सुख्खा खडेरीमा वन डढेलोका कारण वायु प्रदूषण

पृथ्वीमा रहने मानव तथा जीवन धारण गरेका प्राणी जगतको लागि वन क्षेत्रको  ज्यादै महत्त्व रहन्छ ।  वन जङ्गललाई पृथ्वीको फोक्सो हो भन्ने गरिन्छ । जैविक विविधता हाम्रो जीवन हो, बन जङ्गल यसको आधार हो । वनस्पतिले प्राणी जगतको लागि अक्सिजन दिन्छ, वायुमण्डलमा भएको कार्बनडाइअक्साइड शोषण गरेर आफ्नो खाना आफै बनाउँदछ त्यसैले वातावरणलाई शुद्धीकरण गर्दछ । 

सूक्ष्म प्राणीदेखि ठुला ठुला वन्यजन्तुहरूको जीवन बन जङ्गल, सिमसार तथा जलाशयहरूमा बढी मात्रामा पाइन्छ । मानव जीवन, वनस्पति तथा प्राणी जगतको पारस्परिक घनिष्ठ सम्बन्ध रहेको हुन्छ । यसले पारिस्थिकीय प्रणालीमा ज्यादै महत्त्व राख्दछ । वन र वनस्पतिले  माटोलाई भू–क्षय हुनबाट जोगाउनुको साथै बाढी तथा पहिरो नियन्त्रणको काम गर्दछ, पानीका मुहानहरूलाई जोगाउँदछ, हरियाली  तथा सुन्दरता कायम राख्दछ । जैविक विविधताले कृषि उत्पादनलाई बढाउँदछ । नेपाल कृषि प्रधान देश भएकाले कृषि, पशुपालन तथा दुग्ध व्यवसायको वन क्षेत्र सँग घनिष्ठ सम्बन्ध रहेको छ ।

किसानहरूलाई दैनिक चाहिने दाउरा, घाँस, स्याउला, काठ, गैर काष्ठ वन पैदावार, औषधिजन्य जरीवुटी, खाद्यवस्तु तथा घर गोठ निर्माणलाई चाहिने कच्चा पदार्थ र चरिचरण वन क्षेत्रबाट नै प्राप्त हुन्छ ।  जैविक विविधता विना जीवन र जगतको सम्भावना हुँदैन यसको लागि वन क्षेत्रको संरक्षण गर्नु अति आवश्यक छ । 

प्राकृतिक सुन्दरताले भरिपूर्ण विश्वमा नै प्रख्यात नेपाल प्राकृतिक सम्पदा र वन जङ्गलले भरिएको देश हो । नेपालमा वन क्षेत्रले ५९ लाख ६२ हजार हेक्टर भू–भाग ओगटेको छ । नेपालको कुल क्षेत्रफलको करिब ४० दशमलव ३६ प्रतिशत जमिन वन जङ्गलले ढाकेको राष्ट्रिय तथ्याङ्कले देखाउँदछ । 

नेपालको कुल क्षेत्रफल मध्ये वन क्षेत्र र अन्य काष्ठ तथा बुट्यान क्षेत्र दुवैले गरी ४४ दशमलव ७४ प्रतिशत भू–भाग ओगटेको छ ।  यहाँ धेरै किसिमका वनस्पति भएका वन जङ्गल पाइन्छन् जसमा महत्त्वपूर्ण प्रजातिका रुख बिरुवाहरूको बाहुल्यता रहेको छ । ती हुन् उष्ण प्रदेशीय सदाबहार जङ्गल, समशीतोष्ण पतझर जङ्गल, शीतोष्ण कोणधारी जङ्गल, लेकाली वनस्पतिय जङ्गल  र टुन्ड्रा वनस्पतिय क्षेत्र । उष्ण प्रदेशीय सदाबहार जङ्गल, समशीतोष्ण पतझर जङ्गल र शीतोष्ण कोणधारी जङ्गल फरक फरक महत्त्वपूर्ण बहुमूल्य काठजन्य वनस्पति तथा गैर काष्ठ वन पैदावारले भरिपूर्ण छ भने लेकाली वनस्पतिय जङ्गल र टुन्ड्रा बनस्पतीय क्षेत्र औषधिजन्य जडीबुटीले भरिपूर्ण छन् । 

कुल वन क्षेत्रफलको ३७ दशमलव ८० प्रतिशत मध्य पहाडी भौगोलिक क्षेत्रमा, ३२ दशमलव २५ प्रतिशत उच्च पहाडी तथा उच्च हिमाली क्षेत्रमा, २३ दशमलव ०४ प्रतिशत चुरे क्षेत्रमा र ६ दशमलव ९० प्रतिशत तराई क्षेत्रमा अवस्थित छ । 

