शुक्रवार रातिदेखि नेपाल-भारत सीमा नाका बन्द हुने

बारा । बाराको क्षेत्र नं.२ मा वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअघि नेपाल-भारत सीमा नाका बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै ८ वैशाख शुक्रवार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजेसम्म जिल्लाका भारतीय सिमाना बन्द रहने जनाएको हो । 

यस्तै मङ्गलवार राति १२ः०० बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्म जिल्लाभरि सबै प्रकारका मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा समेत रोक लगाएको छ । 

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाद्वारा जारी सूचनामा बारा क्षेत्र नं.२ भित्र पर्ने हुलाकी राजमार्ग लगायत सम्पूर्ण राजमार्ग ९ वैशाख राति १२ः०० बजेबाट १० गते साँझ ७ः०० बजे सम्मका लागि सम्पूर्ण आवागमन बन्द गर्ने भनिएको छ ।

एम्बुलेन्स, दूध तथा औषधि बोकेका सवारी, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शव वाहन, अस्पताल सेवा, सुरक्षा निकायका सवारी साधनहरू तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा, कूटनीतिक नियोगका सवारी र अनुमति प्राप्त बाहेकका सवारी सञ्चालनमा रोक लगाइएको छ ।

उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष , पारदर्शी, भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षालाई दृष्टिगत गरी स्थानीय प्रशासन ऐन २०२८ को प्रावधान अनुसारको आदेश गरिएको हो ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  ११ : ०० बजे