ । 

यसैगरी, बारा–२ वाट विजयी रामसहाय यादव उपराष्ट्रपतिमा तथा तनहुँ–१ वाट विजयी रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो । 

बारा–२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहा मुख्य प्रतिस्पर्धीका रूपमा देखिनुभएको छ भने तनहुँ–१ मा नेकपा एमालेका सर्वेन्द्र खनाल, नेपाली काँग्रेसका गोविन्द भट्टराई र स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेलाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ७ : ४६ बजे