श्रीमतीलाई आगो लगाएर हत्याको प्रयास

काठमाडौं – दाइजो नदिएको भन्दै धनुषामा श्रीमतिलाई आगो लगाएर हत्या गर्ने प्रयास गरेको घटना बाहिरिएको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-२० देवपुरा रुपैठाकी २८ वर्षीया श्वेता झाको शरीरमा उनका श्रीमान राजिव झासहित परिवारका अन्य सदस्यहरु मिलेर आगो लगाएर हत्या गर्ने प्रयास भएको घटना बाहिरिएको हो ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार गराइरहेकी श्वेताले श्रीमान राजिवले परिवारका अन्य सदस्यको सहयोगमा आफ्नो शरीरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको आरोप लगाउनु भयो ।

श्वेताले आफूलाई श्रीमान राजिव, ससुरा शिवशंकर झा, सासु र देवर लगायतकाले कुटपिट गर्दै शरीरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको बताउनु भयो । गत वैशाख १ गते राजिवले ९ वर्षीय छोरालाई कुटपिट गरिरहँदा छोरालाई बचाउने क्रममा उनले श्वेतालाई पनि कुटपिट गर्दै आफ्नो भाइ, बुबा र आमाको सहयोगमा उनको शरीरमा आगो लगाइदिएको श्वेताको आरोप छ।

राजिवको परिवारले आफूलाई मरणासन्न हुनेगरी कुटपिट गरेर शरीरमा आगो लगाएपनि यतिका दिनसम्म उपचारका लागि अस्पताल समेत नल्याएको बताउनु भयो । घटनाबारे थाहा पाएपछि भारत विहारको दरभंगास्थित पोठिया माइती रहेकी श्वेताका बुबा जयकुमार झा, भाइलगायतका आफन्तले उनलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएका छन् । श्वेताको घाँटीभन्दा तलको ३५ प्रतिशत भाग जलेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ८ : ३३ बजे