यसैगरी अन्य काष्ठ तथा बुट्यान क्षेत्र मध्ये तराई, चुरे, मध्य पहाडी र उच्च पहाडी तथा उच्च हिमाली भौगोलिक क्षेत्रहरूमा क्रमशः १ दशमलव ४७ प्रतिशत, ३ दशमलव ५० प्रतिशत, ९ दशमलव ६१ प्रतिशत, र ८५ दशमलव ४२ प्रतिशत रहेको छ ।  कुल वन क्षेत्रफल मध्ये संरक्षित क्षेत्र भन्दा बाहिरको भागमा ४९ लाख २९ हजार हेक्टर (८२ दशमलव ६८ प्रतिशत ) र संरक्षित क्षेत्रमा १० लाख ३३ हजार हेक्टर (१७ दशमलव ३२ प्रतिशत ) वन रहेको पाइएको छ । संरक्षित क्षेत्रको भित्री भागमा ७ लाख ९३ हजार हेक्टर र मध्यवर्ती क्षेत्रमा २ लाख ४० हजार हेक्टर   वन क्षेत्र रहेको पाइएको छ । 

नेपालको कुल आम्दानीमा वन क्षेत्रको भूमिका १५ प्रतिशत रहेको छ । नेपालको वनको दिगो व्यवस्थापन गरी सही सदुपयोगद्वारा वनमा आधारित उद्योग तथा वनजन्य उद्योगको स्थापना गर्न सकेमा नेपाली जनताका दैनिक आवश्यकता पुरा हुनुका साथै रोजगारीको अवसर पनि सृजना गर्न सकिन्छ । आफ्नो देशमा चाहिने काठ बाहेक धेरै भएको बहुमूल्य काठ तथा काष्ठ पैदावार बाह्य देशहरूमा निर्यात गर्न सकेमा राष्ट्रलाई अर्थतन्त्रको क्षेत्रमा ठुलो टेवा पुग्ने देखिन्छ । त्यसरी नै नेपालमा पाइने जडीबुटी तथा सुगन्धित तेल निकाल्न मिल्ने वनस्पतिहरूको संरक्षण, दिगो व्यवस्थापन र स्वदेशमा नै प्रशोधनको विकास गर्न सकेमा  रोजगारीको सिर्जनाका साथै प्रशोधित बस्तु निकासीले ठुलो धनराशि जम्मा गर्न सकिने सम्भावना छन् ।  त्यसैले हरियो वन नेपालको धन भनिएको हो ।

नेपालमा वन जङ्गल अतिक्रमण, फडानी, काठ तथा वन्यजन्तु चोरी निकासी, वन डढेलो, अति चरिचरन तथा खोरिया फडानी, गैर काष्ठ वन पैदावार र बहुमूल्य जडीबुटीहरूको अति उत्खनन वन क्षेत्रका समस्याका रूपमा रहेका छन् । यी क्रियाकलापहरूको सबैभन्दा बढी प्रतिकूल प्रभावहरू अन्य भौगोलिक क्षेत्रहरूको तुलनामा चुरे भौगोलिक क्षेत्रको बनमा भएको पाइएको छ, जसमध्ये चरिचरन, वन डढेलो, पहिरो र झाडी कटानी प्रमुख हुन् । वन जङ्गलमाथि हुने धेरै किसिमका ज्यादती मध्ये वन डढेलो सबैभन्दा विनाशकारी मानिन्छ, जसले वन,वन्यजन्तु,जैविक विविधता र माटोलाई समेत नष्ट गर्दछ । नेपालमा वर्षेनि वनमा आगलागी हुने गर्दछ । वनमा आगो रुखहरूको घर्षणबाट, गोठालाहरूको लापरबाही, चुरोटका ठुटाबाट तथा घाँस उमार्ने मनसायले जानीजानी डढेलो लगाउने प्रवृत्तिबाट, वनभोज गर्न तथा मनोरञ्जन  गर्न जङ्गलमा जाने आगो राम्रो सँग ननिभाइ फर्कने मुख्य कारण हुन् ।  

वन डढेलो तिन किसिमको हुन्छ, ती हुन् ग्राउन्ड फायर, सरफेस फायर तथा क्राउन फायर । ग्राउन्ड फायरले जमिन भित्रको काठ, जैविक बस्तुहरू, कोइला, माटो तथा जराहरूलाई नष्ट गर्दछ, सरफेस फायरले पात पतिङ्गर,झाडी र स्यापलिङ्ग अवस्थाका बोटहरूलाई तथा जडीबुटीलाई नष्ट गर्दछ भने क्राउन फायरले काण्ड तथा क्राउनकभरलाई नै सखाप पार्दछ । 

