साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बैठक बहिष्कार गर्ने वडाध्यक्षहरुसँग हर्क साम्पाङले मागे राजीनामा

काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले विकासे बैठकहरू बहिष्कार गर्ने र आफ्ना कर्तव्य पूरा नगरेको भन्दै केही वडाध्यक्षहरूलाई राजीनामा दिन आग्रह गरेका छन्।

धरान उपमहानगरपालिकाका केही वडा अध्यक्षहरूले कार्यपालिका बैठक बहिष्कार गरेपछि साम्पाङले विज्ञप्ति जारी गर्दै राजीनामा मागेका हुन्।

धरान उपमहानगरमा लामो समयदेखि कार्यपालिका बैठक बस्न सकेको छैन।

विज्ञप्तिमार्फत उनले भनेका छन्, ‘कार्यपालिकामा रहने सबैका लागि कार्यपालिका बैठक बस्नै पर्ने हामी सबैको कर्तव्य हो। यो कसैको अधिकार, रहर या चाहनाको कुरा होइन। यो वाध्यकारी कर्तव्य रहेको कुरा बोध गराउन चाहन्छु।’

‘कसैले ‘म बैठक बस्दिनँ’ भन्न पाइँदैन। त्यसैले कर्तव्य पूरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रशस्त बनाई आम धरानबासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ,’ उनले थपेका छन्।

उनले वडाध्यक्षहरूले पार्टीको ह्वीपलाई जनताको हितभन्दा ठूलो मानेर विकासे बैठकहरू बहिष्कार गरेको आरोप समेत लगाए।

उनले भने, ‘देश र जनताको सेवा गर्छु। आफ्नो कर्तव्य पूरा गर्छु। कुनै पार्टी, जाति, धर्म, वर्ग, क्षेत्र भन्दा माथि उठेर काम गर्छु।’ भनी खाएको सपथ बिर्सेर पार्टीको ह्वीपलाई जनताको हित भन्दा ठूलो मान्ने र जनताको विकासका कामहरु गर्ने गराउन निर्णय गर्नुपर्ने महत्वपूर्ण बैठकलाई बहिष्कार गर्नेहरु प्रति खेद प्रकट गर्छु।’

साथै विज्ञप्तिमा भनिएको छ, ‘विगत केही महिनादेखि बिना कुनै खास कारण पटक पटक कार्यपालिका बैठक बहिष्कार गरेर जनादेशको अपमान गर्दै जनताको सुशासन र विकास पाउनु पर्ने अधिकार माथि खेलबाड गरिरहेको र आफ्नो कर्तव्य पूरा नगरेको अवस्था अवगत गराउन यो विज्ञप्ति जारी गर्न वाध्य भएको छु।’

‘वडाहरुमा के कस्ता योजना तथा कार्यक्रमहरु सम्पन्न भए भन्ने जानकारी मागेको भन्ने कुरालाई लिएर असहमति राखिरहन पर्ने कुनै कारण नभएको तर उल्टै संविधानको धारा २७ मा उल्लेखित सूचना पाउने नागरिकको मौलिक हक दिन नमानेको देखिएकोले बढाहरूमा के कस्ता काम भएका छन् तुरुन्तै सार्वजनिक गर्न यही विज्ञप्ति मार्फत निर्देशन दिन्छु।’

मेयर साम्पाङले आफूहरुको सहमतिबिना काम गरेको र बैठकमा कसैलाई आफ्ना कुरा राख्न नदिएको भन्दै वडाध्यक्षहरू आन्दोलित भएका थिए।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ४ : ४३ बजे