नेपालको तराई क्षेत्रका वन जङ्गलमा ग्राउन्ड फायर र सरफेस फायर लाग्दछ भने चुरे तथा मध्यपहाडि क्षेत्रमा सरफेस फायर तथा क्राउन फायर लाग्दछ र उच्च पहाडी क्षेत्रका कोणधारी जङ्गलमा क्राउन फायरले बर्षेनि ठुलो क्षति पुर्‍याउँदै आएको  छ । लामो खडेरी, सुख्खा हावा र व्यवस्थापनको कमजोरीका कारण वन तथा जैविक विविधता माथि परेको चर्को असरको ज्वलन्त उदाहरण हो।

वि.सं. २०७२ साल फाल्गुण र चैत्र महिनामा लागेको डढेलो, जसले नेपालका धेरै वन जङ्गलहरूको नोक्सानी भयो । वन र वनस्पति, काठ र गैर काष्ठ मात्र होइन यसबाट वन्यजन्तुहरू तथा जैविक विविधताका साथै धनजनको समेत नोक्सानी भयो । पहाडी क्षेत्रमा गाउँसँग जोडिएका सामुदायिक वनहरूमा लागेको आगोबाट वन र वनस्पति मात्र होइन, घर गोठ र चौपायाहरू समेत डढेर ठुलो क्षति बेहोर्नु परेको तथ्य हामी सबैलाई जानकारी नै छ । 

झन्डै तीन दशक लगाएर संरक्षण गरी हुर्काइएका सामुदायिक वनहरू वनजन्य उत्पादनको दिगो विकास गरी आत्मनिर्भर बन्ने अवस्थामा समुदाय पुगेकै बेला क्षणभरमा खरानीमा परिणत हुनु दुःखदायी कुरा हो ।  वि.सं. २०७३ देखि  २०७८ साल सम्म हिउँदे वर्षा र पूर्व मनसुन समयमा नै सुरु भएका कारण छिटफुट् आगलागी भएता पनि धेरै ठुलो क्षति हुनबाट बाँचेको छ । २०७९ को हिउँद सकिनासाथ गर्मी ह्वातै बढेका कारण लामो खडेरी पर्ने सम्भावना रहेको हुँदा वन डढेलोको जोखिम बढ्दो छ । कतिपय सामुदायिक  वनहरूमा आगलागीका घटना सूत्रमा आइसकेका छन् ।  आज भोलि नेपालमा वन जङ्गलमा लागेको आगोका कारण वायु प्रदूषण वृद्धि भएको छ । काठमाडौँ विश्वका सबभन्दा धेरै वायुप्रदुषण भएका सहर मध्येमा २ नम्बरमा परेको छ । यसले कार्बन उत्सर्गनमा वृद्धि भएको छ भने जनस्वास्थ्यमा  गम्भीर असर गरिरहेको छ । सम्बन्धित सरोकारवाला निकायबाट समयमा संरक्षणका कदम नचालेमा यसले धनजन र जैविक विविधतामा ठुलो नोक्सानी पुर्‍याउने सम्भावना देखिन्छ ।

महत्त्वपूर्ण वन स्रोतको दिगो व्यवस्थापनमा हालका दिनहरूमा धेरै चुनौतीहरू देखा परेका छन् । नेपालमा गरिबी, अशिक्षा, बेरोजगारी, बसाइसराइ, सहरीकरण, औद्योगीकरण, जैविक विविधता विनाश, जलवायु परिवर्तन, तथा राजनीतिक अस्थिरता आदि मुख्य चुनौतीका रूपमा रहेका छन् । 

नेपालमा वन क्षेत्रमा कार्यरत कर्मचारीको सङ्ख्या अत्यधिक रहेता पनि बन व्यवस्थापन र अग्नि नियन्त्रणका प्राविधिक कामहरूमा स्थानीय उपभोक्ता समूह, नेपाली सेना र सशस्त्र प्रहरीको भूमिका मुख्य रहेको देखिन्छ । वन विषयमा उच्च अध्ययन गरेका वन प्राविधिकहरूले आफूले विदेशमा सिकेको ज्ञान वन जङ्गलको दिगो व्यवस्थापनमा जसरी लागू गर्न पर्ने हो त्यो यहाँ लागू भएको देखिँदैन । उच्च र आधुनिक प्रविधि प्रयोग गरी कम लागतमा धेरै उत्पादन गर्नुपर्ने बेला भएको छ । सानो इकाईमा भए पनि प्रविधिलाई भित्राउन सक्नुपर्दछ । वन क्षेत्रले कति आय आर्जन गर्‍यो र कति रोजगारी सिर्जना भयो भन्ने हुनुपर्दछ, कति क्षेत्रफल बढ्यो मात्रले अब पुग्दैन । हरेक कामबाट राष्ट्र र जनतालाई के फाइदा भयो र कति फाइदा भयो भत्रे हुनुपर्दछ यो समयको माग हो । परिवर्तित राजनीतिक परिस्थितिले वन क्षेत्रमा सकारात्मकभन्दा नकारात्मक असर धेरै पारेको देखिन्छ । नीति, नियम बदलिरहने तथा केन्द्रमा बस्ने वातावरणले वन क्षेत्रमा त्यति सफलता दिन सकेको देखिँदैन ।

वन सम्पदा पुनरनविकरणनीय प्राकृतिक श्रोत हो । कृषि बालीबाट जस्तै बन बालीबाट पनि समयमा वन संवर्द्धनका कामहरू गरी निरन्तर उत्पादन लिन सकिन्छ । नेपालका वन क्षेत्रमा रहेका धेरै परिमाणका रुखहरू परिपक्व भई हार्भेस्ट(स्याहार्ने) गर्ने अवस्थामा पुगेका छन् । कतिपय रुखहरू परिपक्व अवस्था पार गरी धोद्रा भइसकेका छन् जसको मूल्य दिनानुदिन घट्दो अवस्थामा छ । यस्तो अवस्थाका वन पैदावार समयमा  स्याहार्ने,ढलापढा, सुकेका, रोग लागेकाहरूलाई हटाउने,पत्ल्याउने (थिनिङ्ग) तथा पुर्निङ्ग नगरेमा आगलागीको सम्भावना धेरै रहन्छ । 

नेपालका धेरै सामुदायिक वनहरूको कार्य योजना नवीकरण गर्न बाँकी भएका कारण वन संवर्द्धन र व्यवस्थापनका कामहरू गर्न  बाधा परेको अवस्था छ । बसाइसराइले गर्दा धेरैजसो सामुदायिक वनहरूमा कार्य योजना लेखन तथा वन संवर्द्धन र व्यवस्थापनका कामहरू गर्न जनशक्तिको खाँचो देखिएको छ । 

सामुदायिक वनहरू तथा खर बारीहरूमा पनि बनमारा र मिचाहा प्रजाति तथा झाडीको वृद्धि भएको हुँदा वन डढेलो लागेमा गाउँमा पस्ने र पशु चौपायाको समेत नोक्सानी हुने अवस्था सिर्जना भएको  देखिन्छ । युवाहरूको विदेश पलायन र बसाइसराइले पहाडी क्षेत्रका गाउँ बस्तीहरूमा बृद्धबृद्धा र अशक्तहरू मात्र भएकाले डढेलो निभाउने काममा पनि कठिनाइ भएको छ ।  

वन डढेलो नियन्त्रण गर्न समयमा वन संवर्द्धनका कामहरू गर्नुपर्दछ । झाडी सफा गर्ने, अग्नि रेखा निर्माण गर्ने, कन्ट्रोल वर्निङ्ग समयमा गर्ने तथा वन डढेलाबाट हुने  नोक्सानी बारे जनचेतना बढाउने काम गर्नुपर्दछ । पानीका मुहानहरू संरक्षण गरी जोखिमलाई न्यूनीकरण गर्ने तथा वन डढेलो निभाउने उपकरणहरूको उचित व्यवस्थापन गर्नु छ । जङ्गलमा आगो लागेमा जैविक विविधता, धनजन र प्राकृतिक सम्पदाको नोक्सानी हुनुका साथै कार्बन उत्सर्जन धेरै भई वातावरणीय प्रदूषणको जोखिम पनि बढ्न जान्छ जुन जीवन र जगतका लागि हानिकारक हुन्छ । डढेलोले खाएको वन जङ्गल पलाउन धेरै समय लाग्दछ, यसले पहिरोलाई निम्त्याउँछ । पहिरोले बाढी र विपद् ल्याउँछ, त्यसैले सम्बन्धित सरोकारवाला निकायबाट समयमा संरक्षणका कदम चालिएमा सबैको भलो हुनेछ ।

(लेखक खनाल वन तथा प्राकृतिक स्रोत साधन व्यवस्थापन विज्ञ हुनुहुन्छ)

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ८ : ३४ बजे